आदर्श राज्यका परिकल्पनाकार प्लेटोले शरीर र मस्तिष्कलाई सकेसम्म सुन्दर र पूर्ण बनाउने प्रक्रिया नै शिक्षा हो भनेर व्याख्या गरेका थिए । त्यस्तै हर्वट स्पेन्सरले शिक्षालाई पूर्ण जीवनको तयारी भनेको थिए । यता रुसोले बच्चालाई पूर्ण बनाउने कला नै शिक्षा भनेका थिए । यसैगरी जनवादी क्रान्तिका प्रणेता माओले शिक्षा भनेको समाजका खराबीहरु हटाउने राजनैतिक प्रक्रियागत आन्दोलनको उद्देश्यबाट निर्देशित हुनुको साथै व्यवहारिक हुनुपर्नेमा जोड दिनुभएको थियो । वहाँले उत्पादनको निम्ति गरिने समग्र सङ्घर्षबाट प्राप्त गरिने शिक्षा वस्तुवादी र व्यवहारिक हुने वैज्ञानिक तथ्य पत्तो लगाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने शिक्षा भनेको मूलतः सामन्यबाट उन्नत ज्ञान प्राप्तिको सिलसिला हो । यस अतिरिक्त यो व्यक्तिबाट समग्र समाजलाई पूर्णता दिने प्रक्रिया हो । मानव समाजलाई अझ अर्थपूर्ण, न्यायपूर्ण र समानतातर्फ परिलक्षित अभियान नै शिक्षा हो ।

मान्छेले शिकारी युगमा प्रकृतिसँग सङ्घर्ष गर्ने क्रमबाट नै अनुभवजन्य शिक्षा लिँदै आएको देखिन्छ । प्राकृतिक प्रतिकूलता, अनुकूलता र जीवन व्यवहारसँग अभिन्न रूपमा जोडिएको आवश्यकताहरुको गर्भबाट नयाँ–नयाँ ज्ञान सिक्नु पर्ने बाध्यता थियो । यही अनुभवजन्य ज्ञान ग्रहण गर्ने प्रक्रिया नै तात्कालीन शिक्षा प्राप्तिको माध्यम थियो । एवम् रीतले करिब दश हजार वर्ष पहिलेबाट पशुपालन र खेती प्रणाली प्रारम्भ भयो । यो निरन्तर समाज विकासको ऐतिहासिक द्वन्द्वात्मक प्रक्रियाकै उपज थियो । यस्तो उत्पादन पद्धति विकाससँगै विभिन्न क्षेत्रमा खोज अनुसन्धानले व्यापक गति लिन थाल्यो । यही सिलसिला अन्तर्गत करिब ६ हजार वर्ष अगाडि लेखनको आविष्कार गरियो । योसँगै शिक्षा पद्धतिमा पनि व्यापक खोजी हुन थाल्यो । समाजमा वर्ग अन्तरविरोध बढेसँगै शिक्षा पनि वर्गीय हुन गयो । शासकहरुले आफ्नो वर्गस्वार्थ रक्षामा यसको भरमार दुरुपयोग र अपव्याख्या गर्न थाले ।

वस्तुतः पौराणिक कालमा आजको जस्तो सङ्गठित र योजनाबद्ध शिक्षा पद्धति थिएन । धर्मगुरुहरुको धार्मिक प्रवचन र भजनहरू नै शिक्षाको मूल स्रोत थियो । यता नेपालमा पनि प्रारम्भमा गुरुकुल शिक्षा थियो । यसमा गुरुकै निवासमा गएर निःशुल्क शिक्षा लिने गरिन्थ्यो । गुरुले तोकेको समयावधि समाप्तिसँगै अध्ययन सकिन्थ्यो । पढाइको समाप्तिसँगै गुरुलाई केही गुरुदक्षिणा दिएर चेलाहरु ज्ञान सीप लिएर घर फर्कन्थे । तर यता सामन्तवाद हुँदै पुँजीवादी राजनैतिक पद्धति विकाससँगै शिक्षालाई शासकहरुले आफ्नो वर्गस्वार्थको अनुकूलतामा परिभाषित गर्न थाले । शासक वर्गीय हितमा मात्र शिक्षालाई परिचालन गरियो । परिणामतः शिक्षामा सबै जनताको पहुँच कायम हुन सकेन । यसकारण आजसम्म पनि अफ्रिका र एशियामा झण्डै ५० प्रतिशत छात्राहरु स्कुल जानबाट बञ्चित रहेका छन् । यता अफ्रिकामा अझैसम्म पनि ५० प्रतिशतभन्दा ज्यादा महिलाहरु निरक्षर छन् । यसले शिक्षामा सीमित सम्भ्रान्त वर्गीय पहुँच र गैरन्यायिक चरित्र रहेको प्रष्ट हुन्छ ।

मूलतः आधुनिक शिक्षाको विकाससँगै विश्वमा पुँजीवादी र समाजवादी दुई शिक्षा नीति सतहमा देखापर्यो । कथित प्रजातन्त्रवादी मुलुकहरुले सबैलाई समान शिक्षाको अमुक नारामार्फत् विभेदपूर्ण शिक्षा नीति अपनाए । तर व्यवहारतः धनी–गरिब सबैले समान रूपमा शिक्षा लिने कुरा कल्पनै गर्न सकिन्न । अझ पछिल्लो समय शिक्षालाई निजीकरणमार्फत् नाफा नोक्सानको व्यापार गर्ने माध्यम बनाएसँगै यसले सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको स्वार्थ एवम् हितको प्रतिनिधित्व गर्ने सम्भावना छैन । यो पद्धतिले जनताले शैक्षिक ज्ञान लिने नैसर्गिक अधिकारलाई कुण्ठित गरेको छ । गुणस्तरीय शिक्षा पैसा, पद र शक्तिसँग सौदाबाजी भइरहेको छ । सामुदायिक विद्यालयहरु रक्षात्मक देखिन्छन् भने निजी विद्यालयहरु हावी बन्दैछन् । यसले एउटै खास समाजमा दुई खालको जनशक्ति उत्पादन गरिरहेको छ । यस्तो विभेदपूर्ण प्रणालीबाट समानता र सामाजिक न्यायमा आधारित समाजवादी शासन व्यवस्था असम्भव हुन्छ । यसकारण वैज्ञानिक र न्यायिक शिक्षा पद्धति बारे बहस जरुरी देखिन्छ ।

यतिखेर आम प्रश्न छ कि समाजवादी शिक्षा पद्धति चाहिँ कस्तो हुन्छ ? पुँजीवादी र समाजवादी शिक्षा प्रणालीमा के कस्ता भिन्नताहरु छन् ? प्रथमतः समाजवादी शिक्षा प्रणाली समाज विकासको ऐतिहासिक प्रक्रिया अनुरुप अङ्गीकार गरिन्छ । यसको समग्र उद्देश्य उन्नत र न्यायपूर्ण समाज रुपान्तरणमा केन्द्रित हुन्छ । यसमा पुँजीवादमा जस्तो द्वैधशिक्षा नीति हुँदैन । धनी र गरिब भएकै कारण पढ्ने ठाउँ, विषय र तरिका फरक हुँदैन । यसमा नीतिगत मात्र होइन, व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिन्छ । यो योजनाबद्ध तथा रणनैतिक उद्देश्यतर्फ परिलक्षित हुन्छ । आम नागरिकहरूलाई समाजवादी मूल्यद्वारा प्रशिक्षित गरिन्छ । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र सँस्कृतिद्वारा निर्देशित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरुको राजकीय रूपमै खोजी गरिन्छ । यसको समाधनका उपायहरुमा गम्भीर छलफल हुन्छ । पुँजीवादमा पनि सबैलाई पढ्ने समान अवसर रहेको नीतिगत र ऐनगत व्यवस्था त गरिएको हुन्छ । तर महँगो हुनाले सबैले गुणस्तरीय शिक्षा लिन सक्दैनन् । यसमा राज्य बेखबर बस्दछ ।

दोस्रो, समाजवादी शिक्षा प्रणालीमा राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । शिक्षामा पूर्णरूपमा राजकीय दायित्व सुनिश्चित गरिन्छ । राज्यले शिक्षा आर्जन गर्ने जनताका अधिकारको असली पहरेदारको भुमिका खेल्दछ । यसमा नाफा र कमाउमुखी लगानीहरुलाई निश्तेज गरिन्छ । राज्यको कमाण्ड अन्तरगत उत्पादनमुखी र वैज्ञानिक एउटै शिक्षा प्रणाली हुन्छ । सामाजिक र सामूहिक हित बाहेकका लगानीहरुलाई निरुत्साहित गरिन्छ । शिक्षा क्षेत्रलाई निहित स्वार्थ, व्यापार र व्यवसायको रूपमा नभएर राष्ट्रिय आवश्यकता अन्तर्गत नागरिकहरुको समान सामाजिक अधिकारको रूपमा लागू गरिन्छ । स्वास्थ्य, रोजगारी, आवास, खाद्य सम्प्रभुता जस्तै शिक्षालाई पनि मौलिक अधिकारको रूपमा अङ्गीकार गरिन्छ । वस्तुतः समाजवादमा हरेक नागरिकहरुले आफ्नो मौलिक अधिकारहरूको समान, सम्मान र न्यायपूर्ण ढङ्गले उपभोग गर्न पाउँदछ । समाजवादको सबैभन्दा वैज्ञानिक, न्यायिक, विवेकशील र मानवीय उन्नत पक्ष यही हो । तेस्रो, समाजवादी शिक्षामा पुँजीवादमा जस्तो पैसा, पहुँच, प्रभाव र शक्तिको आधारमा शिक्षा पाउने नैसर्गिक अधिकारलाई सीमित गरिँदैन । यसमा राष्ट्रको रणनैतिक उद्देश्य र ऐतिहासिक प्रक्रियागत आवश्यकतालाई सहयोगी हुने वा राष्ट्रको आवश्यकताको आधारमा पाठ्यक्रम निर्धारण गरिन्छ । समाज रूपान्तरणको प्रक्रियामा आधारित प्रगतिशील शिक्षा नीति अङ्गीकार गरिन्छ ।

अर्थात्, समाजवादी मूल्य र मान्यताहरुलाई स्थापित गर्दै साम्यवाद जस्तो उन्नत र सभ्य सामाजिक सत्ताको लागि आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित हुन्छ । भन्नुको मतलव समाजवादी शिक्षामा पुँजीवादमा जस्तो नाफा, एकाधिकार, व्यापार र व्यवसायमुखी असमान र गैरन्यायिक शैक्षिक अवधारणा सोच्नै सकिन्न । यदि त्यसो भए त्यो वस्तुतः समाजवादी शिक्षा नीतिभित्र पर्दैन । व्यक्तिगत हित र स्वार्थको ठाउँमा आधारभूत रूपमै सामूहिक र सामाजिक स्वार्थको माक्र्सवादी स्कुलिङको आमरूपमा अभ्यास गरिन्छ । जनवाद, समाजवाद, उच्चतम् समाजवाद हुँदै साम्यवादमा जाने रणनैतिक उद्देश्यमा समग्र शिक्षा पद्धति निर्दिष्ट गरिन्छ । कुनै पनि खालको हेलाहोचो, विभेद र उत्पीडनको कल्पनै गर्न सकिन्न । यो समानता र न्यायमा आधारित हुन्छ ।

चौथो, यसमा पुँजीवादमा जस्तोः पैसा, पद, पावर र प्रभावको भरमा विद्यार्थीलाई जुनकुनै पनि विषय पढ्न बाध्य गरिँदैन । यसमा उनीहरुको रुची, क्षमता र राष्ट्रिय आवश्यकताको प्राथमिक सवालहरु संयोजन गरिन्छ । बाल मनोविज्ञान, जन्मजात क्षमता, सीप र कलाको आधारमा खास बालकको खास मनोविज्ञान अनुरुप विषय छनौट गरिन्छ । यसको निर्धारण बाल विशेषज्ञहरुले गर्दछ । सानै उमेरबाट उनीहरुको गहिरो अध्ययन गरी समाजवाद निर्माणको प्राथमिक पक्षहरुलाई सहयोगी हुने ढङ्गले विषयवस्तुहरु छनौट गरिन्छ । वास्तवमा समाजवादी शासन पद्धतिमा सामूहिक, सामाजिक तथा राजकीय स्वार्थको लागि हरेक नागरिकहरुबाट अधिकतम् श्रम, ज्ञान, सीप र विशेषज्ञता लिने गरिन्छ । पुँजीवादमा पनि श्रम वा काममा लोभ गरिन्छ तर यो नितान्त व्यक्तिगत निहित स्वार्थ र सम्भ्रान्त वर्गीय हितमा हुने गर्दछ । तर समाजवादी श्रमको अधिकतम् उपयोग निश्चित रूपमै समग्र मानव समाजको हित र स्वार्थमा आधारित हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति व्यवहारिक देखिन्छ ।

त्यसैले पुँजीवादी गैरन्यायिक र असमान शैक्षिक पद्धतिको व्यवहारिक तथा वैज्ञानिक विकल्प समाजवादी शिक्षा प्रणाली हो । पुँजीवादी शिक्षा नीति विभेदपूर्ण मात्र हुँदैन । नाफामूलक व्यवसाय र व्यापारमा आधारित हुन्छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकास अनि विश्वमा आएको लोकतान्त्रिक जागरण आन्दोलनको बावजुद पनि शिक्षामा समान अवसर स्थापित भएको छैन । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले शिक्षामा समान पहुँच कायम गर्न सकेका छैनन् । आज पनि अफ्रिकामा झण्डै डेढ करोड छात्राहरु विद्यालय जान सकेका छैनन् । झण्डै दुई तिहाई महिलाहरु निरक्षर छन् । त्यस्तै अफ्रिकामा एक करोड बीस लाख र एशियामा झण्डै डेढ करोड विद्यार्थीहरु प्राथमिक तह पूरा नगरी नै विद्यालय छाड्न बाध्य छन् । व्यवसायिकीकरण र व्यापारीकरणकै कारण शिक्षा महँगो भएको छ । सबैले गुणस्तरीय शिक्षा लिने वस्तुगत अवस्था छैन । तर समाजवादमा पैसा र पावर नभएकै कारण डाक्टर, इञ्जिनियर र पाइलट पढ्न नपाउने भन्ने हुँदैन ।

तसर्थ, निजी नाफामुखी शिक्षालाई समाजवादी शिक्षा पद्धतिले विस्थापन गर्न जरुरी छ । सामाजिक र सामूहिक मनोविज्ञान र सँस्कृतिको विकाससँगै समाजवादी शैक्षिक सँस्कृति स्थापित गर्नु पर्दछ । शिक्षामा राज्यले पूर्ण दायित्व लिनु पर्दछ । रुची र क्षमतालाई आधार बनाउनु पर्दछ । विशेष गरेर समाज विकासको ऐतिहासिक प्रक्रियालाई आवश्यक पर्ने जनशक्ति निर्माणमा आधारित हुनुपर्दछ । अर्थात् राज्यको आवश्यकतासँग शिक्षा नीति एकाकार हुनु पर्दछ । निहित स्वार्थ र निजीपनमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई निरुत्साहित गर्नु पर्दछ । व्यक्तिगत स्वार्थ र योजनामा विदेश गएर पढ्ने सँस्कृतिलाई निश्तेज गर्नु पर्दछ । राज्यको राष्ट्रिय स्वार्थ र योजनामा मात्र युवा विद्यार्थीलाई विदेश पठाउनु पर्दछ । शहर केन्द्रित शैक्षिक स्रोतसाधन र जनशक्तिलाई दुर्गम गाउँबस्तीमा पुर्याउनु पर्दछ । यद्यपि यो समाजवादी शिक्षा प्रणालीमा मात्र सम्भव हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति नै न्यायिक पद्धति हो ।