भद्रपुर/ सङ्घीय सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम झापामा सोचेअनुसार सदस्य बन्न सकेका छैनन् । झापामा गत ०७४ असोज २५बाट लागू गरिएको स्वास्थ्य बिमा एघार महिनाको अवधिमा जनसङ्ख्याको हिसाबले पन्ध्र प्रतिशतले मात्र सदस्यता लिएका छन् । जिल्लाका पन्ध्रवटै स्थानीय तहमा लागू गरिएको बिमाको सदस्य बनाउनको लागि स्वास्थ्य बिमा बोर्डले घरघरै पुगेर बीमा गराउन १ सय ९८ जना दर्ता सहयोगीलाई परिचालन गरेपनि प्रभावकारी देखिएको छैन । २०७४ असोजदेखि २०७५ भदौ महिनाको पहिलो हप्तासम्मको अवधिमा एक लाख २३ हजार ९ सय पन्ध्र जनाले मात्र स्वास्थ्य बिमा गराएका छन् ।

जसमध्ये ६५ हजार ८ सय ६१ महिला र ५८ हजार ५४ पुरुष रहेका छन् । झापामा ८लाख ८ हजार तीनसय २४ जनसङ्ख्या रहेका छन् । जनसङ्ख्याको आधारमा बिमित १५ दशमलव ३३ प्रतिशत हो । ठूला अस्पतालसँग सम्झौता नहुँदा सोचेअनुसार सदस्य बनाउन नसकिएको दर्ता सहयोगी निर्मला सुवेदी नेपालले स्वीकारिन् । घरघरै जान समस्या भएकोले कुनै टोलमा अगुवा मार्फत जानकारी गराइ सोही अनुसार बिमा सदस्यता बनाउन जाने उनले जनाइन् । प्रचार प्रसारको कमी भएका कारण सबै नागरिकले यो अभियान जानकारी पाउन नसकेको उनको बुझाइ थियो । स्वास्थ्य बिमा सुनेको हो तर, सदस्य बनाउन हालसम्म कोही नआएको चन्द्रगढीका उमेश ताम्राकारले बताए ।

शुरु भएको एक वर्ष पुग्नलागेको भए पनि एकपटक घरमा नआएको उनले जनाए । स्वास्थ्य बिमा बारे कुनै जानकारी नभएको भद्रपुरका सिकन्दर खानले बताए । अहिलेसम्म कोही मानिस सदस्यता बनाउन भन्दै नआएको उनले सुनाए । त्यस्तै घोडमाराका तारन राजवंशी पनि यो विषयमा जानकार छैनन् । उनलाइ पनि कसैले जानकारी नगराएको बताउँछन् । प्रचार प्रसारमा केही कमी भएको स्वास्थ्य बिमा बोर्ड १ नम्बर प्रदेश झापा शाखाका दर्ता अधिकारी दिलिप पोखरेल बताउँछन् । असारसम्म एफ .एम मार्फत प्रचार गरेपनि हाल नभइरहेको उनले जनाए । अब केही दिनपछि पुनः शुरु गरिने उनको भनाइ छ । यो वर्ष २० प्रतिशत लक्ष्य रहेकोले पुग्नेमा आशावादी भएको उनी बताउँछन् । नयाँ अभियान भएकोले विस्तारै यसको महत्व हुने उनले जनाए ।

सदस्यमध्ये ४० प्रतिशतले उपचार गराए स्वास्थ्य बिमा गर्नेमध्ये चालिस प्रतिशतले स्वास्थ्योपचार गरेका छन् । सरकारले ०७४ असोजदेखि ०७५ भदौ पहिलो हप्तासम्मको अवधिमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या एक लाख २३ हजार ९ सय पन्ध्र पुगिसकेको १ नम्बर प्रदेश झापा शाखा स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी राधा रिमाल अधिकारीले जानकारी दिइन् । उनका अनुसार बिमा गराएकामध्ये ५१ हजार ५ सय ६५ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ८ सय ६ जनालाई गत एक वर्षको अवधिमा बिमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । भद्रपुरस्थित मेची अञ्चल अस्पताल, विर्तामोडस्थित मेची आँखा अस्पताल र जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिन सकिने व्यवस्था छ ।

यस अवधिमा बिमा गराएका मध्ये सबैभन्दा कम १ सय ७७ जनाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी स्वास्थ्य केन्द्रबाट उपचार गराएका छन् । त्यहाँ सबैभन्दा कम ९ सय ६४ जना सदस्य बनेको दर्ता अधिकारीले जनाइन् । उनका अनुसार भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट ११ हजार ५ सय ४७ जना बिरामीले बिमामार्फत उपचार गराएका छन् । त्यसैगरी विर्तामोडको मेची आँखा अस्पतालबाट ३ हजार ८ सय ३६ जना,लाइफलाइन दमकबाट ३ हजार ६ सय ९१, प्राथमिक स्वास्थ्य केन्द्रमध्ये शनिश्चरेले सवैभन्दा बढी ४ हजार २ सय ७१ जनाले उपचार गरेका छन् । अनुमति पाएका स्वास्थ्य संस्थाबाट गरी ५१ हजार ५ सय ६५ जना बिमितले उपचार गराएको कार्यालयले जनाएको छ ।  पाँच जनासम्मको परिवारमा वार्षिक दुई हजार ५सय बिमा रकम बुझाएपछि एक बिमितले आफूले गरेको बिमाबाट वार्षिकरुपमा ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था रहेको दर्ता अधिकारी दिलिप पोखरेल बताउँछन् । बिमितलले धुलाबारी, शनिश्चरे, बनियानी, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछीलगायतका स्वास्थ्य सेवा केन्द्र र अस्पतालमा दमक अस्पताल, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल विर्तामोडबाट उपचार सेवा प्रदान गर्ने अनुमति पाएको बताए ।

बिमा गर्नेमा सबैभन्दा बढी दमक नगरपालिका बिमा गर्नेमा सबैभन्दा बढी दमक नगरपालिकाका रहेको छ । सो नगरपालिकाबाट २५ हजार ४ सय ६५ जनाले स्वास्थ्य बिमा गरेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकाबाट ९ सय ६४ जनाले मात्र बिमा गराएका छन् । बिमा गरेबापत सोही अवधिमा ६ करोडभन्दा बढी बिमा रकम सङ्कलन भएको दर्ता अधिकारीले बताइन् ।  सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत प्रदेश १ अन्तरगत जिल्लामा सञ्चालित स्वास्थ्य बीमा बोर्डले तोकिएको स्वास्थ्य संस्थामा सम्झौता गरेपनि व्यवस्थापनमा भने कठिनाइ देखिएको छ ।