नसर्ने रोगहरू जस्तैः मुटु, कलेजो, थाइराइड ग्रन्थी, हाडजोर्नी, स्नायु प्रणाली आदिका रोगीहरु बढ्दै गएको तथ्याङ्कहरुले देखाउँछ । यसैको आधारमा नेपाल सरकारले भावी स्वास्थ्य योजनाहरुमा सर्नेभन्दा नसर्ने रोगहरुको रोकथाम वा उपचारलाई उच्च प्राथमिकतामा राखेर योजना बनाइरहेको देखिन्छ । त्यसैअनुरुप स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अनुसन्धानहरूको प्राथमिकता सूचीकृत गरेको पाइन्छ र यो सत्य पनि हो । तर यी नसर्ने रोगहरु बढ्नुको पछाडि सरुवा रोगहरूको पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो हात हुने गर्छ भन्ने कुरामा नेपालमा मात्र होइन, विश्वमा नै खासै चर्चा गरेको वा गहिरिएर चासो तथा अध्ययन भएको पाइँदैन ।‘लाइम रोग’ एउटा यसको बलियो उदाहरणको रूपमा लिन सकिन्छ । सङ्क्रमण भएको महिनौंपछि बिरामीहरु विशेष गरेर मुटु, हाडजोर्नी, स्नायु प्रणालीमा देखिने रोगहरू विकसित हुने गर्छ । त्यसपछि बिरामीहरू ती रोगका विशेषज्ञहरूकोमा जाने गर्दछन् । लामो समयको अन्तरालपछि देखिने भएकोले सङ्क्रमितहरुले पनि यो रोगको लक्षणहरूले बिर्सिसकेका हुन्छन् ।
नेपालमा भने यो रोगको अवस्था नै थाहा थिएन केही समयअघिसम्म । तर केही महिनाअघि मेरो नेतृत्वमा भएको एक अनुसन्धानले नेपालमा पनि लाइम डिजिज रहेको प्रमाणित गरेको थियो । यो नै नेपालमा लाइम डिजिज देखिएको पहिलो रिपोर्ट पनि हो । इकजोडिस (क्ष्हयमभक)प्रजातिको किर्नाको टोकाइको कारणले लाइम डिजिज हुने गर्दछ । नेपालमा यो किर्ना रहेको वर्षौं अगाडिको प्रकाशित लेखले देखाउँछ अर्थात् यो रोग नेपालमा वर्षौंदेखि अपरिचित रूपमा रहेको सहजै अनुमान गर्न सकिन्छ । यो किर्ना कम्तिमा पनि २४ घण्टा बढी मानिसको शरीरमा टाँसिएमा सङ्क्रमित हुने सम्भावना बढ्दै जान्छ र तेस्रो दिनसम्म पनि त्यो किर्नालाई ननिकालेमा शतप्रतिशत लाइम डिजिज हुने सम्भावना हुन्छ ।
यसले टोकेको तीन ९३० देखि तीस ९३०० दिन भित्रमा एक प्रकारको रातो गोलो घेरा भएको आकृति छालामा देखिने गर्दछ । जसको बीच भागमा भने खाली हुन्छ, जसलाई ‘एरिथेमा माइग्रेन’ नामले चिनिन्छ । यो लगभग असी (८०५) प्रतिशत सङ्क्रमितहरूमा देखिने गर्दछ । यो लाइम डिजिज पहिचान गर्ने सबै भन्दा बलियो आधार हो। यो बाहेक ज्वरो, जिरिङ्ग हुने, टाउको दुख्ने, आलश्य हुने, जोर्नी दुख्ने, लिम्फ ग्रन्थी सुन्निने आदि यसका लक्षणहरु हुन् । यी माथिका लक्षणहरु देखिएको अवस्थामा उपचार नगरे यसबाट विभिन्न जटिलताहरु देखिन सुरु हुन्छन्। यसमा विशेष गरेर मुटुको चालमा अनियमितता, घुँडाका जोर्नीहरु दुख्ने, हातखुट्टाहरु झम्झममाउने, अत्यधिक टाउको दुख्ने र घाँटी कडा हुने, अनुहारका मांसपेशिकाहरू कमजोर हुनु वा लत्रिनु, बिर्सिने बानी वा लामो समय याद वा सम्झना गर्न नसक्नु, टाउकोको सुजन हुने आदि नसर्ने रोगहरु देखिन शुरु हुन्छन् । यस्ता बिरामीहरु विशेषज्ञहरूसँग परामर्श वा उपचार गर्न पुग्ने गर्दछन् ।
सङ्क्रमणको पहिलो तीस दिनभित्र पहिचान गर्नसके सामान्य औषधि सेवन गरे निको हुन्छ भने पछि देखिने जटिलताहरुको लागि पनि एन्टीबयोटिकहरु विशेषज्ञको विशेष प्रयोग गर्नु पर्दछ । उपचार गरे पनि केही प्रतिशत बिरामीहरुमा ६ महिनापछि पनि विभिन्न स्वास्थ्य समस्याहरू निरन्तर देखिन सक्दछ । यसलाई पोष्ट ट्रिटमेन्ट लाइम डिजिज 'एत्ीम्' भनिन्छ । जोर्नी र मांसपेशिका दुखिरहनु, सुत्न नसक्नु, बेचैनी हुनु र एकदम थकित हुनु पोष्ट ट्रिटमेन्ट लाइम डिजिजका केही लक्षण हुन् । नियमित जाँच अन्तर्गत यसको परीक्षण गर्ने गरिँदैन । तसर्थ लक्षण अनुसार बिरामीहरु विशेषज्ञहरूकोमा जाने गर्छन् ।
लाइम डिजिजको पहिचान गर्ने क्राइटेरिया पुर्याउन गरिने ल्याव परीक्षणहरु सहजै उपलब्ध नहुने भएकोले नेपालमा यसको निश्चित निदान हालसम्म गर्ने गरिएको थिएन । यो पंक्तिकारको सम्पर्कमा मानिसहरू स–साना किर्नाहरुले टोकेर परामर्शका लागि आउने गरेका छन्, जसमध्ये लाइम डिजिज पनि नहोला भनेर भन्न सकिँदैन । यो अमेरिका र युरोपमा सबैभन्दा बढी रिपोर्ट हुने कीटजन्य रोग हो । र यसको जटिलताबाट हुने स्वास्थ्य समस्याको कारणले नेपाल आउने पर्यटकहरुले लाइम डिजिजको बारेमा विशेष चासो लिएको पाइन्छ । तपाईंलाई पनि ज्वरो, जिरिङ हुने, टाउको दुख्ने, आलश्य हुने, जोर्नी दुख्ने, लिम्फ ग्रन्थी सुन्निने आदि यसका लक्षणहरुका साथसाथै शरीरको छालामा रातो गोलो औँठी आकारको तर दुई गोलाकार आकृतिहरूका बीचमा खाली भए होसियार हुनुहोस् । त्यो लाइम डिजिज पनि हुन सक्छ । (डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।) साभारः स्वास्थ्यखबरबाट