विराटनगर । गत वर्षको साउनकोे भेलले भत्काएको लोहोन्द्रा खोलाको पुल बन्ने छाँटकाँट देखिएको छैन । भत्किएको पुलको उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले बुधबार एक वर्षपछि अवलोकन गरेका छन् । अवलोकनपछि पुल निर्माण कार्य यसैवर्षदेखि प्रारम्भ हुने दाबी गरे । तर, जनता मन्त्रीको भनाइप्रति विश्वस्त छैनन् । पुल बगाएपछि मोेरङको कसेनी र नेताचौकबीचको सडक सञ्जाल जोडिन सकेको छैन् भने मोरङ जिल्लाको आधाजस्तो कृषि भूमिमा सिंचाइ सुविधा टुटेको छ । एक वर्षमा हालसम्म कुनै ठोस कार्य नभएकाले पनि जनता मन्त्रीको भनाइप्रति आश्वास्त बन्न नसेका हुन् । मन्त्री पुनले यही आर्थिक वर्ष ठेक्का लाग्ने प्रतिवद्धता जनाए । सुनसरी मोरङ सिंचाई योजना अन्तरगत रहेको सो पुल जनताको आवतजावतसँगै खोलामाथिबाट पानी लैजाने दुई प्रयोजनबाट उपयोग भइरहेको थियो । त्यसको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उनले बताए । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीको नेतृत्वमा स्थानीयले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाउँदै सिंचाई र यातायात सेवा सञ्चालन गराउन माग गरेका थिए । प्रधानमन्त्रीकोसमेत आग्रहमा उर्जामन्त्रीले स्थलगत निरीक्षण गरेका हुन् । पुल भत्किएको एक वर्ष बितिसक्दा पनि निर्माण गर्ने निकायले कुनै चासो नदिँदा बर्खाको बेलामा स्थानीयलाई आवगमनमा समस्या भएको छ । हिउँद याममा अस्थायी रूपमा स्थानीयले बाँसको पुल बनाएर काम चलाए पनि बर्खायाम सुरु भएपछि आवगमनमा समस्यामा भएको स्थानीयको भनाइ छ । यस पुलबाट दैनिक हजार बढी मोटरसाइकल र सयौं ट्रयाक्टर, ट्रक र बसहरु आवत–आवत गर्दै आएका थिए । पुल भत्किएपछि अहिले आवागमन ठप्प छ । पुल नबन्दा विराटनगर जानुपर्ने अहिले बेलबारी विराटचोक भएर वा कर्सियाबाट रङ्गेली हुँदै विराटनगर आउनुपर्ने बाध्यता रहेको स्थानीय गीता श्रेष्ठले बताइन् । सुनसरी मोरङ सिचाई योजनाले दिएको जानकारी अनुसार १ सय ६७ मिटर लामो पुल र त्यति नै लामो साइफन निमार्ण गर्नुपर्ने भएकाले ठूलो बजेट खर्च हुने बताइएको छ । पुल र साइफनका लागि ३० करोडभन्दा बढी रकम खर्च हुने सुनसरी मोरङ सिचाई योजनाले जानकारी दिएको छ ।