‘चर्चा’ सकारात्मक र नकारात्मक दुईखाले हुन्छन् । अलि अघिसम्म मुख्य चर्चाको विषय सुनकाण्डको थियो । अहिले यो देशमा चर्चा छ, बलात्कारीलाई कडा सजाय दिलाउने विषय । यी दुई फरक विषयभन्दा पनि फरक चर्चा केही छ भने बालगायक अशोक दर्जीको चर्चा हो । ‘चर्चा’ र ‘प्रख्याति’ उस्तै होइन । यी दुईमा निकै भिन्नता छ । चर्चा जसको पनि जस्तो पनि हुनसक्छ । सुनकाण्डमा गोरे अर्थात् चूडामणि उप्रेती सबैभन्दा चर्चित पात्र हुन् । त्यो चर्चा उनलाई नकारात्मक काम गरेबापत प्राप्त चर्चा हो । दूधमुखे बालिकामाथि बलात्कारमार्फत् निर्ममतापूर्वक मारिएका घटना र त्यस्ता अपराधीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्छ भनेर पेटीकोट आन्दोलनको अगुवाइ गर्ने सावित्री सुवेदी पनि समसामयिक, मार्मिक विषयकी पात्र हुन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त निर्मम तथा आततायी घटनाको पात्रका रूपमा चर्चामा छिन् । निर्वाचनको समयताका रञ्जु दर्शना निकै चर्चामा थिइन् । राजनीतिको कुरा गर्दा कुनै समय गोल्छे सार्कीसहितका मानिस फरक धारबाट चर्चामा थिए । समय र परिस्थितिले ल्याउने चर्चाहरु समय र परिस्थितिसँगै हराएर जान पनि सक्छन्, गएका समेत छन् । अशोकसँगै जोडिएर चर्चामा आएका टङ्क बुढाथोकीसहितको गीत सङ्गीतको सन्दर्भमा केन्द्रित भएर मैले चर्चा परिचर्चा अघि बढाएको छु । अर्थात् त्यस विषयमा ‘अनुशीलन’को सन्दर्भ हो । गीत–सङ्गीतको सन्दर्भ अघि बढाउनु पर्दा चर्चामा आएकाहरु पनि केही समयपछि चर्चाविहीन भएर गएका धेरै उदाहरणहरु पनि छन् । पहिलो नेपाली तारा दीपक लिम्बूपछि अरुले नेपाली ताराले खास रूपमा गायनको चर्चाको विरासत जोगाइरहन नसकेको उदाहरण हाम्रा सामु छ । इण्डियन आइडल प्रशान्त तामाङ पनि त्यस्तै चुनौतीको शिकार भए । दमकका ९ वर्षे अशोक दर्जीको चर्चाको उचाइ उनको उमेरभन्दा ज्यादै धेरै उचाइमा छ । उनीसँगै टङ्कको उचाइ पनि ह्वात्तै वढेको छ । अशोकलाई टङ्ककोमा पु¥याउने डीजे रूपकलाई त्यही कुराले चर्चामा जोडेको छ । झापाकै गीतकार विराज नेपालको शब्दबाट अरु जति चर्चामा पुग्न पाए, तर विराज विदेशमा छन् र उनी चर्चाको खुसीमा कम चिनिएका छन् । ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन’ गीत बाहिर आएपछि चर्चा, उपचर्चा र सह–चर्चाका साथै प्रतिचर्चाका भागीदार बन्नेहरुको होडबाजी भेटिएको छ । टङ्क आफैमा राम्रा सङ्गीतकार र गायक पनि हुन् । उनी आफ्नै हिसाबले चिनिने क्रम बढ्दै गरेको अवस्थामा अशोकलाई गायकीमा सहयोग गर्दा अशोक उनका लागि फापसिद्ध माध्यम समेत भइदिए । अशोकका लागि त टङ्क भगवानभन्दा पनि माथि ठानिए । अशोकको अन्त्यन्तै दयनीय आर्थिक अवस्थाको परिवारलाई अशोकको कलाको सहानुभूतिका माध्यमबाट कल्पनासम्म नगरेको सफलता तत्कालै टङ्कमार्पmत् भित्रियो । अशोकलाई देश विदेशबाट आर्थिक सहयोग जुटेपछि उनका बाबु, आमा, दिदी र बहिनी सपनाजस्तो मान्दै सुन्दर घरमा बसाल्ने काम टङ्कको संयोजनबाट भयो । त्यसमा उर्लाबारीका पूर्ण वाइबा दाहिने हात भएर लागे । जुन गीत टङ्क र अशोकले गाए, त्यो गीतको शब्द, सङ्गीत र गायकीको प्रभाव त हो नै । तर त्यसमा ज्यादै विपन्न परिवारका अशोक पढ्नसमेत नपाएर सडक–सडकमा गाउँदै हिँडेको अवस्था सहानुभूति बनेर दर्शकस्रोता सामु अपेक्षा बढी नै चर्चा उचालिन पुग्यो । अशोकजस्ता प्रतिभा अरु पनि लुकेर बसेका छन् तर उनको प्रतिभा उजागरको मोड सुनौलो बनिदियो । अशोकका लागि बनाइएको चिटिक्कको घरको भव्य रूपमा आयोजना भएको उद्घाटन कार्यक्रमको झलकको प्रत्यक्षदर्शी म पनि हुँ । अशोकका लागि ज्यादै ठूलो उपलब्धि हासिल भएको छ । अशोकको प्रतिभा र आर्थिक कठिनाइको अवस्था बुझेर उर्लाबारीको बेथेल बोर्डिङले निःशुल्क पढाउने र बिहानी कलाकेन्द्रले निःशुल्क सङ्गीत सिकाउने क्रम अघि बढ्दै थियो । त्यसबेला टङ्कले अशोकलाई आफ्नै साथमा छोरासरह राखेर पढाउने, सङ्गीत सिकाउने भनेर काठमाडौं लगेपछि आपसी विवाद निकै चुलियो । पछि नगरपालिकाले विवाद मिलाउने काम ग¥यो । टङ्कले नै काठमाडौंमा साथमै राखेर पढाउने र सङ्गीत सिकाउने कुरा कायम भयो । यसबीचमा यहाँनेर धेरै कोणबाट मानिसहरुले अशोकको जीवनका बारेमा सोच्ने र विश्लेषण गरेको मैले सुनेको छु । घरपरिवारको पनि चेतनशील वातावरण नभएर सडक बालकसरह हिँड्ने अशोकका हरेक पक्षको व्यवस्थापन गर्दै असल सोच विचारको पाठ सिकाउनु अर्काे ज्यादै महत्वपूर्ण काम हो । चिटिक्क परेको घरको त्यही रूपमा राख्ने व्यवस्थापनका लागि परिवारलाई चेतना भर्नुपर्ने कुरा समेत आवश्यक देखिएला । टङ्कले सम्पूर्ण हिसाबले जिम्मा नै लिएपछि अशोक र अशोकभन्दा केही साना टङ्कका छोरा एआरबीच सबै कुरामा सधैं समानता सिर्जना भइरहन सक्छ कि सक्दैन ? टङ्कले आफ्नै छोरासरह मानेर व्यवहार गरे पनि अरु परिवारका कुनै सदस्यले त्यही रूपले यदि हेरेनन् भने कस्तो असर पर्ला ? कहीँ न कहीँ असमानताजस्तो देखियो भने पनि बालमस्तिष्कमा के कस्तो असरको जरो गढ्ला भन्ने हेक्का राख्नु निकै ठूलो चुनौती छ । अनि अशोकका लागि मात्र नभएर उनको परिवारका लागि टङ्कबाट सानोभन्दा सानो कमजोरी हुनपुग्यो भने प्रश्न उठाइहाल्ने मानिसको स्वभाव सामाजिक सञ्जालको भित्तो रङ्गाउन तम्तयार भइहाल्छ । अनि अशोकले नै कमजोरी गरे भने पनि त्यसको दोष टङ्कसँग जोडिइहाल्ने अवस्था अर्काे अझ ठूलो चुनौती हो । चिटिक्क परेको घरमा बस्न पाएका बाबुआमाले बालक छोराको कमाइ आइहाल्छ नि के काम गर्नु र भन्न थालिसकेको कुरा आइसक्यो । यदि त्यसो गरेर श्रम नगरी अहिलेदेखि नै परिवार धान्ने बोझ सहानुभूतिमा बढी चर्चामा पुगेको अशोकमाथि पर्न गयो भनें अशोकले के गर्न सक्लान् ? अशोकलाई कस्तो असर पर्ला ? बाबुआमाले पनि छोराका लागि सोचेर आफूहरु व्यवस्थित रूपमा कुनै निरन्तरता दिनेखाले रोजगारीमा सामेल हुनु आवश्यक हुन्छ । अझ महत्वपूर्ण पाटो त उनको सृजनाको हो, अनि औपचारिक पढाइको हो । अशोक अहिले सानै छन् । प्रख्यात हास्यकलार हरिवंश आचार्यको शब्दमा भन्ने हो भने अहिले उनको स्वर कोइलीको जस्तो छ । तर उनी किशोरावस्थामा पुगेपछि स्वर परिवर्तन हुन्छ । त्यो बेलामा उनको स्वरले गायनमा कत्तिको साथ दिन्छ ? अहिलेदेखि नै गायनको प्रशिक्षणमा लगिरहन सकिएन भने अहिलेको जस्तो चर्चाले निरन्तरता पाउन सक्दैन । अनि औपचारिक पढाइमा उनलाई जागरुक बनाएर पढाउन तथा किशोरावस्थाको लहडीपनबाट सम्हाल्न सकिएन भने पनि उनले अब आउने समयसँग जुधेर गायनलाई अघि बढाउन गाह्रो पर्ला । आफू गीतको चर्चाले निकै ठूलो मान्छे भइसकेको कुरा दिमागमा बसेर अशोक फुर्किए भने झन् गाह्रो हुन्छ । सायद यस बेलासम्मको चर्चाको उनको दिमागको त्यसखाले भ्रम भरिइसकेको हुनसक्छ । त्यसमा काउन्सिलिङ ज्यादै आवश्यक छ । चर्चाको यस्तै रफ्तार नहुन पनि त सक्छ । त्यो बेला निराशा छायो भने फेरि अर्काे समस्या थपिन सक्ला । त्यो बेला पनि अर्काे चुनौती आउला । उनीमाथिको अरुको सहानूभूति उनले प्राप्त गरेको आधारभूत आवश्यकतापछि स्वतः कम हुँदै पनि जानसक्ने हुन्छ । त्यसबेला उनको सृजनाको तागत अझ आवश्यक पर्छ । त्यो बेला तागत कम देखियो भने पनि मानिसहरुले टङ्कतिर फर्किएर कुरा काट्न थाल्लान् । युट्यबका भ्युवर्स ज्यादै बढेको बेला टङ्कले अशोकलाई दुहुनो गाई सम्झेका छन् भनेर टिप्पणी गर्नेहरुको मुख थुन्न टङ्कको अशोकप्रतिको निरन्तर योगदान कस्तो रहला भन्ने कुराले पनि अशोकलाई कहिलेसम्म के–के सहयोग पु¥याइरहने ? कतिसम्म पढाइदिने ? यस्ता कुरा ज्यादै अप्ठ्यारा कुरा हुन् । जसले ‘जस’संगै ‘अपजस’ जोडेर ल्याइदिइहाल्छ । यो समयको ज्यादै चर्चामा रहेका सेलिब्रेटी अशोक र टंकका सानाभन्दा साना कुरा समेत मानिसहरुले नियालिरहेका छन् । साना–साना गल्ती कमजोरी पनि चियो गरिरहेका छन् । अवसरले चर्चामा पु¥याएका यिनीहरुका लागि यस्तो परिस्थितिबाट बचेर अगाडि बढ्न ज्यादै ठूलो चुनौती छ । ‘चर्चा’ खहरे हो र ‘प्रख्याति’ अटुट सङ्लो नदी हो । सृजनाको तागत कस्तो हुँदोरहेछ भन्ने कुरा सृजनालाई मनोरञ्जनमात्र मान्नेहरुलाई अशोक गतिलो पाठ बनेका छन् । तमाम चुनौतीलाई पार गर्दै सृजनाको दमबाट सदाबहार प्रख्यात बनिरहने प्रयत्न जारी रहोस्, टङ्क र अशोकलाई हार्दिक शुभकामना ।