उर्लाबारी/युद्धबाट मुलुक परिवर्तन गर्ने सपना बोकेर हिँडेका उर्लाबारी–४ का अनुप राजवंशी अहिले आर्थिक उपार्जनमा लागेका छन् । राजनीतिले मात्र गास“बासको समस्या नटर्ने भएपछि अनुप उर्लाबारी चोकमा जुस पसल खोलेर व्यवसाय गर्दै आएका छन् । ०५७ सालमा उन्नाईस वर्षको उमेरमा छापामार युद्धमा प्रवेश गरेका राजवंशीलाई पछिल्लो पटक सङ्घीय संसदको निर्वाचनमा श्रीमती ममता राजवंशीको नाम समानुपातिक कोटाको ६ नं. मा दर्ज भएपछि डेढ दशक राजनीति गरेको उपहार पार्टीबाट होला भनेर परिवारजनमा खुशीयाली छाएको थियो । तर परिणाम घोषणा हुने समयमा एकाएक ममताको नाम समानुपातिक कोटाबाट हटेर अन्य साथी सांसद भए । यो घटनाले परिवारजनमा निराशा छाएको थियो । पार्टी नेतृत्वमा आफूले श्रीमतीलाई संसद बनाउन कुनै हारगुहार गरेनन् । परिणाम, ममता सङ्घीय संसदको सदस्य हुन नसकेको अनुपको बुझाइ छ ।

कक्षा–८ पढ्दापढ्दै माओवादी जनयुद्धमा लागेकी ममताले २९ महिना जेल जीवनसमेत बिताएकी थिइन् । अनुप माओवादीको केन्द्रीय महाधिवेसन आयोजक समितिको सदस्य सम्मको भूमिका निर्वाह गरिसकेका छन् । हाल पार्टी एकीकरण भएपछि मोरङले कुनै जिम्मेबारी नदिएका कारण पदविहीन भएका छन् राजवंशी दम्पत्ती । राजनीतिले समाजमा ल्याएको परिवर्तनमा भने उनीहरू अत्यन्तै खुशी छन् । मुलुक शान्ति प्रक्रियामा गएपछि एक शुभेच्छुकले निशुल्क वैदेशिक रोजगारमा मलेसिया जान गरेको आग्रहलाई अस्वीकार गरी आफ्नै देशमा स्वरोजगार हुने उद्देश्यले व्यवसायी बनेको अनुपले बताए ।  ममता सांसद नभएकोमा अहिले अनुपलाई कुनै गुनासो छैन । दुई वर्ष अघि ८ लाखको लगानीमा ‘योजना फ्रेस जुस एण्ड आइसक्रिम सेन्टर सञ्चालन गरेर दैनिक जीविकोपार्जन मात्र होइन मासिक ५० देखि ६० हजारसम्म वचत पनि गर्दै आएका छन् । राजवंशी दम्पत्तीले अहिले दुई वर्षको अवधिमा पसललाई स्थापित गरेका छन् ।

उर्लाबारीमा जुस पसल नभएको अवसरपारी जमरा, एलोभरालगायतका सबै किसिममा जुस पसल खोलेर व्यवसायिक सेवा सँगै आय–आर्जनसमेत गर्दै आएका छन् । सोही पसलको आम्दानीले छोरालाई शहीद स्मृति विद्यालय र छोरीलाई स्थानीय सेन्ट स्टेफेन्स बोर्डिङ स्कुलमा भर्ना गरेर गुणस्तरीय शिक्षा समेत दिएका छन् । पार्टीले जिम्मेबारी दिएपछि राजनीतिको माध्यमबाट सामाजिक कार्य गर्ने उद्देश्य अझै रहेको अनुप बताउँछन् । पसल गरेपछि पार्टीका जिल्ला तहका अधिकांश नेतृत्व आएर व्यवसाय गरेकोमा धन्यवाद दिन्छन् । अत्यन्तै व्यस्त हुने अनुपले उखुको जुस मेसिनबाट पेल्दै भने, ‘हिजो बन्दुक बोक्ने हातले आज उखुको जुुुस पेलेर आर्थिक उन्नति गर्दैछु ।’