इनरुवा। सुनसरीका माझी समुदायले आफ्नो पेशा सङ्कटमा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । उनीहरूको पुख्र्यौली पेशाको रूपमा रहेको माछा मार्ने पेशा अन्य समुदायका कारण सङ्कटमा पर्न लागेको माझी समुदायको मत छ । पुख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा, व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलाबी मुखियाले बताए । सदा, उराँव, मुस्लिमसमुदायका मान्छेको पेशा माछा मार्ने नभए पनि उनीहरूले माछा मार्ने काम गर्दै आएका छन् । ‘ज्ञान र सीप नभए पनि अन्य समुदायले माछा मार्ने काम गरिरहेका छन् ।’ मुखियाले भने, ‘मार्नुपर्ने माछा कुन हो, मार्नुपर्ने माछा कुन हो, थाहा छैन उत्तिकै माछाहरू मारिरहेका छन् ।’

माछा मार्ने परम्परागत प्रविधिले माझीहरु माछा मार्दै आएका छन् । तर, समय आधुनिक हुँदै गएपछि अन्य समुदायले परम्परागत माछा मार्ने सीपलाई विस्थापित गर्न उक्साएको माझी समुदायको आरोप छ । बर्सौँदेखि उनीहरुले गर्दै आएको पेशा अन्य समुदायका कारण सबैभन्दा ठूलो सङ्कटमा परेको कोसी गाउँपालिका–३ का मदन मुखियाले बताए । प्रविधिको विकासका कारण पनि नदीमा माछा मार्नेहरुले माछा र पर्यावरणलाई नै हानी हुने प्रविधि भिœयाएको माझीहरुको गुनासो छ ।

अन्य समुदायले माछा मारिदिएकाले जीविकोपार्जन हुने गरी माझी समुदायले माछा मार्न सकेका छैनन् । अन्यले समेत माछाको व्यवसाय गरेका कारण माछा बजारको मागभन्दा बढी छ । यी विभिन्न कारणले माझीहरुले अँगालेको परम्परागत पेशा जोखिममा परेको छ ।

विशेषगरी स्थानीय नदी, खोलाहरुमा माछा मार्ने पेशा गर्दै आएका माझीहरुले मारेको माछाको मूल्य बजारमा आकर्षक छ । पोखरी र तलाउका माछाभन्दा स्थानीय कोशी नदी र खोलाहरुका माछाले भाउ पाउँछन् । तर नदीमा विष हाल्ने, करेण्ट लगाउने र परम्परागत पेशा अँगालेकालाई हतोत्साहित गर्ने प्रवृत्तिले माझीको पेशा सङ्कटमा परेको उनीहरुको ठम्याइ छ ।

‘अहिले हामीलाई जीवन चलाउन समेत समस्या छ,’ कोसी गाउँपालिका–३ का राजेश्वर मुखियाले भने । माछा मारेरै घर परिवार चलाउँदै आएका माझी समुदाय परम्परागत पेशालाई व्यवस्थित गरिदिन सरकारसँग माग गरेको बताउँछन् ।