बेलबारी/नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको पार्टी समायोजन प्रक्रियालाई अन्तिम रूप दिन अहिले जिल्ला र क्षेत्रमा नेताहरू खटिन थालेका छन् ।  तर समायोजन प्रक्रियामा हिजो जनयुद्धमा प्रत्यक्ष सहभागी भएका नेता कार्यकर्ताहरूलाई नसमेटिएको भन्दै माओवादी केन्द्र मोरङका जिल्ला नेताहरूले तीव्र असन्तुष्टी व्यक्त गर्न थालेका छन् । माओवादी केन्द्र मोरङका केही जिम्मेवार पार्टी नेताहरू नसमेटिएपछि असन्तुष्टीहरू बाहिर आउन थालेका छन् । जनयुद्धमा सहभागी भएका मोरङमा दर्जनौं नेता तथा कार्यकर्ता जिल्ला सदस्यमा नपरेपछि उनीहरूको आक्रोस बढिरहेको छ । मोरङ बेलबारी–१० लक्ष्मीमार्गका सुरेश किराती युद्धकालमा मोरङ जनसरकारका उपप्रमुख थिए । २०५६ सालदेखि नै पार्टीमा आबद्ध किराती २०५९ सालदेखि पूर्णकालीन भएका थिए । उनी पछिल्लो समय माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजकमा पनि परे । चौध सय जनाको सम्मेलन आयोजक समिति बनाउँदा उनको नाम परेको थियो । तर सात हजार जनाको नाम जिल्ला सदस्यमा परे पनि किरातीले आफ्नो नाम नपरेको गुनासो गरे ।

त्यस्तै सुन्दरहरैंचामा बसोबास गर्दै आएका किरण राई पनि जनयुद्धको सैन्यफाँटमा काम गरेर आएका पूर्व लडाकु हुन् । उनी बटालियन भिसी पनि थिए । धेरैवटा युद्धको मोर्चा सम्हाल्ने क्रममा उनी घाइते पनि भए । उनी अहिले सुन्दरहरैंचामा साधारण जीवनयापन गरिरहेका छन् । उनी राष्ट्रिय सम्मेलन आयोजक समितिमा परे पनि अहिले नेकपाको जिल्ला समितिमा उनको नाम परेको छैन । पार्टीले विगतको योगदानलाई कदर नगरेको भन्दै उनले गुनासो पोखे । माओवादी आन्दोलनभन्दा बाहिरकाहरूलाई जिम्मेवारी दिएको कारण अहिले हिजोका जनयुद्धमा प्रत्यक्ष सहभागी भएकाहरू पाखा लागेको उनको गुनासो छ । राईको प्रश्न छ, ‘आज जिल्ला सदस्य पद खोज्नेहरू हिजो जनयुद्ध भइरहँदा कहाँ थिएँ ?’ त्यसैले हामीलाई पार्टीले केही दिनु पर्दैन तर ज्यानको बाजी थापेर सबथोक त्यागेर हामी युद्धमा होमिएकाहरूको सही मूल्याङ्कन हुनुपर्छ ।’ सुरेश किराती र किरण राईजस्ता धेरै योद्धाहरू छन् मोरङमा । जो पार्टीमा लामो समयसम्म लागे । पार्टीको सिद्धान्त, मूल्य मान्यता र आदर्शमा रमाए । जनयुद्धमा प्रत्यक्ष सहभागी भएर पार्टी र राजनीति नै सबथोक भनेर लागे । तर जिम्मेवारी लिने बेलामा पार्टीले नसम्झिएकोप्रति उनीहरूले दुःखेसो पोखे ।

हिजो जनयुद्धको चरम उत्कर्ष भएको बेला मृत्यु कि त मुक्ति भनेर लागेका आफूहरूलाई पार्टीले बेवास्ता गरेको किरातीको आरोप छ । ‘पार्टीका लागि भनेर हामीले सबै त्याग्यौं, घर–परिवार त्याग्यौं । तर पार्टीको काम कारबाही चित्त बुझ्दो भएन’ –उनले भने । अहिले माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताहरूले भेलाको तयारी गरिरहेको उनले बताए । पार्टीले गुनासो व्यवस्थापन गर्न नसकेको कारण त्यसलाई भेलाबाट निष्कर्ष निकाल्ने तयारी भइरहेको उनीहरू बताउँछन् । यसरी जिल्ला सदस्यमा छुट्नेहरू अधिकांश युद्ध लड्ने माओवादी नेताहरू रहेका छन् । क्रान्तिकारी माओवादीको तर्फबाट सुन्दरहरैंचा, केराबारीबाट जिल्लामा शून्य उपस्थिति रहेको छ । पार्टीले असन्तुष्ट कार्यकर्ताहरूको गुनासो सुनुवाइ गर्नको लागि केही नेताहरूलाई खटाएको छ । मङ्गलबार बेलबारीमा असन्तुष्ट पक्षहरूलाई भेला गरी सान्त्वना दिलाउने कार्यक्रम राखे तापनि नेतृत्वको अनुपस्थितिमा कार्यक्रमले सार्थकता पाएन । कार्यकर्ताहरूको तीव्र असन्तुष्टिको विषयमा नेकपाका प्रस्तावित जिल्ला सेक्रेटरी गणेश उप्रेती सुशीलले माओवादी केन्द्रबाट आउने सबैलाई योगदानअनुसार कुनै न कुनै तहमा समेट्ने बताए ।