पाँचथरको फिदिम नगरपालिका–६, सिवाकी सन्ध्या लिम्बू (नाम परिवर्तन) ले १३ वर्षको नाबालकमै पहिलो विवाह गरिन् । पहिलो विवाह गरेको छ महिना मै उनले पुनः दोस्रो विवाह गर्न पुगिन् । दोस्रो विवाह गरेको वर्षदिनमा छोरा जन्माइन् । शारीरिक र मानशिक रुपले अपरिपक्व उमेरमै उनी आमा बनिन् । साथीसँगीसँग रमाउँदै विद्यालय जाने उमेरमा उनी छोरालाई दुध चुसाइरहेकी छिन् । दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिका–४, आङनाकी साङडोल्मा तामाङ (नाम परिवर्तन) १३ वर्ष नछिचोल्दै श्रीमति बनिन् । १४ वर्षमा छोराको आमा बनिन् । छोरा तीन वर्षको हुँदा उनी १७ वर्षकी भइन् । पहिलो श्रीमानलाई छोडेर दोस्रोपल्ट अर्कैको श्रीमति बनिन् । विवाह के हो ? थाहै नपाई दुईपल्ट विवाह गरेकी उनले अहिले शारीरिक र मानसिक समस्याको सामना गर्नु परिरहेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१, अमरपुरकी साङमाइ स्याङतान (नाम परिवर्तन) स्थानीय अमरपुर मावि कक्षा–१० मा पढ्दैछिन् । १५ वर्षकी उनले गत वैशाखमा आफूखुसी विवाह गरिन् । श्रीमानको घरबाटै उनले पढाइलाई निरन्तरता दिने अवसर त पाएकी छिन् , तर एसइइ परिक्षाको तयारीमा रहेकी उनी गर्भवति भइहालिन् भने के होला ? थाहा छैन ।

 माथिका घटना जिल्लाको प्रतिनिधि घटना मात्र हुन् । यस्ता बाल विवाह जिल्लामा नगन्य मात्रामा हुने गरेको पाइएको छ । यद्यपी सम्बन्धित निकायको तथ्याङ्कमा भने बाल विवाह शून्य जस्तै देखिन्छ ।  जिल्ला प्रहरी कार्यालय पाँचथरको रेकर्डमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको अहिले सम्ममा बाल विवाह सम्बन्धि कुनै मुद्दा दर्ता भएको छैन । उजुरी पनि परेको छैन । महिला तथा बालबालिका अधिकृत निर्मला दाहालले पनि बाल विवाहका बिषय लिएर कार्यालयमा आउने मानिस नभएको बताइन् । उनले भनिन्– ‘तर बाल विवाह भने जिल्लामा धेरै हुने गरेको छ, जुन बाहिर आउन सकेका छैनन् ।’ फिदिम नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक उर्मिला प्रधान श्रेष्ठ पनि दाहालको कुरामा सहमत छिन् । भन्छिन्– ‘बाल विवाह प्रशस्तै हुने गरेको छ, तर नगरपालिकाको न्यायिक समितिमा यस्ता मुद्धा अहिलेसम्म आएका छैनन् ।’ वाल बिवाहका घटना किन कानुनी दायरामा आउँदैनन् त ? जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवर भन्छन्– ‘जनचेतनाको अभाव प्रमुख कारण हो, र अर्को कुरा परिवारको प्रतिष्ठाको बिषयलाई लिएर यो कुरालाई अभिभावकहरुले नै बाहिर ल्याउन चाहदैनन् ।’ हरेक वर्ष बढिरहेको वाल बिवाह न्यूनिकरण जिल्लामा चुनौति बन्दै गएको छ । यसले कानुनी व्यवस्थाको समेत खिल्ली उडाएको कुँवर बताउछन् । वाल बिवाह गर्नाले हुने शारीरिक र मानशिक रुपमा हुने बेफाइदाहरुबारे अभिभावक र स्यवंम वालवालिकालाई बुझाउन नसक्नाले वाल बिवाह गर्ने केटाकोटी बढिरहेको प्रहरी नायव उपरिक्षक कुँवरको भनाई छ ।

नेपालको कानुनमा २० वर्षको उमेर अघि विवाह गर्नु अबैधानिक मानिन्छ । भदौ एक देखि लागु गरिएको मुलुकी अपराध संहिता ऐनले केटा र केटी दुबैले २० वर्ष भन्दा कम उमेरमा विवाह गरे त्यो बाल विवाह हुने र त्यस्तो विवाह स्वतः बदर हुने भनेको छ । तर पाँचथरमा भने हरेक वर्ष कानुनले तोकेको भन्दा कम उमेरमा बिवाह गर्ने केटाकेटीको संख्या बढ्दो अवस्थामा रहेको छ । यसो हुनुमा लचिलो बन्दै गएको समाज, अभिभावक र केटाकेटीमा आवश्यक चेतनाको अभाव र सामाजिक सञ्जालको बढ्दो प्रयोग प्रमुख कारण देख्छन् कञ्चनजंघा एकेडेमि फिदिमका प्राचार्य प्रेम ओझा ।  दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिका–४, आङनामा झण्डै ७० प्रतिशत विवाह बाल विवाह हुने गरेको सञ्चारकर्मी जंग तामाङ बताउँछन् । केही अभिभावकले नै बालखैमा छोराछोरीको विवाह गरिदिने गरेका छन् । तर धेरै बाल विवाह आफूखुसी हुने गरेको तामाङको भनाई छ । बाल विवाह जिल्लाभरी नै हुने गरेको छ । हरेक वर्ष धेरै केटाकेटीले १८ वर्ष भन्दा कम उमेरमै आफ्नो व्यक्तिगत बिकास र भलाईलाई जोखिममा पारेर विवाह गर्ने गरेका छन् ।

बाल्यकालमै हुने विवाहको परिणाम स्वरूप वाल बधुहरु ठुल्ठूला चुनौतीहरूको सामना गर्न बाध्य रहेका छन् । शारीरिक र मानशिक रुपले अपरिपक्व उमेरमै विवाह गर्ने र गर्भवति हुने प्रवृतिले किसोरीहरुले विभिन्नखाले शारीरिक र मानशिक समस्या सँग लड्नु परेको उदाहरण प्रशस्तै छन् । यसले शिक्षा आर्जनमा समेत नकारात्मक असर पुर्याएको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक लेखनाथ खतिवडाले बताए । उनले भने– ‘हामी यसबारे आगामी भदौ २९ गते वाल दिवशको अवशर पारेर जिल्लाका एक सय वटा विद्यालयबाट एकैपल्ट अभियान थाल्ने सोचमा छौं ।’ जिल्लामा हुने बाल विवाहको पूर्ण तथयङ्क कसैसँग पनि छैन । तर वर्षेनी ५० प्रतिशतभन्दा धेरै बाल विवाह हुने गरेको अनुमान गरिएको छ । प्रविधिको उचित प्रयोग, वाल विवाहबाट हुने बेफाइदा र परिपक्व उमेर भएपछि गरिने विवाहबाट हुने फाइदा, वाल विवाहले समुदायमा पार्ने नकारात्मक असर लगायतका बिषयमा विद्यालय तहबाटै किसोर–किसोरीलाई दिक्षित गराउन सकिए मात्र बढ्दो बाल विवाहलाई निरुत्साहित गर्न सकिने अधिकारकर्मी तथा सञ्चारकर्मी खतिवडा बताउँछन् । यसबारे अभिभावलाई पनि जनचेतना प्रदान गर्नु आवश्यक देखिन्छ ।