भद्रपुर । नेपालको पुरानो शहर भद्रपुर नगरपालिकामा बसोबास गर्दै आएका मानिसहरू बसाइ सर्न थालेका छन् । कुनै परिवर्तन नभएपछि भद्रपुर छाड्दै नगरवासी बाहिरिन थालेका हुन् । अन्य क्षेत्रको तुलनामा भद्रपुर विकासको दृष्टिकोणले पछि परेको छ । मुख्यगरी भद्रपुर बजार क्षेत्रका घरपरिवार सुगम स्थानतर्फ बसाइ सरी हिँडेपछि नगरलाई चुनौती बढेको छ । भद्रपुर बजारभन्दा अन्य क्षेत्र हरेक कारणले सुगम बन्दै गएपछि मानिसहरु सोही क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । हालको भद्रपुर बजार र आसपासको क्षेत्र वडा नम्बर ५ र ६ मा रहेको छ । यी वडामा अधिकांश व्यापार–व्यवसाय मुख्य पेशाको रूपमा पाइन्छ । वि.सं. २००८ सालमा स्थापना भएको भद्रपुर ०५० को दशकसम्म सुदूर पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र मात्र थिएन धान–चामलजस्ता खाद्यान्य निर्यातको केन्द्र पनि थियो । छिमेकी मुलुक भारतसँगको आयात–निर्यात व्यापारको प्रमुख नाका रहेको भद्रपुरमा दुई दर्जनजति चामल मिल र ठूला–ठूला चिया कारखाना सञ्चालनमा थिए । हाल दुवै उद्योग खस्केको अवस्थामा छ । व्यापारिक गतिविधिमा केही शिथिलता आई विकासमा पछि पर्दै गएको इतिहास छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्ने हो भने साविक चन्द्रगढी, महेशपुर, पृथ्वीनगर र भद्रपुर नगरपालिकासमेत मिलेर बनेको भद्रपुर नगरपालिकाबाट बसाइ सरी जाने परिवार बढेको पाइन्छ । भद्रपुर बजारमा मात्र आर्थिक वर्ष ०७४/७५ मा ३५ घरले वडा छाडेका छन् । वडा नम्बर ५ मा ९ घर गएका छन् भने ६ आएका छन् । त्यसैगरी ६ नम्बर वडामा २६ घर गएका छन् भने १७ घर आएका छन् । त्यसैगरी भद्रपुर वडा नम्बर १ का २८ घर गएका छन् भने १८ आएका छन् । त्यस्तै २ मा ४४ गएका छन् भने १९ मात्र आएका छन् । बसाइ सराइ मानिसको नियम नै भए पनि आउनेभन्दा जानेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । नगरको दशवटै वडामा गत आर्थिक वर्षमामात्र अनुमानित २ सय घरले वडा तथा नगर छाडेको तथ्याङ्कले देखाएको छ । विशेषगरी भद्रपुर बजारमा रहेका मानिस काठमाडौं, विराटनगरलगायतका क्षेत्रमा व्यवसाय गरिरहेकोले बजार छाड्न थालेको हुनसक्ने झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरका महासचिव पङ्कजकुमार शर्मा बताउँछन् । मेची पुल बन्ला र व्यवसाय यतै गरौंला भनेर दशकौंदेखि आशामा बसेका मानिस त्यो अन्यौलमा भएपछि सुगम स्थानतर्फ जान थालेको उनको भनाइ छ । भद्रपुर पुरानो बस्ती भए पनि मजबुत हुन नसकेका कारण मानिस बाहिरिने गरेको स्थानीय राजेन्द्र घिमिरे बताउँछन् । भद्रपुर भारतीय सीमासँग जोडिएको र सीमा पारि प्रशस्त पसल खोलिएका करण बजार नै भारतमा सरेको हुँदा समस्या आएको उनले बताए । भद्रपुरका मोहपालले वीरगञ्जमा गएर उद्योग सञ्चालन गरिरहने तर भद्रपुरमा नै गर्न नसक्नु विडम्बना भएको उनी बताउँछन् । नगरपालिकाले तथ्याङ्क निकालेर व्यवसायको स्तर निर्धारण गरी लगानी गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । मध्यम्वर्गको गरिखाने बाटो भद्रपुरमा नभएको उनको धारणा थियो । भद्रपुरमा सडक, पार्किङ, राजनीतिक होडबाजीलगायतका कारणले बस्ती छाड्ने क्रम बढेको उनले बताए । सेवा सुविधा सहज पाउनेतर्फ मानिस सर्न थालेको वडा नम्बर ६ का वडाध्यक्ष प्रेमबहादुर बरुवाल बताउँछन् । बसाइ सरी गएकामध्ये केही नगरबाहिरै गएका छन् भने अन्यले सुविधाको हिसाबले वडा परिवर्तन गरेको वडाध्यक्ष बरुवालको भनाइ छ । शिक्षा, स्वास्थ्य, खेतीपाती, आफन्तजन लगायतका हिसाबले यो परिस्थिति आएको उनले बताए । भद्रपुरभन्दा दुर्गममा बसोबास गर्ने भद्रपुर आउने गरेको र भद्रपुरभन्दा सुगम पाउनेले छाड्दै गएको वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए । आर्थिक वर्ष ०७४/७५ मा नौ घरका तीसजनाले वडा छाडेको उनले सुनाए । पछिल्लो समय मानिसहरुले बढी सुविधा लिन चाहेकोले अन्य क्षेत्रमा सर्नु स्वभाविक भएको उनको भनाइ छ ।