ताप्लेजुङ/पूर्वको गोसाईकुण्डको नामले परिचित ताप्लेजुङ र पाँचथरको विचमा रहेको तिम्बुङ पोखरीको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले तिम्वुङपोखरी महोत्सव हुने भएको छ ।
प्रचार प्रसारको अभावमा छाँयामा परेको यस क्षेत्रमा आगामी भदौ २२, २३ र २४ गते तिन दिन सम्म महोत्शव गर्न लागिएको हो । सिदिङ्वा गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सवलाई सफल बनाउन १ सय ११ सदसिय मुल समारोह समिति र ९ वटा उपसमिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष नरवहादुर कडरियाले जानकारी दिए । महोत्सवको माध्यमबाट धार्मीक पर्यटकिय स्थल पूर्वको भ्यू टावर सिदिङवा धाम, सुन्दर ढङ्ढङे झरना, काली पोखरी, हात्ती ढुङ्गा लगायतका दर्शनीय स्थलहरु समेतको उजागरका साथै यस क्षेत्रको जैविक विविधताको संरक्षण, ग्रामीण, अन्र्तराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रर्वद्धनको समेत अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कडरियाले बताए । तिम्बुपोखरीको नामाकरण स्थानिय लिम्बु भाषाका आधारमा गरिएको हो । पशुपालन गर्ने क्रममा गर्मी समयमा गोठलाई हिमालतिर लैजाने र चिसो बढ्ने बित्तिकै बेशी झार्ने चलन छ, सोही चलन अनुसार स्थानिय बासिन्दाले आफ्नोगोठलाई पोखरी छेउछाउ पुर्याउदा पोखरी छेउबाट ड्वाङ ड्वाङ आवाज निस्के पछि उनिहरुले आफ्नो भाषा अनुसार पोखरीको नाम नै तिम्बुङपोखरी राखेको स्थानियको भनाई छ ।
लिम्बु भाषामा तिम्बुकुको अर्थ बन्दुकु र बुङको अर्थ पड्कनुु हुन्छ ।करिव ४सय मिटर लम्बाइ र २ सय मिटर चौडाए भएको पोखरीको हाल सम्म गहिराई नाप्न नसकिएको स्थानियको भनाई छ । तिम्बुङ पोखरी वरपर अन्य थुप्रै पोखरीहरु रहेका छन् । शिव पोखरी, सुर्य कुण्ड, हाँस पोखरी,मयुर पोखरी , नीलपोखरी लगायत १८ वटा पोखरीहरु रहेका छन् । अर्को चाखलाग्ने बिषयत केहो भने कुम्भकर्ण हिमालको वरिपरि १ सय ७८ वटा कुण्डहरु माला जस्तै रहेका छन् , त्यसैले तिम्बुङ पोखरी क्षेत्रलाई पुर्वको गोसाँइ कुण्डको समेत उपनाम दिएको छ।सच्चा मनले पोखरी गएर दर्शन गर्ने पुजा आरधना गरे पोखरीले मनोकाङ्क्षा पुरा गरिदिने तर लोभ लालच र पाप सोचेर पोखरी गए पोखरीले अनिष्ट गर्ने स्थानियको जनबिश्वास रहेको छ।दुई दिन पैदल हिँडेरै जानुपर्ने यस स्थानमा साउनदेखि असोज पहिलो सातासम्म पुग्न सकिन्छ ।
असोजदेखि नै यहाँ हिमपात सुरु हुन्छ । ठूल्ठूला नागी, खोला र झर्ना तथा बाक्लै पोखरीले सजिएको तिम्बुङ क्षेत्रमा माइकोपिला, कुटी, विखमा, पाँचऔंले, खोकिमजस्ता अनेकन फुल र दर्जनौ जडिबुटीको रहेका छन् ।