देउराली । बलियोबाङ्गो छँदा गाउँलेका घाँसका भारी थुपारिदिन्थे । दाउराका चाङ लाइदिन्थे । खेतबारीका डल्ला फोर्थे । धानका भारी बोक्थे । उमेर छउञ्जेल ज्ञानबहादुर श्रेष्ठले बनिबुतो गरेर जीवनयापन गरिरहे । ६० वर्षसम्म पनि तन्नेरीझैँ बलबैंसका काम गरे । विडम्बना, जङ्गलका दाउरा बोक्ने क्रममा दश वर्ष अघि ढाड खुस्कियो । ‘जीवन जिउने तरिकै खुस्कियो ।’ ज्ञानबहादुर भन्छन् ।

बेलामा उपचार पाएनन्, ज्ञानबहादुरले । उपचार नभएपछि ढाड कुप्री पर्यो । असक्त ज्ञानबहादुरले गाउँका काम पनि पाउन छाडे । धरान– ५ देउराली सुन्दर बस्तीमा अर्काकै घरमा बसोबास गर्दै आएका विपन्न ७३ वर्षीय ज्ञानबहादुर अहिले मजदुरी गर्न सक्दैनन् ।

सड्किएको ढाडले काम गर्न दिँदैन । सेउती खोला किनारमा असक्त ज्ञानबहादुर बालखा छोरी र सुस्तमनस्थितिकी श्रीमतीका लागि सकी–नसकी गिट्टी कुटिरहेकै थिए । दुईचार पैसो आर्जन गरिरहेका थिए । तर, ज्ञानबहादुरजस्ता विपन्नका लागि सरकारी नीति बाधक बन्यो । नेपाल सरकारले बर्खाका चरमहिना खोला तथा नदी जन्य वस्तुको उत्खनन्मा लगाएको रोकसँगै ज्ञानबहादुरको परिवारको रोजिरोटीमा पनि रोक लाग्यो । ‘बूढो भइयो ढाड पनि सिधा हुँदैन, ज्याला मजदुरीमा पनि कसैले बोलाउँदैनन्, खानै नपाएर मरिने भइयो,’ श्रेष्ठ भन्छन्, ‘बिरामी भइरहन्छ उपचार गर्न सक्दैनौँ, सहयोग गरिदिने कोही भए बाँच्ने थियौँ ।’

पेटपालोकै लागि ज्ञानबहादुर अहिले स्थानीयका घरदैलोमा माग्दै गरेको भेटिन्छन् । ‘खोला बन्द भएको चार महिना नेवार बाजेको पेशा नै मागिहिँड्ने हो,’ स्थानीय इन्द्र कार्कीले भने, ‘बाजेको विजोग छ, स्थानीय सरकारले हातमुख जोर्ने वातावरण मिलाइदिए भलो हुन्थ्यो ।’

ज्ञानबहादुरले दुई छाक टार्ने मेलो बनाइदिन याचना गरेका छन् । वृद्ध भएको र शारीरिक रुपमा पनि असक्त भएका कारण मजदुरी गर्न नसक्ने भएपछि उनले यस्तो याचना गरेका हुन् । उनको परिवारमा ४५ वर्षीय बोल्न पनि नसक्ने सुस्त मनस्थितिकी श्रीमती र ८ वर्षिया छोरी छन् ।