उर्लाबारी । देवराज भट्टराईले जन्मँदै अपाङ्गता भएकी जेठी छोरीको उपचारमा भएको जायजेथा सके । उपचार गर्दा पनि सुधार नभएपछि विरक्तिएका भट्टराई दम्पत्ती आफन्तको सहयोगमा उर्लाबारी–४ को भिगामारीमा आइपुगे । भट्टराई परिवारमा आइपरेको आर्थिक बिपत्ती समाधानका लागि विदेश जाने मन नभए पनि जानु पर्ने सोचाइ शुरुका दिनमा नआएको भने होइन तर श्रीमती गीताले अपाङ्गता भएकी छोरी र बा“की दुई छोरी र एक छोराको पालन पोषणमा झन समस्या आउन सक्छ भनेर विदेश जानबाट रोकेर स्वदेशमै केही गर्न गरेको आग्रहलाई आत्मसाथ गर्दै गाईपालनमा लागे । उर्लाबारीको आगमन र तिनै आफन्तको सहयोग नै भट्टराई परिवारको जीवन परिवर्तनको मुख्य बिन्दु भयो । दुई सय दश रुपैयाँ बोकेर झापाको साविक तोपगाछी गाविसको समयगढबाट उर्लाबारी आएका भट्टराई दम्पत्ती दश वर्षको समयावधिमा नै गाईपालन गरेर लखपति भएका छन् । आईएसम्मको अध्ययन गरेका ४४ वर्षीय भट्टराईले पनि अर्काको देशमा नोकरी गर्नु भन्दा आफ्नै देशमा श्रम गरेर खानु उचित लागेको बताए । दैनिक ३ किमी पूर्वमा रहेको उर्लाबारी बजारका दर्जनौँ घरमा ४५ देखि ५० लिटरसम्म दूध पु¥याउँछन् । आफूले दुःख गरेर उत्पादन गरेको दूध डेरी उद्योगमा बिक्री गर्दा न्यून मूल्य पाइने भएकाले सिधै उपभोक्तालाई बिक्री गर्ने गरेको बताउँछन् । स्थानीय समाजसेवी ओमबहादुर कार्कीको करिब दुई कट्ठा जमिनमा व्यवसयिक गाईपालन गर्दै आएका भट्टराई दम्पत्तीमा खुसीयाली छाएको छ । अत्यन्तै कडा परिश्रम गर्दै आएका भट्टराई दम्पत्तीले एक दशकको अवधिमा सोचेभन्दा बढी आर्थिक सफलता प्राप्त गरेका छन् । तिनै समाजसेवी कार्कीले निशुल्क प्रदान गरेको ६ धुर जग्गामा आवास घर निर्माण गरी बसोबास गर्दै आएका भट्टराई दम्पत्तीले गाईपालनको आय–आर्जनले माइली छोरीको विवाह गरिदिए । एक छोरी र छोरालाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । सात लाखको लगानीमा उन्नत जातका सात वटा गाईपालन गर्दै आएका भट्टराई दम्पत्तीले एक जना स्थानीयलाई गाईको रेखदेखका लागि रोजगार समेत दिएका छन् । बिहान ४ बजे देखि साँझ सात बजेसम्म व्यस्त रहने देवराजलाई श्रीमतीको साथ रहेको छ । उर्लाबारी बजारका दर्जनौँ घरमा प्रतिलिटर साठी रुपैया“का दरले दूध डेलीभरी गर्दै आएका उनिहरूले मासिक पचास हजार वचत गर्दैै आएको बताए । स्थानीय शुभचन्द्र सूर्य वचत तथा ऋण सहकारीको आर्थिक सहायतामा उत्साहित भएका भट्टराई दम्पत्तीले स्वदेशमा गर्दा पनि केही गर्न सकिने बताएका छन् । उनीहरूले बजारमा दूधको माग बढेको भए तापनि आफूले पु¥याउन नसकेको बताउँदै आफ्नो गाईपालनलाई सरकारले अनुदानको आर्थिक सहयता गरे थप गाईपालन गर्ने योजनामा रहेको बताए । उनले गाईपालन व्यवसायलाई बृहत्तर किसिमबाट अगाडि बढाउन कृषि फर्म दर्ता गर्ने र सहुलियत ब्याजमा कृषि कर्जा लिने योजना रहेको समेत बताए । आफूलाई कृषि उद्यमीका रूपमा परिचित गराउने महत्वकांक्षा रहेको प्रतिक्रिया दिए । स्थानीय भानु आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भट्टराईले विद्यालय सुधारका शैक्षिक कार्यक्रम ल्याएर नगरकै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा चिनाउने योजनामा भट्टराई लागिपरेका छन् । दशवर्ष अघिको कहाली लाग्दो आर्थिक अवस्थालाई पछि धकेले पनि भट्टराई दम्पत्तीमा खुशीसँगै केही दुःख पनि छ । २३ वर्षकी जेठी छोरीको अपाङ्गतालाई उपचार गर्न नसकेकोमा उनीहरू खिन्न छन् । उपचारका क्रममा अपाङ्गताको उपचार गर्ने अस्पतालदेखि नेपालका वरिष्ठ न्यूरो विशेषज्ञ स्व. उपेन्द्र देवकोटासम्मलाई चेकजाँच गराउँदा पनि छोरीको समस्या समाधान भएन । हाल घरैमा साथमा राखेर छोरीको हेरचाह गर्दै आएका छन् ।