ताप्लेजुङ/ ताप्लेजुङ मेरिङ्देन गाउँपालिकाका प्रेम लंवा गत साउन २८ गते ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ को तोक्पेगोला तर्फ लागे । उनकाे उदेश्य थियो साउन ३१ गतेबाट सुरु हुने ताक्पेगोला जात्रामा रमाउने र त्यहाँका आदिवासी ढोक्प्या समुदायको पर्व ढुक्पा छेसीको अवलोकन गर्ने । जिल्ला सदरमुकाम फुङलिङबाट तिन दिनको पैदल यात्रापछि उनी तोक्पे गोला पुगे । वर्षाकाे समय रिम झिम पानी परिरहँदा उकालो ओरालो गरेर तिन दिन पछि ताक्पेगोला पुग्दा शरिर गलेर शिथिल भएको थियो । लखतरान परेर तोक्पेगोला पुगेका उनी त्यहाँ पुग्ने बित्तिकै स्फुर्तीको महसुस गरे । वस्ती नजिकै रहेको पानीको छाँगो र वस्ती नजिकैका विभिन्न नामका पोखरीले उनकाे थकान विर्षायो । उनी मात्र हैन तोक्पेगोला जात्रा मनाउन त्यहाँ पुगेका अधिकांसको अनुभव यस्तै थियो । विषेश गरि मनमोहक सोदो पोखरीको दृश्यावलोकन गर्दा त स्वर्गमा नै पुगेको महसुस भएको नविन गुरागाई बताउँछन् । धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जोकोहीको मन यसको सुन्दरताले छुन्छ ।
समुन्द्र सतह देखि चार हजार एक सय मिटर उचाइमा रहेको यो पाखरीको दर्शन गर्न भने कुहिरो र घामको लुकामारी छिचोल्नै पर्ने हुन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण यस ठाउँ घुम्नको लागि राम्रो भएपनि प्रचार प्रसारकै अभावमा त्यहाँ घुम्न जाने पर्यटक तथा तिर्थयात्रिको संख्या अत्यन्तै नगन्य रहेको छ । यस पोखरी वरपर अन्य थुप्रै पोखरीहरु रहेका छन् । भुत पोखरी, पाना पोखरी, तिन पोखरी लगायतका ५२ वटा भन्दा बढि पोखरीहरु रहेका छन् । यस पोखरीमा सच्चा मनले पोखरी गएर दर्शन गर्ने पुजा आरधना गरे पोखरीले मनोकाङ्क्षा पुरा गरिदिने तर लोभ लालच र पाप सोचेर पोखरी गए पोखरीले अनिष्ट गर्ने स्थानियको जनबिश्वास रहेको छ । असोजदेखि नै यहाँ हिमपात सुरु हुन्छ । ठूल्ठूला नदी, खोला र झर्ना तथा बाक्लै पोखरीले सजिएको यस क्षेत्रमा माइकोपिला, कुटी, विखुमा, पाँचऔंले, खोकिम जस्ता अनेकन फुल र जडिबुटीको रहेका छन् । प्राकृतिक रुपले सुन्दर र मनमोहक रहेको यस क्षेत्रमा पर्यटकहरुलाई धेरै भन्दा धेरै भित्राउन पोखरी सम्म पुग्ने बाटोघाटोसँगै तिब्बतसँगको सिमाना भएकाले पनि सडक सञ्चालनकाे विकासमा विषेश ध्यान दिनुपर्ने पोखरी घुम्न पुगेकाहरुको सुझाब छ । “बाटोघाटोको राम्रो व्यबस्था गर्नुपर्छ, अनि मात्रै अत्याधिक पर्यटक भित्राउन सकिन्छ ।” सोदोपोखरी घुम्न पुगेका खड्क केदेम भन्छन् “यहाँ पुग्दा त आनन्द लाग्यो तर आई पुग्नै गाह्रो भयो ।”
यता स्थानिय तहले पनि धेरै पर्यटक पु्र्याउन विभिन्न कार्यक्रम गर्न थालेको सो वडाका वडाध्यक्ष डण्डु शेर्पाले बताए । “गत आर्थिक वर्षमा विभिन्न खोलाहरुको पुल निमार्ण गरेका छौँ ।” शेर्पाले भने “अबका दिन हरुमा समेत यहाँ सम्म आईपुग्नेको लागि विभिन्न स्थानमा भौतिक पूर्वाधारमा जोड दिने योजना छ । ” धेरै पर्यटक पु्र्याउन सकिने क्षेत्रमा स्थानीयबासीसँग मिलेर सरकारी स्तरवाट पूर्वाधार विकासमा गर्न सके स्वदेशि तथा विदेशी पर्यटकको आगमन बढ्नेमा कुरामा दुई मत छैन ।
सोदो पोखरी कसरी पुग्ने ? प्राकृतिक सुन्दरताले भरिपूर्ण सोदो पोखरी पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तिन दिनको पैदल यात्रा गर्नु पर्छ । सदरमुकमबाट कच्चि सडक हान्द्रुङसम्म रहेको छ भने त्यहाँबाट खोक्लीङ, लिवाङ, हुँदै साँवा पुगिन्छ । साँवामा रहेको निकै नै आर्कषक फुङफुङे झरना सँगै लेलेपको तांखु, दोङगेन सम्म अर्को दिनमा पुग्न सकिन्छ । तेस्रो दिन दोङ्गेनबाट तोक्पेगोला एक दिनमा पुग्न सकिन्छ । यस क्षेत्रमा भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेँशितिर झर्छन् । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने सोदोपोखरी दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल गन्तव्य मानिन्छ ।