पानवारी । कृषिउपज बजार स्थल धरानलाई धरासायी बनाउन विभिन्न षड्यन्त्र भइरहेको खुलेको छ ।
शनिबार कृषिउपज बजार सञ्चालक समितिले पत्रकार सम्मेलन गरी धरानको कृषिबजारलाई धरासायी बनाउने प्रयास भएको बताएको छ । पत्रकार सम्मेलनमा कृषिउपज बजारस्थलका पूर्व कर्मचारी तथा १३ नं. वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत व्यापारीहरुले कृषिबजारलाई धरासायी बनाउने षड्यन्त्र शुरु भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । कृषिउपज बजारको सञ्चालक समितिको अध्यक्षमा १५ वर्ष रहेर काम गरिसकेका अध्यक्ष काजी गिरीले यसपटकको निर्वाचनमा पराजित भएपछि कृषिबजारलाई डामाडोल बनाउन षड्यन्त्र गरेको आरोप वडाध्यक्ष काफ्लेले लगाएका छन् । काफ्लेका अनुसार चुनावमा पराजित भएपछि पूर्वअध्यक्षले पराजय स्वीकार गर्न नसकेको र उनले कृषिबजार र निर्वाचित पदाधिकारीलाई ‘फेलर’ बनाउन भन्दै विभिन्न षड्यन्त्र गर्न थालेका छन् ।
केही दिनअघि भानु फलफूल तथा सब्जी व्यापारी सङ्घले कृषिबजार विरुद्ध दोहोरो कर लिइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्न पत्रकार सम्मेलन गरेको थियो । पूर्वअध्यक्ष गिरीकै उक्साहटमा भानु फलफूल तथा सब्जी व्यापार सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको र अहिले कृषिउपज बजारको मुख्य आम्दानीको रूपमा रहेको निकासी शुल्कलाई विवादमा ल्याएको व्यापारी शिवचन्द्र चौधरीले बताएका छन् । वडाध्यक्ष काफ्ले भन्छन्, ‘पूर्वअध्यक्ष गिरीले कृषिउपज बजारको अध्यक्ष भएर १५ वर्ष चलाउनुभयो, अहिले धरानको छाताचोकनजिक अमान बजार चलाउँदै आएको र त्यहाँ कृषि बजार सार्नको लागि किचलो लगाइदिनुभएको हो ।’
कृषिबजारमा दोहोरो कर भन्दै आन्दोलन गर्ने बताइरहँदा कृषिबजारमा कर नभई व्यवस्थापन शुल्क लिने गरेको कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कट्वालले बताए । उनले भने, ‘म आउनुभन्दा अगाडि नै अहिले आन्दोलन गर्र्छाै भन्ने साथीहरु आफैले २०६७ सालमा शुल्क लिने निर्णय गरेका हुन् ।’ त्यतिबेला काजी गिरीकै संयोजकत्वमा भानु फलफूल तथा सब्जी व्यवसायी सङ्घका धर्मराज तिम्सिना, लालबहादुर राईलगायत नगरपालिका, इलाका प्रशासन कार्यालय लगायत व्यवसायीको बैठकले निर्णय गरी शुल्क लिने व्यवस्था गरेको अध्यक्ष कट्वालले बताए ।
देशभरिका कृषि बजारमध्येकै उत्कृष्ट बजार भएको भन्दै अहिले उपभोक्तालाई बढी मूल्य प¥यो भनेर आन्दोलन गर्ने खुद्रा व्यापारीहरुले नै अत्यधिक मूल्य बढाएका कारण उपभोक्ता मारमा परेकोसमेत कृषि बजारका अध्यक्ष कट्वालले बताए ।
पूर्वअध्यक्ष काजी गिरीले भने, ‘मैले कृषिबजारलाई मन्दिर बनाएर छाडेको छु, कृषिबजारले देशकै उत्कृष्ट भएर ४ पटक पुरस्कारसमेत प्राप्त गरेको छ । धरानका कृषक र कृषि उत्पादनलाई देशभरि चिनाउने म हुँ, अनि मैले कसरी त्यस्तो षड्यन्त्र गर्छु । मैले ०६० सालदेखि नेतृत्व गरी सङ्घर्ष गरेर बनाएको कृषिबजारलाई नेतृत्व गर्न अन्य व्यक्ति आएर मैले आराम पाएको छु । यस अर्थमा म खुसी नै छु । तर कृषिबजार बनाउन जोगाउन म सधैँ लाग्नेछु ।’
कृषि बजारलाई धरासायी बनाउन षड्यन्त्र
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































