क्यान्सरको रोकथामको लागि प्रयोग हुने औषधि अर्थात् एन्टी क्यान्सर ड्रग्स ‘केमो’ औषधिहरु अन्य औषधिको तुलनामा धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन् ।  क्यान्सर भएको व्यक्तिले एक वा एकभन्दा बढी औषधिहरु क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन् । ती औषधिको प्रयोग गर्ने प्रविधिलाई ‘केमोथेरापी’ भनिन्छ । यी औषधिको लापरबाहीपूर्ण सेवन गर्ने र गराउनेलाई धेरै जोखिम छ । अहिले विभिन्न प्रकारका केमोथेरापी बनेका छन् । हरेक औषधिको प्रयोग गर्ने तरिका फरक हुन्छ– साथै केमोथेरापी पनि फरक हुन्छन् । केमोका औषधिहरू सुईबाट नशामा लगाइन्छ, केही केमो मुखबाट सेवन गर्नुपर्छ । कुन केमोथेरापी प्रयोग गर्ने भन्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवस्था र उमेरको आधारमा गरिन्छ ।

यी औषधिले सामान्य कोषलाई समेत असर गर्ने हुँदा निम्न कुरामा ध्यान दिन जरुरी हुन्छः १. यस्तो औषधि सेवन गराउँदा छुट्टै स्थानको व्यवस्था गर्नुपर्छ । २. गर्भवती महिला, स्तनपान गराइरहेकी महिलाहरुको नजिक तथा उनीहरुको सम्पर्कमा क्यान्सरका औषधिहरु सेवन नगर्ने तथा नगराउने । ३. यस्ता औषधिहरुमा सचेतनामूलक लेवल टाँसेर भण्डारणमा समेत जानकारी गराउने । ४. यदि औषधि प्रयोग गर्दागर्दै प्रयोग नगर्नुपर्ने भएमा वा औषधिको म्याद सकिएमा प्रतिस्थापन तथा व्यवस्थापन गर्नुपर्ने भएमा चिकित्सक वा फर्मासिष्टसँग जानकारी लिने । ५. औषधि सेवन गर्दा खुल्ला हातले प्रयोग नगर्ने वा नगराउने । ६. बच्चा र अन्य परिवारको पहुँचबाट टाढा राख्ने । ७. औषधिको अन्य असर तथा समस्या देखिएमा चिकित्सक वा फर्मासिष्टसँग सल्लाह लिने । ८. चिकित्सक, फर्मासिष्ट, नर्सहरुले औषधि प्रयोग गर्दा, बिक्रीवितरण तथा औषधिजन्य सेवा दिँदा सचेत भई अस्पतालको निर्देशन बमोजिम कार्य गर्ने । ९. औषधिहरु अस्पतालमा भण्डारण गर्दा छुट्टै ठाउँमा गर्ने तथा अन्य औषधिसँग सँगै नराख्ने । १०. क्यान्सरका औषधिहरु सुरक्षित, सुख्खा ठाउँमा राखी घामपानीबाट जोगाउने । ११. क्यान्सरका औषधि बिक्रीवितरण गर्ने ठाउँमा सचेतनामूलक जानकारी तथा चिन्हहरू राखी जानकारी गराउने । १२. बिक्रीवितरण तथा औषधि प्रयोग गर्ने, गराउने स्वास्थ्यकर्मीलाई तालिम तथा प्रयोगात्मक शिक्षा दिने । (फर्मासिष्ट खनालः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत छन् ।)