भद्रपुर/दशवर्षे सशस्त्र द्वन्द्वमा झापाका १८ जना हालसम्म बेपत्ता छन् । बेपत्ता परिवार उनीहरू फर्किने आशामा वर्षौं व्यतित गरिसकेका छन् । द्वन्द्वमा एकहजार ३ सय ३३ जना व्यक्ति बेपत्ता बनेका थिए । नेपाल रेडक्रस सोसाइटी र आइसीआरसीले सशस्त्र द्वन्द्वको क्रममा उल्लेखित सङ्ख्या बेपत्ताको सूचीमा रहेको जनाएको छ । सशस्त्र द्वन्द्व तथा बसाइ सराइ जस्ता कारणले परिवारसँग सम्पर्क विच्छेद भई बेपत्ता हुने क्रम बढ्दो छ । यसै क्रममा झापाबाट राजेन्द्र घिमिरे, राजेन्द्र चौंलागाईं, रमेशकुमार ढुङ्गेल, शान्तीराम भट्टराई, धीरेन्द्र बस्नेत, सम्झना अधिकारी, मिश्री धिमाल बेपत्ता पारिएका छन् । त्यसैगरी तारा रिजाल, जना सुवेदी, चतुरमान सिंह राजवंशी, सुरेश कुमार पोखरेल, पुष्पराज बस्नेत, जगन्नाथ बास्कोटा, चैतन्य मेचे, राजकुमार मेचे, इन्द्रलाल ढकाल, उदयकुमार श्रेष्ठ र हेमलाल सुवेदीलाई बेपत्ताको सूचीमा राखेको रेडक्रस झापाले जनाएको छ । यिनीहरुलाई तात्कालीन राज्यपक्ष र विद्रोही पक्षले बेपत्ता बनाए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।
धान मिलमा काम गरिरहेको समयमै श्रीमान्लाई बेपत्ता बनाएको श्रीमती कल्पना सुवेदीले बताइन् । गत ०६० साल माघ ३० गते बिहान घरैबाट लगेर हालसम्म श्रीमान्को कुनै अत्तोपत्तो नभएको उनले सुनाइन् । तात्कालीन माओवादीले लगेको शङ्का गर्दै आएकोमा पछि नलगेको सार्वजनिक गरेपछि राज्यपक्षले बेपत्ता पारेको उनले दाबी गरिन् । जे जस्तो अवस्थामा भए पनि उनको सार्वजनिक हुनुपर्ने उनले माग गरिन् । बेपत्ता पारिएको पन्ध्रवर्ष पुगिसके पनि श्रीमान्को अवस्था थाहा नपाउँदा रातदिन रोएर बस्नुपरेको उनले दुःख पोखिन् । त्यस्तै पीडा छ पूजा खनालको पनि । उनका श्रीमान्लाई राज्यपक्षले ०५९ पुस १३ गते भारतको सिलिगुडी रेल्वे स्टेशनबाट माओवादीको आरोपमा पक्राउ गरेको जनाइन् । पक्राउ परेकै दिन मध्यराति झापाको चारआली ब्यारेकमा ल्याए पनि हालसम्म सार्वजनिक नगरेको उनले सुनाइन् । पटक–पटक सेनासँग जानकारी लिँदा श्रीमान्लाई पक्राउ नगरेको दाबी गर्दै आएको उनले सुनाइन् । वर्षमा एकपटक बेपत्ता दिवसमा सहभागी हुँदै आएको उनको भनाइ छ । ‘कि लास कि सास चाहियो’ –उनले भनिन् ।
प्रत्येक वर्ष अगष्ट ३० तरिकमा नेपाल लगायत विभिन्न देशमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले अन्तर्राष्ट्रिय बेपत्ता दिवसको आयोजना गरी बेपत्ता भएका व्यक्तिहरूको स्मरण गरी पीडकलाई मलहम पट्टी लगाउने काम गर्दै आएका छन् । दिवसका अवसरमा द्वन्द्वमा संलग्न पक्ष र सम्बन्धित अधिकारीहरूलाई परिवारले आफन्तहरूको अवस्थाका बारेमा जान्न पाउने दिनका रूपमा लिने गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारले जान्न पाउने अधिकारको सुनिश्चितता अन्तर्राष्ट्रिय मानवीय कानूनले गरेको छ । सयौं व्यक्तिहरूको स्थिति र अवस्थाका बारेमा यथार्थ जानकारी खुल्दै गएको भए पनि अझै धेरै व्यक्तिहरू बेपत्ता नै रहेको नेपाल रेडक्रस झापा शाखाका सभापति लोकाज ढकालले बताए । बेपत्ता व्यक्तिहरूको परिवारको आवश्यकतालाई मध्यनजर राखी रेडक्रसले पहलकदमी गर्दै आएको अध्यक्ष ढकालको भनाइ छ । बेपत्ताका घटनाले परिवारको दैनिक जीवनमा दीर्घकालीन रूपमा आर्थिक, सामाजिक र कानूनी कठिनाइहरू उत्पन्न गराएको उनले बताए ।
बेपत्ताहरूका सवालमा कार्य गर्नका लागि गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनपछि पनि रेडक्रसले बेपत्ता व्यक्तिहरुको परिवारलाई निन्तर भेटघाट गरी सूचना आदान–प्रदान एवम् अद्यावधिक गर्ने काम गर्दै आएको उनले जानकारी दिए । विश्व बेपत्ता विरुद्धको दिवसका दिन बिहीबार साँझ ६ बजे झापाको बिर्तामोडमा रेडक्रस झापाले बेपत्ताहरुको सम्झना गर्दै मैनबत्ती र विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।