इटहरी/खोरेत रोगका कारण इटहरी आसपासका क्षेत्रको दुई सय पशु चौपाया बिरामी परेका छन् । यो क्रम अझ वृद्धि हुँदै जान थालेपछि किसानहरु चिन्तामा पर्ने थालेका छन् । एकातिर रोग बढ्दै गइरहेको र अर्कोतर्फ उपचार हुन नसक्दा समस्या दिनानु दिन बढ्दो अवस्थामा रहे पनि इटहरी उपमहानगरले भने किसानहरुलाई बेवास्ता गरेको किसानहरुको आरोप छ ।

गाईवस्तुमा आएको खोरेत नामक सरुवा रोगको महामारी फैलिएको इटहरी–१ आँपगाछीमा न्यू बूढासुब्बा कृषि फर्म सञ्चालन गर्दै आएको मनराज पुरीले बताए । उनले भने ४ गते एउटा गाईमा आएको सरुवा रोगले पूरै गोठमा फैलिएको जनाए । गाउँभरिका गाईवस्तु बिरामी हुँदै मर्न थाल्दा पनि इटहरी उपमहानगरपालिकाले बेवास्ता गरेको उनको आरोप थियो । कृषकहरुको लागि पशु चिकित्सक तथा प्राविधिक उपमहानगरपालिकामा भए पनि हेर्नसम्म नआएको उनको गुनासो थियो ।

बारम्बार रोग बारे जानकरी गराए पनि पशु स्वास्थ्यले औषधि तथा भ्याक्सिन नभएको बताउँदै आएको किसानहरुको भनाइ छ । ४ वटा गाई एकैपटक बिरामी भएको आनन्द राइसमिलका सरोज कटुवालले बताए । गाईमा खोरेत रोगले समस्या आएको उनी बताउँछन् । केहीदिन अघिदेखि गाई बिरामी भइरहेको उनको भनाइ थियो । रोग बारे जानकरी गराउँदा पनि पशु स्वास्थ्यले ध्यान नदिएको भन्दै इटहरीबासीले आक्रोस पोखेका छन् । रोग लागेपछि गाईले दूध नै थोरै दिने गरेको किसानहरु बताउँछन् ।

हलगडाका किसान लाल चौधरीले आफ्नो गाई बिरामी भएको जानकारी गराउँदा पनि अहिलेसम्म कसैले वास्तासम्म नगरेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म कोही आएको छैन, खै गाउँभरि खोरेतको महामारी बढ्यो भन्ने हल्ला छ ।’ पछिल्ला केही दिनयता खोरेत रोगले गाईवस्तु बिरामी परेको उनको भनाइ थियो । त्यस्तै हवाईचौकका यादव कार्कीको गाईलाई पनि खोरेत रोग लागेको छ । खोरेत रोग महामारीको रूपमा आइरहेको भन्दै किसानहरुले पशु कार्यालयले ध्यान दिनुपर्ने माग गरेका छन् ।

उता यो रोग इटहरी तथा आसपासको क्षेत्रमा फैलिएको इटहरी उपमहानगरपालिका अन्तर्गतको पशु स्वास्थ्य शाखाका डाक्टर राजेशप्रसाद पौडेलले बताए । रोगले पशु चौपायासमेत मर्र्न थालेको बताए । उनले इटहरी–१ मा एक चौपाया खोरेत रोगकै कारण मरेको जनाउँदै उपचार गर्ने खर्च उपमहानगरपालिकाले नदिएको कारण उपचार गर्न नसकेको जनाए । उनले भने, ‘खोरेत रोगको इटहरीमा महामारी फैलिएको छ, मैले उपमहानगरपालिकामा केही दिनअघि नै जानकारी गराएँ तर बजेट नदिएको कारण हामीले महामारी रोक्ने प्रयास गरेका छैनौं ।’

सबैतिर फैलिएको यो रोग कतिले आफ्नै खर्चमा औषधि प्रयोग गरिरहेका छन् भने धेरैले उपचारै गरेका छैनन् । रोग बढ्ने क्रम जारी रहेको छ । गाईवस्तुमा खोरेत लागेमा खुरको बीचमा घाउ हुने, वस्तुलाई ज्वरो आउने, ¥याल काढ्ने लगायतका लक्षण देखिने डाक्टर पौडेलले बताए । एउटा घरमा खोरेतको समस्या देखिएमा पूरै गाउँमा नै यसले प्रभावित पार्ने हुनाले सुरक्षा अपनाउन डाक्टर पौडेलको आग्रह छ ।

इटहरी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सञ्जय अधिकारीले खाता सञ्चालन नभएको कारण समस्या भएको बताए । खोरेत रोगले वस्तुहरु धेरै बिरामी परेको कारण यसलाई चासोको साथ हेरिएको बताए । ‘हामी पशुलाई लागेको खोरेत रोगको विषयमा चाँडै छलफल गर्र्छौं र निकास निकाल्छौं’–उनले भने । तर किसानहरुले भने उपमहनगरपालिकाले भने बारम्बार बेवास्ता गर्दै आएको बताउँदै आएका छन् ।