इटहरी । इटहरीको मुख्य चौक आसपासका यात्रु हिँड्ने सडकपेटी (फुटपाथ) मा साना व्यापारीहरूले प्रयोग गरिरहेका छन् । पछिल्लो समय इटहरीमा सडक व्यापार निक्कै फस्टाएको छ । आयुर्वेदिक औषधिदेखि पानीपुरीसम्म सडकमा पाइन्छ । लामो समयदेखि सडकमा फुटपाथको व्यापार गर्दै आएका साना व्यापारीहरूले भने रोजीरोटीकै कारण सडकपेटीमा बस्नु बाध्य भएको बताउँछन् । ठूला सटर भाडामा लिएर व्यापार गर्ने अवस्थामा नरहेका कारण आफूहरू धुवाँधुलो नभनी सडकपेटीमै व्यापार गर्न बाध्य भएको २६ वर्षदेखि सडकै फलफूल व्यापार गर्दै आएका वीरबहादुर विकले बताए । उनी जस्तै सडकपेटीमै उखुको जुस बेच्दै आएका असिम दाहाल पनि फुटपाथमै जीविकोपार्जनको बाटो खोजेको सुनाउँछन् । पछिल्लो समय उपमहानगरपालिकाले फुटपाथमा व्यवसाय गर्न नदिने भनेपछि उनीहरू चिन्तित छन् । दाहाल भन्छन् ‘हामी बाध्यताले बसेका हौँ, हामीलाई अर्को विकल्प दिइयोस् तर रोजीरोटी नखोसियोस ।’ इटहरी–१० का रामकुमार कार्की परिवार पाल्नकै लागि सडकपेटीमा हात हेर्ने बसेको सुनाउँछन् । ‘आर्थिक आयआर्जनका लागि मेरो लागी सडक उपयुक्त भयो त्यसैले दैनिक सडकमा बस्छु ।’ उनी आफ्नो दुःख सुनाउँछन् । ‘भाडा तिरेर बस्न सकिँदैन सडक पेटीमा बस्नुको विकल्प भएन ।’ उनले थपे । सडकपेटीमै कपडा व्यापार गर्दै आएका नन्दकिशोर गुप्ताले जीवन जिउनका लागि सडकपेटी अतिक्रमण गर्नु परेको बताउँछन् । ‘हामीलाई हटाए हाम्रो परिवारको बिचल्ली हुन्छ, हामीलाई गरिखान दिनुपर्छ ।’ उनले थपे । पाँच वर्षदेखि सडकमै व्यापार गदै आएकी फलफूल व्यापारी तारा तामाङले घर खर्च चलाउन घाम पानी नभनी व्यापार गदै आएको बताइन् । ‘सटर भाडामा लिएर व्यापार गर्न सकिँदैन धुवाँ–धुलोसँग जुझ्दै व्यापार गर्दै आएकी छु ।’ उनी भन्छिन् । घर खर्च सडकपेटीमै बसेर चलाउँदै आएको बताउने तामाङले आफूलाई सडकबाट हटाउन नहुने जिकिर गरिन् । खानेबाटै टुट्ने भन्दै उनले आफूजस्तै दर्जनौँ सडकपेटीमा व्यापार गर्नेहरू सङ्कटकमा पर्ने उनको तर्क थियो । फलफूल व्यापारी प्रकाश साह भन्छन्, ‘सटर किन्न २० लाख भन्दा बढि पर्छ फुटपाथमा व्यापार नगरे कसरी बाच्नु ? नगरप्रहरीसँग डराउँदै भए पनि व्यापार गर्नुको विकल्प छैन ।’ उनी भन्छन् । सडकपेटीमा बसेर व्यापार गर्दा आफूहरूलाई धेरै समस्या भएको भन्दै साहले भने ‘व्यापार नगरे खानै पाइँदैन ।’ अधिकांश सडकपेटी अतिक्रमण गरेर व्यापार गर्नेहरूले जीवन चलाउनमात्र व्यापार गर्नु परेको बताउँछन् । उपमहानगरपालिकाले विभिन्न समयमा सडक र त्यससँग सम्बन्धित व्यवसायलाई व्यवस्थित गर्ने प्रयास गरेपनि सफल भएको छैन । तर बढ्दो बेरोजगारीलाई नियन्त्रण गर्न र नीतिगत कुराको दीर्घकालीन विकास नगरिँदा जटिलताहरू बाहेक अरु सुधार देखिएको छैन । इटहरीमा एउटा पछि अर्को समस्याहरू थपिँदै गएका छन् । बढिरहेको जनसङ्ख्या र त्यसमा पनि गरिबीको कारण सडक व्यापारमा नयाँ आउने र पुराना हराउने क्रम रोकिएको छैन । बिहान र बेलुका सबैभन्दा धेरै सडकपेटीमा व्यापार हुन्छ ।