भरत समशेर राणाको अन्त्यसँगै नेपालको प्रजातान्त्रिक इतिहासको एउटा कालखण्डको अन्त्य भयो अर्थात् प्रजातान्त्रिक सिपाही योद्धा नेता भरत समशेरको गत भारतको कलकत्तामा असामयिक निधन भयो । नेपालको प्रजातान्त्रिक इतिहासका एउटा ज्यूँदा पात्र रहेका थिए भरत समशेर । भरत समशेर राणा २००७ को क्रान्तिपछि नेपाली काङ्ग्रेसको विरुद्धमा खडा भएको गोर्खा खुकुरी दल पार्टी थियो । २००८ सालमा गोरखा परिषद्का नेता भरत समशेरका कार्यकर्ताहरूको नेतृत्वमा जननायक बीपी कोइरालाको निवासमा खुकुरीको आक्रमण गर्न गएका टोलीमाथि बीपीले गोली ताक्दा एउटा खुकुरी दलका कार्यकर्ता मारिए । बीपी खुकुरी दलको आक्रमणबाट बालबाल बचे । २००७ सालपछि राणाहरूमा खैलाबैला भयो । पहिलेको मोजमज्जा जाने भएपछि उनीहरूले नेपाली काङ्ग्रेसका विरुद्ध गोर्खा परिषद् पार्टी अघि सारेर त्यसको नेतृत्व मृगेन्द्र समशेर र भरत समशेरले लिए । भरत समशेर अन्तिम राणा कमाण्डर इन चिफ बबर समशेरका नाति श्री ३ चन्द्र समशेरका पनाति हजुर थिए । २०१५ सालको आम चुनावमा १०४ सिटका लागि संसद्मा भएको निर्वाचन नेपाली काङ्ग्रेसले ७४ सिट त्यसपछि गोर्खा परिषद्ले १८ सिट जितेको थियो । उनी संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता थिए ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि बीपी, गणेशमान लगायतका नेता र कार्यकर्ता जेलमा परे । त्यसको विरोधमा प्रतिपक्षी दलका नेता भरत समशेरले खुशी मनाएनन् बरु सडकमा उत्रेर महेन्द्रको तानाशाहीको विरोध गर्दै तत्काल गोर्खा परिषद्लाई नेपाली काङ्ग्रेसमा विलय गराए । त्यसपछि उनी पनि जेल परे तर जेलबाट छुटेपछि कलकत्ता गएर राजाविरुद्ध लडे । उनी शुरुदेखि नै गणतन्त्रवादी थिए । उनले गोरखा परिषद्लाई काङ्ग्रेसमा विलय गराएपछि किताब लेखेका छन्, म किन काङ्ग्रेसमा गएँ भनेर । भरत समशेरले त्यसपछि भारतबाट २०३६ सालमा आम माफी पाएर नेपाल फर्के र २०३६ सालमा बहुदलको पक्षमा बीपीसँगै भाषण गरे । २०४६ सालको जनआन्दोलन २०६२/६३ को जनआन्दोलनमा भाग लिए । बीपीलाई मार्न गएका खुकुरी दलका कार्यकर्ताहरूको भीडले जेलमा आक्रमण गरी भरत समशेरलाई जेलबाट छुटाए र सिन्दुर यात्रा गर्दै टुँडिखेल पुर्याए । त्यही भीड बीपी गृहमन्त्रीलाई आक्रमण गर्न जाँदा बीपी निवासमा पहिला दीर्घराज कोइरालालाई भेटेछन् र वहाँलाई कुट्दै टुँडिखेल घिसार्दै लगे र भीड बीपी निवास पुगेपछि बीपीमाथि आक्रमण गर्न पुगेका एक आक्रमणकारीलाई बीपीले गोली ताकेर हानेपछि ऊ त्यही ढलेको कुरा माथि पनि उल्लेख गरिएको छ । त्यो बेला प्रत्यक्षदर्शी बीपीका भतिजा कम्युनिष्ट नेता कमल कोइरालाले भरतको सम्झना गर्दै लेखेको संस्मरण कान्तिपुरबाट थाहा हुन्छ । यस्तै बीपीको आत्मकथामा भरत समशेरबारे लेखेका घटनाक्रमहरू जेल जर्नल, आत्मवृत्तान्त लगायत उल्लेख गरिएकोले वहाँका बारेमा हामीले धेरै लेख्नु पर्दैन ।

बीपीलाई आक्रमण गर्न पठाउने नेता भरत समशेर भारतको बम्बई युनिभर्सिटीबाट एम.ए. गर्ने पहिलो नेपाली भएको कुरा पत्रकार किशोर नेपालले आफ्नो संस्मरणमा लेखेका छन्, जसमा उनले बीपीलाई २००७ सालको क्रान्तिको समर्थन गर्दै आफू ‘ए’ क्लास राणा हुँदाहुँदै पत्र लेखेको किशोरले बताएका छन् । (साप्ताहिक) राणा शासनविरुद्ध ‘सी’ क्लासका राणाहरूले विरोध गरेका, सुवर्ण समशेर, महावीर समशेरले नेपाल प्रजातन्त्र काङ्ग्रेस गठन गरेका थिए २००७ सालमा तर ‘ए’ क्लासका राणा श्री ३ चन्द्रका जेठो पनाति हजुर कमाण्डर इन चिफ बबर समशेरका नाति भरत समशेरमा विद्यार्थीकालमा २००७ सालको क्रान्तिलाई समर्थन गर्ने कुराले उनी विद्रोही स्वभावका रहेछन् भन्ने बुझिन्छ । किनकी २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रको हत्या हुँदा उनले राजा महेन्द्रलाई साथ नदिएर बीपीलाई साथ दिए र पक्राउ परे २०१७ सालमा अनि जेलबाट छुटेपछि कलकत्ता निर्वासनमा गए । कलकत्ता पुगेपछि उनले एउटा पुस्तक लेखेका छन्– म काङ्ग्रेसमा किन लागे ? त्यसको चर्चा तल गरौंला ।

भारत निर्वासन हुनुअघि भरत समशेरले प्रधानमन्त्री बीपीलाई भेटेर ‘म कलकत्ता जाँदैछु ११ बजेको फ्लाइटबाट तर तपाईसँग भेट गरेर मात्र जानू भनी आएको बताउनु भई तपाईको सरकारविरुद्ध कुराहरू सुन्दैछु’ भनेछन् अनि बीपीले भन्नुभएछ, तपाईंले कलकत्ता जानुअघि राजा महेन्द्रलाई भन्दिनू, पछि कुनै कदम चाले त्यो वहाँको हितमा हुँदैन । नभन्दै भरत समशेरले ११ बजेको प्लेन छोडेछन् र दरबारमा राजा महेन्द्रलाई भेटेर आफ्ना कुरा राखे, राजाले गोर्खा परिषद्का तर्फबाट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले तपाई प्रधानमन्त्री बन्नुहोस् भनी भनेको कुरा भरतले वहाँकी धर्मपत्नीलाई बताएको कम्युनिष्ट नेताले उल्लेख गरेका छन् । तर जे होस् भरत समशेरले राजाबाट प्रधानमन्त्री पद दिँदा पनि बरु प्रजातन्त्रका लागि लड्छु भन्दै ...... गोर्खा परिषद्लाई नेपाली काङ्ग्रेसमा एकीकरण गरे र आजीवन काङ्ग्रेस नेता भएर बसे । भरत समशेर २०३६ साल वैशाख १ गते राजा वीरेन्द्रबाट राजनीतिक आम माफी पाएर कलकत्ताबाट नेपाल फर्के । राजनीतिक आम माफी पाउनेहरू जो जति जेल वा प्रवासमा छन् ती सबै बिना शर्त रिहा भए जेलबाट र भारत निर्वासनबाट नेपाल फर्के । नेपाल फर्कनेमा नेपाली काङ्ग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला पटनाबाट काठमाडौं फर्के । यस्तै २०१७ सालपछि राजनीतिक निर्वासनमा कलकत्ता बसेर नेपाली काङ्ग्रेसको क्रान्तिमा सघाउने भरत समशेरले कलकत्तामा अड्डा जमाए । त्यहीँबाट सोझै उनी १९ वर्षपछि नेपाल फर्के । कलकत्ताबाट नेपाल फर्केलगत्तै भरत समशेर बहुदल प्रचारमा लागे । काठमाडौंमा भएका आमसभाहरूमा भरत समशेरले भाषण गरे । उनको भाषणको मूल मर्म व्यक्त गर्दै भनेका छन्– ‘इतिहासको ३ अध्यायको रूपमा रहेको क्रान्ति, प्रजातन्त्र र समाजवादमा क्रान्ति मेरो जीवनको एक अभिन्न अङ्ग हो ।’ (जनमत सङ्ग्रह दर्पण पेज २७१, गिरिराज आचार्य) । विदेशमा बसेर पनि सङ्घर्ष गर्ने प्रेरणा मलाई नेपाली जनताबाट नै प्राप्त भएको हो भनेका छन् ।

भरत समशेरले २०१७ को प्रजातन्त्रको राजा महेन्द्रबाट हत्या भएपछि बिना शर्त नेपाली काङ्ग्रेसमा गोर्खा परिषद् पार्टीको एकीकरण गरे र कलकत्ताबाट पुस्तक लेखे, ‘म नेपाली काङ्ग्रेसमा किन लागेँ ।’ उक्त पुस्तक बीपी कोइरालालाई समर्पण गरेका छन् । उक्त पुस्तकमा उनले नेपाली काङ्ग्रेसमा लाग्नुपर्ने कारणहरू खोतल्दै लेखे, ‘म क्रान्तिको एक साधारण सेवक हुँ ।’ यो पुस्तकमार्पmत् नै उनको नेपाली काङ्ग्रेस र प्रजातन्त्रप्रतिको अटल विश्वासमा उनी बाँचुञ्जेल कायम रहे । अब प्रसङ्ग बदलौं । भरत समशेर धरान पनि आएका थिए । उनले यहाँ भाषण गरे । कुरा हो गोर्खा परिषद्को २०१५ सालमा आम चुनावमा पूर्वको सङ्गठन गर्न र प्रचार गर्न भरत समशेर धरान आएका थिए । धरानमा त्योबेला गोर्खा परिषद्का मोरङ सभापति (सुनसरी पनि) डि. केशवप्रसाद आचार्य मेरा माइला बडाबा थिए । उनलाई बासस्थानको व्यबस्था चतरालाइनमा रहेको हाम्रो नयाँ बन्दै गरेको घरमा व्यवस्था गरिएको थियो । म सानो केटाकेटी भएकोले केही थाहा छैन तर त्यो बेला हातमा झण्डी बोकेको याद रहेको छ । धेरै मान्छे आए, भरत समशेरले धरानमा गोर्खा परिषद्को बैठक गरे । मेरा बडाबा केशवप्रसाद आचार्यलाई २०१७ सालपछि भरत समशेरका बुबा मृगेन्द्र समशेरले एउटा पत्र लेखेका रहेछन् । मृगेन्द्र समशेर गोर्खा परिषद्का संस्थापक अध्यक्ष रहेका थिए । २०१७ सालमा मेरो हजुरबा मु. कुलप्रसाद आचार्यको निधन भएपछि मृगेन्द्र समशेरले डि. केशवप्रसादलाई पत्र लेख्तै समवेदना प्रकट गरेका थिए । उनको हस्ताक्षरयुक्त सानो पत्र यस्तो रहेको छ ।

२०४९–०५० तिर म प्रेस काउन्सिलको सल्लाहकार छँदा काठमाडौं जाने बेलामा काका पब्लिक हाईस्कुलका भूपू हेडमास्टर राजेन्द्रप्रसाद आचार्यले मलाई भरत समशेरलाई लेखेको क्षमकुशलको पत्र दिन अर्हाउनुभयो । मैले त्यो पत्र काठमाडौं थापाथलीस्थित भरत समशेरको निवासमा वहाँलाई भेटेर दिएँ । वहाँ बसेको ठूलो दरबारमा बिहानीपखको समय थियो । वहाँ भक्तपुरे भादगाउँले ढाकाको दोलाइँ ओढेर बसिरहनुभएको थियो । पत्र दिएपछि मैले विवरण बताएँ, त्यसपछि कुराहरु अर्कोतिर मोड्दै मैले वहाँको राजनीतिक प्रसङ्गहरु जोड्न चाहेँ । त्यसपछि उनी पड्कदै नेपाली काङ्ग्रेस संवैधानिक राजतन्त्रको पक्षपाती भएकोले मात्र म चुप लागेको नत्र यी शाहहरुलाई किन हामीले राजा मान्ने ? यो देश त उहिल्यै गणतन्त्र भइसक्नु पर्नेथियो । म त गणतन्त्रको पक्षपाती भनेर कुराको बिट मारे । त्यसपछि म फर्कें । अहिले सुन्दैछु कलकत्तामा उहाँलाई भेट्न गएका काङ्ग्रेस, कम्युनिष्टका नेताहरुलाई नेपालमा गणतन्त्र आएकोमा म अरुभन्दा कम खुसी छैन भनेका रहेछन् ।

भरत समशेरको २ साताअघि कलकत्तामा असमायिक निधन भयो । उनले आफ्नो मृत्युअगावै आफ्नो शव मेडिकल कलेजमा दान दिने अठोट रहेको बताएर आफ्नो काजकिरिया नगर्नू भने । उनको इच्छाबमोजिम परिवारजनले शवलाई कलकत्ता मेडिकलमा दान दिए भने कुनै काजकिरिया गरेनन् । भरत समशेरले बाबु मृगेन्द्र समशेरको काजकिरिया गरेनन् । यसरी काजकिरिया नगर्ने नेताहरूमा विश्वेश्वरप्रसाद कोइराला, प्रचण्ड पुष्पकमल दहालहरू परिचित हुनुहुन्छ । भरत समशेरले आफूलाई शुरुदेखि नै आफूलाई अनिश्वरवादी रहेको बताउँदै आएका थिए । उनी पूजापाठ, दशैं, तिहार नमान्ने र ईश्वरसँग विश्वास गर्दैनथे । उनी चाकडीप्रथाको घोर विरोधी थिए । राणा शासन भएको बेलामा उनलाई चाकडी गर्न आउनेहरुलाई फिर्ता पठाउँथे, उनलाई राणाहरुले दिएको खानदानी जर्नेल पद केही दिन खाएर म यस्तो चाकडी गराउने पदमा बस्न योग्य छैन भन्दै पद फिर्ता गरेछन् । उनको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनको एक अध्याय समाप्त भएको छ । उनको निधनमा नेपाली काङ्ग्रेसले शोक व्यक्त गर्दै ३ दिनसम्म कार्यालयहरू बन्द राखेको छ भने १३ औं दिन शोकसभा आयोजना गर्यो । एक सच्चा प्रजातान्त्रिक योद्धा सिपाही शीर्षस्थ नेताको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।