रङ्गेली । पैसा नहँुदा पनि रहरका लागि छिमेकीसँग सय रुपैयाँ सापटी मागेर बैना गरेको पोखरीले व्यवसायिक कृषक बनाउँछ र लाखौँ आम्दानी हुन्छ भनेर मोरङ जहदाका किसान सोगारथ मण्डलले सायदै सोचेका थिए । जहदा–५ डकेत टोलरुरु अधिकांश घरमा व्यक्तिगत प्रयोजनका लागि एक–दुई वटा माछा पोखरी हुन्छन् । त्यही लहडमा सोगारथलाई पनि पोखरीको रहर चलेको थियो । ०४८÷४९ साल तिर डेढ बिघामा फैलिएको पोखरी बिक्री हुन लागेको थाहा पाए । तर, उनको साथमा पैसा थिएन । उनले भने ‘मलाई पोखरीको शोख लागेको थियो अनि छिमेकीसँग १ सय रुपैयाँ सापटी मागेर बैना गरेको थिएँ ।’ उनले २४ हजार नगद र डेढ बिघा जमिन पोखरीवापत् धनीलाई दिएका थिए । त्यसपछि लामो समयसम्म उनले पोखरीमा भएका माछा आफैँ खानेबाहेक केही गरेनन् । ‘पोखरी भगवान् भरोसा थियो,’ उनले भने, ‘माछापालन सम्बन्धी कुनै ज्ञान थिएन पोखरीका माछा निकालेर आफैँ खान्थ्यौँ ।’ पोखरीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ०५९÷६० तिर तत्कालीन कटहरी गाविसमा रहेको कृषि सेवा केन्द्रका प्राविधिकको सम्पर्कमा पुगेपछि उनले थाहा पाए । पोखरीबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने त्यहीँबाट बुझेका उनलाई कृषि सेवा केन्द्रले पहिलो पटक फत्तेपुरमा माछा सम्बन्धी तालिममा पठाएको थियो । तालिम पछि माछाका विषयमा सामान्य जानकारी पाएका मण्डल व्यवसायिक माछा पालनतर्फ मोडिए । उनीसँग भएको त्यही एउटा पोखरीमा माछा हाले । क्रमशः माछा सम्बन्धी तालीममा सहभागी हुँदै गएका मण्डल अहिले माछा सम्बन्धी धेरै रोग र समस्या आफैँ पहिचान गर्न सक्ने भएका छन् । शोखले किनेको पोखरीबाट राम्रो आम्दानी हुन थाले पछि मण्डलले ४ बिघामा पोखरी विस्तार गरेका छन् । जहाँ पानीको क्षेत्र २ बिघा ५ कट्ठा रहेको छ । उनको अझै पोखरी बढाउने योजना छ । धान खेतीमा भन्दा माछाबाट राम्रो आम्दानी हुने गरेको बताउने मण्डल वार्षिक १० लाखको कारोबार गर्छन् । माछाको स्याहारमा आम्दानीको ५० प्रतिशतसम्म खर्च हुने गरेको मण्डलको अनुभव छ । उनको माछाको बजार भने विराटनगरको गुद्री हो । माछाको सिजन बाह्रैमास भए पनि चैतदेखि भदौसम्म राम्रो मूल्य पाउने गरेको उनले बताए । साउन महिनामा भने उनी माछाको कारोबार गर्दैनन् । बजारमा एकै पटक धेरै लैजाँदा भाउ नपाउने हुँदा एक क्विन्टलसम्म लैजाने गरेका छन् । आफैँ साइकल वा मोटरसाइकलमा विराटनगरको गुद्री बजारसम्म माछा लैजान्छन् । सोगारथका तीन छोरा छन् । उनले कान्छो छोरा शिशुपाल मण्डललाई डाक्टर पढाउँदैछन् । ‘खेतीपाती गरेर त छोराहरूलाई सरकारी कलेजमा पढाउन पनि मुस्किल छ ।’ उनले भने ‘माछा पालनबाट नै छोरालाई डाक्टरी पढाउन सकेको हुँ ।’ शिशुपाल अहिले ललितपुरको पाटन मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गर्दै छन् । उनका जेठा छोरा विपिनकुमार र माइला दिपककुमार पनि स्नातक तहमा अध्ययनरत छन् । मण्डलका माइला र कान्छा छोरा काठमाडौंमा बस्छन । जेठा छोराले उनको काममा सघाइ रहेका छन् । साथै उनकी श्रीमतीले पनी सघाइरहेकी छन् । भारतको पूर्णियाबाट आउने जिउँदा माछाको कारणले बजार भाउ घट्ने गरेको छ । पहिला भारतको आन्ध्रप्रदेशबाट माछा ल्याउने गरेका व्यापारी अहिले पूर्णियाबाट जिउँदो माछा ल्याउन गरेका छन् । भारतीय माछासँग नेपाली माछाले प्रतिस्पर्धा गर्न नसक्ने मण्डल बताउँछन् । भारतमा माछाको दाना र भुरा नेपालको भन्दा धेरै सस्तो हुने गरेको छ । भारतीय दाना गुणस्तरीय पनि छ । नेपाली भन्दा भारतीय दानाले माछा चाँडो बढ्ने उनले बताए । भारतीय किसानलाई त्यहाँको सरकारले सेवा सुविधा पनि राम्रो दिएको छ । स्थानीय सरकारसँग त उनी झनै रुष्ट छन् । स्थानीय सरकार आएपछि अहिले केही सेवा सुविधा नपाएको उनले गुनासो गरे । जिल्ला कृषि कार्यालयले कृषि औजार, माछाको दाना र भुरामा अनुदान दिने गरे पनि स्थानीय सरकारले हटाएको गुनासो गरे । मण्डलको पोखरीमा रहु, नैनी, सिल्भर, बिगेट, कमनकार्प, ग्रासकार्प, बाटा र भ्याकुर जातका माछा रहेका छन् । माछामा जुम्रा, दादुराजस्तो फोका निस्कने र बिहानको समय अक्सिजनको कमी हुनेजस्ता समस्या हुने गरेको छ । सबै छोराहरूसँगै हुँदा केही वर्ष माछाको भुरासमेत उत्पादन गरे मण्डलले । भुराका लागि नियमित काम गर्ने मान्छे आवश्यक पर्ने भएकाले उत्पादन बन्द गरेका छन् । उनले अहिले पोखरीमा हाँस पालेका छन् । करिब २ सयको हाराहारीमा उनले हाँसका बच्चा यसै वर्षबाट पाल्न शुरु गरेका हुन् । उनका ५०÷६० वटा खसीबाख्रा पनि छन् । चाँडै नै ब्रोइलर कुखुरा पनि पाल्ने तयारीमा मण्डल जुटेका छन् । यसका लागि केही कामदार राख्ने सोचमा छन् ।