इटहरी/ जंगलीहात्तीको संसर्गबाट कोशीटप्पुमा रहेको चार हात्ती एक दशक पछि गर्भिणी भएका छन् । दश वर्ष देखि थारो रहेको हात्तीहरु एकै पटक गर्भीणी भएको कोशी टप्पु बन्यजन्तु आरक्षले जनाएको छ । कोशी टप्पुमा हात्तीको संख्या न्युन हुदै गएको बेला चार हात्ती गर्भिणी भएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पाँच हात्ती मध्ये चारवटा गर्भिणी भएपछि उत्साहका साथ छावाहरुको प्रतिक्षा गरिन थालेको कोशी टप्पु वन्यजन्तु आरक्षकाका प्रुमख श्यामकुमार शाहले बताए । लामो समयपछि आरक्षमा रहेका हात्तीहरु छावा जन्माउने तयारीमा रहेको उनी बताउँछन् । हात्तीहरु गर्भिणी भए पछि आरक्षमा उत्साह थपिएको छ उनले भने ।
आरक्षको पाँच हात्ती मध्ये अम्बिकाकली, सरस्वतीकली, शोभाकली र लक्ष्मीकली नाम गरेको हात्ती छावा जन्माउँने तयारीमा रहेको आरक्षका प्रमुख साहको भनाई छ । कोशी टप्पुमा पालिएका पोथी हात्तीहरु फिरन्ते रुपमा आरक्ष क्षेत्रमा आउने जंगली हात्तीहरुको संसर्गबाट गर्भिणी भएका हुन् । आरक्ष क्षेत्रमा रहेका पोथी हात्तीहरुका कारण फिरन्ते जंगली हात्तीहरु आरक्ष क्षेत्रमा आउने गरेका जानकारहरु बताउँछन् । हात्तीले १८ देखि २१ महिनाको गर्भधारणपछि छावा जन्माउने गरेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा १० वटा हात्तीको दरबन्दी रहेपछि हाल पाँचवटा मात्र रहेका छन् । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि २०६३ सालमा कोशीटप्पुमा फिर्ता ल्याईएको थियो । चितवनबाट अन्य तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन् । चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती हात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ ।
आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने संरक्षण अधिकृत श्यामकुमार साहले बताए । हात्तीमा चढेर आरक्ष घुम्दा विदेशी पर्यटकका लागि दुई हजार र स्वदेशीलाई ५ सय रुपैयाँ राजस्व लिइँदै आएको छ । पछिल्लो समय आन्तरिक पर्यटक हात्ती सयर गर्न रुचाउन थालेको आरक्षले जनाएको छ । काजमा चितवन रहेका हात्तीका लागि दाना र माउतेको तलबभत्ता कोसीटप्पु आरक्षले नै हेर्दै आएको छ । एउटा हात्तीलाई दैनिक १५ किलो धान, पराल, नुन र सख्खर दिने गरिन्छ । वर्षमा एउटा हात्तीका लागि तीन लाख बराबरको दाना दिने गरिएको आरक्षले जनाएको छ । देशमा पाँचवटा हात्तीसार शाखा छन् । चितवनमा हात्ती प्रजनन केन्द्र समेत छ । जसमा जन्मिएका हात्तीका बच्चालाई तालिम दिएर विभिन्न आरक्ष र निकुञ्जहरूमा पठाइने गरिएको छ । आरक्षमा आउने जंगली हात्तीले भने पालुवा हात्तीलाई बेला–बेलामा दुस्ख दिने गरेका छन् ।