ताप्लेजुङ/उमेरले ६० नाघेका वृद्ध वृद्धादेखि भर्खरै किशोर अवस्थामा प्रवेश गरेका युवा युवतीहरु ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो वैङ्क लाईनमा दिउँसो २ वजे नै भेला भए । शरीरमा दौरा, सुरुवाल, अस्कोट, शिरमा ढाका टोपी र खुट्टामा छालाको जुत्तामा सजिएका लिम्बू समुदायका युवा युवती शिरमा शिरबन्दी, शरीरमा गुन्यू, चोली लगाएर चिटिक्क परेकी युवतीहरु केहि उत्साह र खुसी देखिन्थे । केहि छिन मै उनिहरु गोलो घेरामा उभिए । दायाँबायाँ छेउमा रहेकाको हात समाउनुअघि उनीहरूको थर, गोत्र सोध्न थाले । साइनो नलाग्ने भएपछि त्यही लाइनमा बसे र पालामको भाका हाल्न थाले वृद्ध वृद्धाहरु । फुङलिङ नगरपालिकाका ३० वर्षका भक्त पालुङवाले पनि सोहि विधि अपनाए । हात समाउनुअघि थर, गोत्र मिल्दैन, चेली, माइती होइनौं भन्ने कुराको पक्कापक्की गरिन्छ । लिम्बू समुदायको पुरानो संस्कृतिका रूपमा रहेको धान नाच संरक्षणका लागि आईतवार युवा पुस्तादेखि वृद्धवृद्धासम्म झुमे । सदरमुकाम फुङलिङको पुरानो बैंकलाइनमा गरिएको कार्यक्रममा लिम्बू समुदायलाई पछ्याउँदै अरू जातजातिको पनि धान नाचमा सहभागिता रहेको थियो । लोपोन्मुख संस्कृति धान नाचको संरक्षण तथा नयाँ पुस्तामा यसको सन्देश प्रवाहका लागि लाखे जात्राको अवसरमा प्रत्येक वर्ष धान नाच नाचिन्छ । यसको नेतृत्व किराँत याक्थुम कलाकार मञ्चले गरेको हो ।
धान नाचमा उपस्थित संगिता मादेनका अनुसार उनले जान्दासम्म पनि धान नाचको लोकप्रियता थियो । सदरमुकाममा लाग्ने लाखे जात्रा मेलामा गाउँदेखिका युवायुवती धान नाच्नकै लागि आउँथे । असारको धान, कोदोजस्ता बाली लगाइसकेर पूर्णिमाका दिन सहर पसेका श्रीकृष्ण जन्माष्टमी पर्व मनाएर फर्कन्थे । यो बीचमा सदरमुकामका चोकहरूमा रातभरि धाननाच हुन्थ्यो । विशेषतः पालाममा जितेर युवाले युवतीलाई आफ्नी अर्धाङगनी बनाएर लाने प्रचलन थियो । लामो समय धान नाच्दा युवती आफूले घरजम गर्ने केटा कस्तो छ भनेर अडकलकाट्न भ्याउँने गरेको अनुभव पनि उन्ले सुनाईन् । “पहिले परापूर्व कालमा धान खेति गरेको समयमा भँगेराहरुको हुल नै आएर खान्थ्यो रे, त्यहि वेला भँगेराले दिक्क लगाए पछि यस्को सुरु भएको भन्ने मान्यता छ ।” किँरात याक्थुङ कलाकार मञ्चका उपाध्यक्ष भक्त पालुंवाले भने “ भँगेराले धेरै दुख दिन थालेपछि लिम्बू समुदायका युवा युवती भेला भएर हा...हा.....ए....ए गर्दै गित गाउँथे, त्यहि चलन धान नाचमा परिणत भएको हो ।” पालुंवाका अनुसार लिम्बू समुदायमा कुर्लिने, सुसेलो हाल्ने परम्परा छ । पश्चिमा संस्कृति हाबी भएसँगै परम्परागत संस्कृति लोप हुन थालेपछि यसको संरक्षणका लागि कार्यक्रम गर्न थालिएको मञ्चकी अध्यक्ष सिता मादेन बताउँछिन् । मादेनका अनुसार यो पनि दोहोरीजस्तै हो । एकआपसमा हात समाएर घुम्दा वा नघुमी एकै ठाउँ उभिएर नाच्दा लय मिलाएर निकालिने आवाजलाई पालाम भनिन्छ । यसमा पुरुष महिलाको सवाल(जवाफ चल्छ ।
व्यावहारिकदेखि पारिवारिक र ज्ञानविज्ञानका कुरा पालाममार्फत नै साटासाट हुन्छ । मानवीय जीवनमा भोगिने जन्म, जीवन र मृत्युसम्मका विषयमा सवाल जवाफ पालमको माध्यमवाट हुन्छ । धान नाच्दा कसैले कसैको शरीरमा अञ्जानमा छोए मात्रै पनि अगाडि गएर माफी माग्नुपर्ने चलन छ । धारापँधेरामा नुहाइधुवाइ गर्दादेखि मेलापातमा समेत गुन्जने पालाम र धान नाच लोपोन्मुख हुँदा संरक्षण अभियान थालिएको किराँत याक्थुम कलाकार मञ्चका उपाध्यक्ष संगिता मादेनले वताईन् । “पुराना संस्कार संस्कृतिलाई जोगाउन हामी पनि लागि परेका छौँ ।, युवा युवतीहरुले पनि चासो दिन थालेका छन् ।” मादेन भन्छिन् “अब त जनप्रतिनिधि पनि आएका छन्, उनिहरुले पनि संस्कार संस्कृति जोगाउन विशेष पहल गर्नुपर्छ ।”