विराटनगर । हामीले दुई रुप्याँ किलो घिरोँला बेच्दा बजारमा २५–३० रुप्याँँ हुन्छ, जो मिहिनेत गर्छ, मूल्य पाउँदैन, तर खुद्रा व्यापारी ५ गुना मुनाफा खान्छ ।’ विराटनगरको गुद्री बजारमा भेटिएका कटहरी–४ नयाँ बजारका कृषक कोपिन्द्र सिहंले गुनासो गरे । एकातिर किसान मारमा छन् अर्कातिर उपभोक्ता उत्तिकै मारमा छन् । कोपिन्द्रले यही आशय व्यक्त गरे । ‘बारीमा भएको घिरोँला सकिन लागो, बजार भाउ राम्रो पाइनम ।’ व्यवसायिक रूपमा चार विघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका कोपिन्द्रले भने । उनले १५ कट्ठामा तराईको प्रमुख तरकारी घिरौँला लगाएका छन् । अन्य तरकारीबाट राम्रो आम्दानी भए पनि घिरौँलाबाट सोचेजस्तो आम्दानी गर्न नसकेको उनले बताए ।
मूल्य नपाउँदा कृषक मारमा व्यापारीको मुनाफा पाँच गुणा बढी गुद्रीमा २५ देखि ३० रुपैयाँ किलो |
बजारमा व्यापारीले बिक्री गर्ने दरअनुपातमा कृषकले घिरौँलामा मूल्य नपाएपछि कटहरीका कृषक चिन्तामा छन् । यसअघि १५ देखि २० रुपैयाँसम्म बिक्री हुँदै आएको घिरौँला अहिले एक्कासी बजार भाउ खस्किँदा यस ठाउँका कृषकले सोचेअनुसारको आम्दानी गर्न सकेनन् । कृषकको उत्पादन विराटनगरस्थित गुद्री बजारमा बिक्री हुन्छ । त्यहाँका थोक बिक्रेताले कृषकको उत्पादन खरिद गर्छन् । ‘यता बजार नै छैन, १५ कट्ठामा लगाको छु, १० देखि १५ क्विन्टलसम्म विराटनगरको होलसेल पसलमा पठाएँ,’ कोपिन्द्रले भने, ‘बेपारीले मूल्य छैन भन्दै दुई रुपैयाँ किलो किन्छ, नबेचुम बारीमा कुहिन्छ । बेच्न ल्यायो खर्च उठ्दैन ।’ कृषक कोपिन्द्र सिंहले ४ बिघामा गोलभेँडा, बन्दा, काउली, भेण्टा, खोर्सानी, घिरौँलालगायत तरकारी लगाउँदै आएका छन् । कृषकले ल्याएको घिरौँला विराटनगरका थोक पसलले ५ रुपैयाँ प्रतिकिलो खुद्रा व्यापारीलाई बिक्री गर्दै आएको शक्ति ट्रेडिङका सञ्चालक तिलोकी भगतले बताए । ‘उत्पादन धेरै भएकाले अहिले मूल्य छैन,’ उनले भने, ‘मैले पनि २ रुपैयाँ नाफा खाएर खुद्रा व्यापारीलाई बेच्ने गर्छु ।’ होलसेल पसलले २ रुपैयाँ मुनाफा राखी घिरौँला बिक्री गरे पनि बजारमा खुद्रा व्यापारीहरूले अहिले २५ देखि ३० रुपैयाँ बिक्री हुँदै आएको छ । कृषिमा लगानी गर्नुपर्छ, कृषिबाट नै वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न सकिन्छ भनिरहँदा खुद्रा व्यापारीको कारणले कृषक ठगिएको बारे सरोकारवाला निकाय मौन छ । ‘न हामीलाई कृषि कार्यालयले हेर्छ न त स्थानीय सरकारले । कटहरीमा अधिकांश कृषक छन् । कटहरीको नयाँ बजारमा त्रिशक्ती कृषक समूह गठन गरेर तीन दर्जन बढी कृषकहरू व्यवसायिक तरकारी खेतीमा लागि परेका छन् । कटहरी–४ का कृषक महाविर सिंहले घिरौँलाले राम्रो भाउ नपाएपछि बिक्री नै गर्न छाडेको बताए । २ रुपैयाँ किलो बिक्री गर्नुभन्दा चौपायलाई खोले बनाएर खुवाउने गरेको उनले बताए । ‘बारीमा तरकारी छ,’ उनले भने, ‘व्यापारीले लगानी उठ्नेसम्म पनि भाउ दिँदैन, उनीहरूले बोलेको भाउमा बिक्री गर्नैपर्छ, सबैले ठग्ने हामीलाई नै रैछ ।’ घिरौँलामा मात्र होइन कटहरीका किसान अन्य तरकारीमा समेत व्यापारीबाट ठगिएको बताउँछन्। ।