धरानमा विशेषतः स्कुले बालबालिकाहरू लागूऔषधको कुलतमा फस्दै गएका छन् । सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुलवरिपरि पाँचसय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरेको छ । तर पनि धरानका अधिकांश स्कुल वरिपरि हेर्यो भने मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण बढ्दो छ ।
स्कुल वरिपरि मदिरा, चुरोटजस्ता वस्तु बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दैछन् । यसअघि पनि पटक–पटक कुरा नउठेको होइन तर कार्यान्वयन भएको नै छैन । सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रूपैयाँ जरिवानासमेत तोकिएको छ । तर स्कुल वरिपरि नै सुर्तीजन्य पदार्थ सेवन गर्ने बढेकै छन् । ऐनअनुसार शैक्षिक, सामाजिक, सांस्कृतिक संस्थालाई माध्यम बनाई नाबालकलाई लागूऔषध बेचबिखन, सेवन, ओसार–पसार तथा सञ्चय गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय वा ५ लाखदेखि १५ लाख रूपैयाँसम्म जरिवाना तोकेको छ । तर कार्यान्वयनको पाटो अहिलेसम्म पनि फितलो नै छ । साँच्चै भन्ने हो भने अहिलेसम्म कहीँकतै कारबाही गरिएको सुनिएको छैन भन्दा पनि हुन्छ ।
स्कुलवरिपरि मदिरा, चुरोटजस्ता लागूपदार्थ बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दै जानु दुःखद् हो । स्कुल वरिपरि पाँच सय मिटरसम्म लागूपदार्थ बिक्रीवितरण गर्न नपाइने, मदिरा पसल राख्न नपाइने नियम त झन् पटक्कै पालना भएको छैन । स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउँछन् तर हाम्रो स्कुलसँगैको तरकारी पसल, किराना पसल र आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन् । त्यहाँ विद्यार्थी खाजा खान वा अन्य कामले पुगेकै हुन्छन् । स्कुलपरिसरमा चुरोट, गाँजा तान्छन्, स्कुले नानीहरू हेरी बस्छन् र सिक्छन् । साथीभाइको सङ्गतमा त्यस्ता कुरा सिक्न थाल्छन् वा अन्यले खाएको कुराको नक्कल गर्न सक्छन् । यस्ता कुरातर्फ ध्यान जानु आजको आवश्यकता हो ।
विद्यार्थी लागूऔषध कुलतमा नपरुन् भनेर स्कुल स्कुलमा लागूऔषध सचेतना कार्यक्रमको जरुरी छ । यसले विद्यार्थीको आचरण सुधार्न सहयोग गर्छ । बालबालिकालाई कुलतबाट जोगाउन विद्यालयले पनि सतर्कता अपनाउनु आजको आवश्यकता हो । प्रहरी प्रशासन, स्कुल प्रशासन साथै अभिभावकले यस विषयमा आवाज उठाएर यस्ता कार्यक्रम चलाए फलदायी अवश्य छ । छोराछोरीको उज्वल भविष्यबारे नसोच्ने अभिभावक कमै होलान् तर पनि अहिले बालबालिकालाई विद्यालयमा पठाएर ढुक्क हुने अभिभावक यही समाजमै छन् । आप्mना नानीहरूको पढाइ, लेखाइ, हँसाइ, आनीबानी साथै अन्य गतिविधिबारे अभिभावक अनभिज्ञ नै छन् भन्दा पनि हुन्छ । नानीहरूको पढाइ कस्तो छ, पढिरहेका छन् कि छैनन्, स्कुल पुगे–पुगेनन्, कुलतमा पो फसे कि, आपराधिक गतिविधिमा पो लागे कि आदि कुरामा अभिभावकहरू चनाखो छैनन् । छोराछोरी कुलतमा लागिसक्दा पनि अभिभावकले थाहा नपाउनु ठूलो कमजोरी हो, यसका लागि अभिभावक पनि चनाखो बन्नुपर्दछ । अभिभावकले पनि सचेतना अपनाउन जरुरी छ ।
अभिभावकले आप्mना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । बालबालिका कहाँ, कोसँग छ र के गर्दैछ भन्ने तीन कुरा अभिभावकले ख्याल गरिदिएमात्रै पनि हुन्छ । यस्तै, फजुल खर्चमा नियन्त्रण गर्ने, विद्यालय रकलेजसम्मका क्रियाकलापमा रेखदेख गर्ने वा ध्यान दिने, छोराछोरी तथा कलेजसँग नियमित सम्पर्कमा रहने, छात्रावास (होस्टेल) मा राख्नु वा बोर्डर्स गर्नुभन्दा पढ्नका लागि घरमै उपयुक्त वातावरण बनाउने, विलासिताका सामग्रीहरू किन्न नियन्त्रण गर्ने, छोराछोरी सुत्ने घर र कोठाको नियमित जाँच गर्ने, उनीहरूले बोक्ने पर्स वा वालेट तथा ब्याग जाँच्ने वा हेर्ने, साथीसङ्गीसँगको सम्बन्धका बारेमा सोधपुछ गर्ने, मदिरा वा चुरोट पिउने लतका विषयमा जानकारी लिने, पारिवारिक तथा पढाइको तनावबाट मुक्त राख्ने गर्न सकियो भने पनि बालबालिकालाई कुलतबाट जोगाउन सकिन्छ ।
पढ्ने निहुँमा बालबालिका कोठा बन्द गरेर बस्नु, साथीसङ्गीसँग गोप्य भेटघाट गर्नु, अभिभावकलाई थाहै नदिएर हिँड्नुजस्ता कुरालाई बेलैमा निगरानी गर्न सक्नुपर्दछ । त्यसकारण यसको कुलतबाट आप्mना सन्तानलाई सुरक्षित र टाढा राख्न उनीहरूका क्रियाकलापप्रति बारम्बार चासो राख्नु र सजग रहनु नै उत्तम उपाय हो । व्यस्त, विदेशमा रहेका र केयरफुल नहुने अभिभावकका बच्चा नै कुलतमा फसिरहेका छन् । त्यसैले अब आप्mना छोराछोरी विद्यालयमा पुग्यो–पुगेन, होमवर्क गर्यो–गरेन, खायो–खाएन, साथी सङ्गत कस्तो छ आदि कुराको ख्याल गर्नुपर्छ । मान्छेले अन्य कुलत छाड्न सके पनि लागूऔषधको कुलतमा फसेपछि छाड्न सक्दैन । त्यसकारण यसको कुलतबाट अाफ्ना सन्तानलाई सुरक्षित र टाढा राख्न उनीहरूका क्रियाकलाप्रति बारम्बार चासो राख्नु र सजग रहनु नै आजको आवश्यकता हो ।