भद्रपुर/चैते र गर्मा धान खेती गर्ने कृषकलाई प्रतिफलका आधारमा प्रोत्साहन अनुदानबापत ३ लाख ७१ हजार तीनसय २७ रुपैयाँ संस्थामार्फत् हस्तान्तरण गरिएको छ । नौलो भविष्य साना किसान सहकारी संस्था लिमिटेड कचनकवल–६ बनियानीसँग आबद्ध कृषक सदस्यहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनले अनुदान रकम हस्तान्तरण गरेको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको प्रमुख आतिथ्यमा धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।
गर्मा र चैते धान खेती क्षेत्र विस्तार, यान्त्रिकीकरण र कृषकहरुको अनुहारमा खुसी ल्याउनेतर्फ सबै जनप्रतिनिधिहरु को चासो र सकारात्मक सहयोगले धान खेती सफल बन्दै गएको सुपरजोन प्रमुख मेघनाथ तिमल्सेनाले बताए । बिस्तारै चैते धान खेती क्षेत्र विस्तार हुने सम्भावना बढ्दै गएको उनले बताए । सरकारी सहयोगबाट धान मिल र उद्योगपतिहरुलाई ड्रायर (सुख्खा गर्ने मेसिन) सुविधाहरु निर्माण र थप गर्न सहयोग गरी वर्षाको समयमा उत्पादित धान स्टिम राइस बनाउने मिलहरुलाई विशेष सहुलियत दिनसके यो काम पूरा गर्न सकिने उनको धारणा छ । चैते धानबालीको पहिले न्यूनतम् समर्थन मूल्य तोक्नु जरुरी रहेको उनले जनाए । किनकि चैते धान यति मूल्यमा बिक्री हुन्छ भन्ने थाहा भएपछि ढुक्क भएर किसानहरू समयमै धानको ब्याड राख्ने वा नराख्ने भन्ने टुङ्गोमा पुग्ने उनको भनाइ छ ।
यान्त्रिकीकरण शुरुवात भएकोले सामूहिक र चक्लाबन्दी खेती अबको आवश्यकता रहेको उनको भनाइ छ । जमिनको भू–स्वामित्व, खण्डीकरण, वैकल्पिक रोजगारीको अवसर, खाद्यान्न बाली उत्पादनबाट लागत खर्च पनि नउठ्ने भन्ने धारणा, खेती नगरे पनि वा थोरै फले पनि पुगिहाल्छ भन्ने सोच, चक्लाबन्दी गर्न पनि अनुदान चाहियो भन्ने सोच, कृषि फार्म र कृषि कम्पनीहरु खाद्यान्न बाली उत्पादनतर्फ कम मात्रै लागिपरेका लगायतका कारणले सहकारी संस्थाको नेतृत्वमा सामूहिक अवधारणा अनुरूप चक्लाबन्दी खेती गर्नु प्रभावकारी हुने उनले बताए ।
यो वर्ष कृषि सहकारी समूह लगायतले ६ सय ६५ बिगाहामा चैते र गर्मा धान खेती लगाएका थिए । प्रोत्साहन स्वरुप आर्थिक वर्षमा साढे २४ लाख रकम कृषकलाई वितरण गरिने भट्टराईले जानकारी दिए ।