भद्रपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मेची अञ्चलको एकमात्र सरकारी अस्पताल मेची अञ्चल अस्पताल ओझेलमा परेकाले स्तरोन्नति गरिने बताएका छन् । मेची अञ्चल अस्पताल भद्रपुरको स्थलगत अनुगमन गर्दै मन्त्री घिमिरेले अस्पतालले पुनर्जीवन पाउने बताए । काँकडभिट्टाको मेचीपुल निर्माण भएर पूर्व–पश्चिम सडक शुरु भएपछि ओझेलमा परेको यो अस्पताल भद्रपुरको मेचीपुल सञ्चालनपछि पुनर्जीवित हुनेमा ढुक्क हुन स्थानीयलाई आश्वस्त पारे । स्वास्थ्य सेवालाई उपलब्धिमुलक बनाउन एउटा समूह बनाएर एक नम्बरभरि नै अध्ययन गरिरहेको बताउँदै मन्त्री घिमिरेले प्रदेशमा रहेका चौध जिल्लाका ११ सय ५७ वटा वडालगायत अञ्चल तथा क्षेत्रका अस्पतालको अनुगमन भइरहेको बताए । उनले आवश्यक्ता हेरेर आगामी ५० वर्षको लागि हुने गरी स्वास्थ्य संस्थाको स्तरोन्नतिको योजना रहेको सुनाए । प्रदेश सरकार नयाँ भएकोले सबै कानून निर्माण भइनसकेकाले केही समस्या आएको स्वीकार्दै मन्त्री घिमिरेले केही महिनाभित्र स्वास्थ्य ऐन सबैको हातहातमा आइपुग्ने बताए । उनले आर्थिक स्रोत साधनलाई व्यवस्थापन गरी सामथ्र्यमा आधारित भएर अघि बढ्ने बताए । अस्पताल विकास समिति खारेज भएको स्मरण गराउँदै मन्त्री घिमिरेले तत्कालका लागि बेवारिसे हुन नदिन केही दिन भित्र व्यवस्थापन गर्ने बताए । सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन मेची अस्पताललाई प्रमुख केन्द्रको रूपमा अघि सारिने मन्त्री घिमिरेले बताए । अस्पताल दाताहरूको सहयोगमा निर्माण भएकाले पुनः दानवीरको खोजी गर्ने र त्यस्ता सहयोगीलाई संरक्षण गर्नेतर्फ अस्पतालको ध्यान केन्द्रित गराएका थिए ।

पूर्वमा कुपोषणका बिरामी बढी सामाजिक विकास मन्त्री घिमिरेले पहाडमा भन्दा पूर्वका तीन जिल्ला झापा, मोरङ् र सुनसरीमा कुपोषणका बिरामी धेरै भएको निष्कर्ष निस्किएको बताएका छन् । मेची अञ्चल अस्पतालको पोषण पुनस्र्थापना केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । पहाड र तराईमा बसोबास गर्ने बच्चाको खानपिनमा फरक आएकाले तराईमा कुपोषणको प्रभाव बढी देखिएको उनले बताए । तराईमा पानी, जङ्क फुड र पहाडमा ढिडो रोटी खाने भएकाले बिरामीको सङ्ख्या तराईमा वृद्धि भएको उल्लेख गरे । सबैको हितको लागि चालु आर्थिक वर्षमा प्रदेश एकलाई ‘स्वास्थ्य प्रर्वद्धन वर्ष’को रूपमा घोषणा गरेकोले सोही अनुरुप रहन सबैलाई अनुरोध गरेका थिए ।

सर्पदंश उपचार केन्द्रको माग उपचारको अभावमा झापाको दक्षिणी क्षेत्रमा सर्पको टोकाइबाट अकालमा ज्यान जाने गरेको घटना स्मरण गराउँदै युवा सङ्घ नेपाल भद्रपुर नगरले ध्यानाकर्षणसहितको माग–पत्र बुझाएको छ । अनुगमनको लागि मेची अञ्चल अस्पताल भद्रपुरमा सोमबार बिहान आएका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई नगरसमितिले माग–पत्र बुझाएका थिए । दक्षिणी क्षेत्रबाट अनुमानित २५ किलोमिटर उत्तरमा चारआली सर्पदंश उपचार केन्द्र रहेकाले सडकको अवस्था, यातायातको समस्या लगायतका कारण समयमा नै उपचार गराउनबाट बञ्चित हुनु परेकाले भद्रपुरमा एउटा उपचार केन्द्र स्थापनाका लागि पहल गरिदिन मन्त्री घिमिरेलाई पत्रमार्फत अनुरोध गरेका थिए । मन्त्री घिमिरेले बजेट विनियोजन भइसकेकाले कहीँ कतैबाट हुनसक्ने भएमा छलफल गरिने आश्वासन दिलाएका थिए । सङ्घका नगर अध्यक्ष डिल्लीराम पोखरेलसहितको टोलीले मन्त्री घिमिरे र भद्रपुर नगरपालिकालाई समेत सोही व्यहोराको माग– पत्र बुझाएका थिए ।

मेची अञ्चल अस्पतालमा समस्याको चाङ् मेची अञ्चल अस्पताल भद्रपुरमा दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति नहँुदा सोचेअनुरुप सेवा दिन नसकिएको अस्पताल प्रमुख पिताम्बर ठाकुरले बताएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सोमबार अस्पतालको अनुगमनपछि अस्पतालले आयोजना गरेको कार्यक्रममा मन्त्री घिमिरेलाई डाक्टर ठाकुरले समस्या सुनाएका थिए । अस्पतालमा एकसय चार जना कर्मचारीको दरबन्दी भएपनि ५९ जनाले मात्र सेवा दिइरहेकाले समस्या आएको बताएका छन् । विगतभन्दा पछिल्लो समय अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेकाले बिरामीलाई मध्यनजर गरी तत्काल दक्षजनशक्ती उपलब्ध गराइनु पर्ने उल्लेख गरेका थिए । अस्पतालमा आउने बजेट पर्याप्त नहुनु, सिटी स्क्यान, एनआइसीयू, मेडिकल कलेज, बेड विस्तार, फिजियो थेरापी, कम क्षमताको जेनेरेटर लगायतका सेवा सुविधा उपलब्ध भएमा बिरामीलाई भरपुर सेवा दिन सकिने पत्रमा उल्लेख छ । पछिल्लो समय दैनिक तीनदेखि पाँच सयसम्म बिरामीले सेवा लिइरहेको उनले जनाएका थिए । अस्पतालको स्वामित्वमा बाह्र बिगाहा जमिन भएको स्मरण गराउँदै आधुनिक अस्पताल निर्माण शुरु भइसकेको समेत जानकारी गराएका थिए । डाक्टर ठाकुरले अस्पतालको इतिहास नै उल्लेख गरेको लिखित पत्र मन्त्री घिमिरेलाई दिएका थिए । मन्त्री घिमिरे, प्रदेश सांसद पूर्ण सिंह राजवंशी, वसन्तकुमार बानियाँ, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, अस्पताल चिकित्सक तथा कर्मचारी जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतले अस्पतालको सबै वार्डहरू अनुगमन गरेका थिए ।