एकै प्रकारका या धेरै प्रकारका कोषहरूको अनियन्त्रित वृद्धि हुनु र शरीरको या शरीरलाई चाहिने पौष्टिक तत्वहरूको सेवनका साथै शारीरिक वृद्धि विकासलाई रोकेर शक्तिहीन बनाई मृत्युवरण गाराउने नसर्ने प्रकारको रोगलाई क्यान्सर अथवा अबुर्द रोग भनिन्छ । यो रोग कुनै पनि उमेरका मानिस र शरीरका कुनै पनि अङ्गमा देखापर्न सक्छ । नसर्ने प्रकृतिको यो रोग विश्वमा नै महामारिको रूपमा आइरहेको छ । यो रोगले आजको विकसित औषधि विज्ञानलाई पनि चुनौती दिएको छ ।

साधारणतया हरेक जीव अनि वनस्पतिमा कोषको विभाजन भइरहने कारणबाट नै हामी सानोबाट ठूलो हुने अनि उमेरसँगै नयाँ कोषको वृद्धिमा कमी हुने र शरीरका अङ्गहरू पनि केही निस्किृय हुँदै जाँदा हामी बूढो हुन्छौँ । यसरी नयाँ कोषको विकास हुनु र पुराना कोषको मृत्यु हुनु सामान्य हो । यो साधारण प्रकृया हो र जीवन मृत्यको चक्र पनि हो । तर, क्यान्सर रोगमा भने शरीरलाई नचाहिने कोषहरूको अनावश्यक र चाँडोचाँडो विकास हुने तर ती कोषहरूको मृत्यु नहुने हुँदा हाम्रो शरीरलाई चाहिने आवश्यक प्रोटिन, भिटामिन खनिज र हर्मोनजस्ता तत्वहरूलाई यिनै कोषहरूले खाने गर्छन् या निस्क्रिय गर्छन् । र, चाँडो–चाँडो कोष विभाजन पनि हुने गर्छन् । फलस्वरुप हाम्रो शरीरका नियमित र सामान्य कोषहरूको विकासमा कमी आउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि घटेर जान्छ । यसको फाइदा उठाउँदै ती अनियन्त्रित कोषहरूको विकासमा अझै तिव्रता आउँछ र शरीरका अन्य स्थानमा पनि क्यान्सरका कोषहरू फैलिँदै जान्छन् । यो अवस्थालाई मेटास्टेसिस भनिन्छ । यो अवस्थामा रोगी धेरै कमजोर भइसकेको अवस्था हुन्छ । र उपचार पनि जटिल हुन्छ र निको हुने सम्भावना पनि कम हुन्छ ।

प्रश्न उठछ, कस्ता खालका कोषहरूलाई या सङ्केतहरूलाई क्यान्सर रोग लागेको भनिन्छ ? शरीरका कुनै पनि भागमा देखिएका गाँठागुठी, हड्डीमा देखिने अस्वभाविक वृद्धि र दुखाई, अस्वभाविक खोकी अनि रगत वान्ता, शरीर सुक्दै जानु, महिलाहरूको योनीबाट अस्वभाविक रगत या फोहोर पानी बग्नु, तल्लो पेट दुख्नु, स्तनमा अस्वभाविक गाँठागुँठी देखापर्नु, पुरुषहरुमा पिसाब फेर्दा दुख्नु पोल्नु रगत देखापर्नु, खाना निल्न कठिन हुनु, बारबार अड्किनु खाना अरुची हुनु, रगत मिसिएको वान्ता हुनु, पेट पोल्नु दुख्नु, बारबार रगतको कमी हुनुजस्ता विभिन्न लक्षणहरू देखा पर्न सक्छन् या सङ्केत देखापर्न सक्छन् । यसरी नै बारबार टाउको दुख्ने, भारी हुने, रिँगटा लाग्ने, वाकवाकी आउने या वान्ता हुनेजस्ता लक्षण मस्तिष्क क्यान्सरका लक्षण पनि हुन सक्छन् । माथि भनिएका लक्षणहरू सबै क्यान्सर रोगका लक्षण नै भन्ने चाहिँ हुँदैनन् । अन्य विभिन्न रोगका लक्षण पनि यस्तै प्रकृतिका हुनसक्छन् । मात्र यस्ता खालका अस्वाभाविक लक्षण देखिएमा सचेत रहनुपर्ने या चिकित्सकसँग परामर्श लिनु उचित हुने कुरा मात्र राखिएको हो ।

अर्को कुरा भनेको सबैखाले गाँठागुँठी क्यान्सर हुँदैनन् । मानिसको शरीरमा देखापर्ने गाँठागुँठी मध्ये कम्ती मात्रै क्यान्सरका सङ्केत बोकेका हुन्छन् । त्यसैले विशेष गरेर औषधि विज्ञानले गाँठागुँठीलाई २ भागमा बाँडेको छ । एउटा क्यान्सर जन्य गाँठागुँठी र अर्को नन क्यानसर जन्य गाँठागुँठी अथवा क्यान्सर नहुने प्रकारका गाँठागुँठी । डाक्टरको उपचारसम्म नपुगेका या पुगेर पनि क्यान्सर नहुने लक्षण भएका धेरै प्रकारका गाँठागुँठी या हड्डी बढेका मानिसहरूदेख्न सकिन्छ । त्यसैले यदि कसैलाई माथि भनिएका लक्षण र चिह्न देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर जँचाएर ढुक्क भएर बस्नु उचित हुन्छ । यदि क्यान्सको नै शङ्का लागेमा या बिरामीलाई पीडा भएमा तुरुन्तै क्यान्सर रोगको उपचार हुने अस्पताल जस्तै बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुरलगायतका केही ठूला अस्पतालमा पनि क्यान्सरको उपचार हुन्छ । यसमा पनि जान्नै पर्ने कुरा के छ भने यदि क्यान्सर भएको प्रमाणित भयो भने डाक्टरको र स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले एक लाखसम्मको सहयोग दिँदै आएको छ । यदि क्यान्सरको शुरु अवस्थामै अस्पताल पुग्ने हो भने एक लाखभन्दा पनि कमै खर्चले उपचार हुनसक्छ । त्यसैले अन्य अस्पताल या क्लिनिकमा जचाउँदा क्यान्सरको शङ्का लाग्ने बित्तिकै सही ठाउँमा पठाउनु पर्छ । र, यो हरेक चिकित्सक या स्वास्थ्यकर्मीको कर्तव्य पनि हो ।

अब लागौँ क्यान्सर लाग्ने कारणहरु तर्फ । आजका दिनसम्म आइपुग्दा क्यान्सर यही कारण या यही किटाणु या विषाणुका कारणले हुन्छ भन्ने यकिन तथ्य पत्ता लागेको छैन । अहिलेसम्मको अध्ययन र बिरामीहरूको जीवनशैली र वंशानुगत अध्ययनका अनुसार क्यान्सर हुनसक्ने कारक तत्वहरु धेरै भेटिएका छन् । त्यसमध्ये वंशाणुगत, खानपान, जीवनशैली, वातावरण र विगतमा भएका रोग र उपचारको क्रममा प्रयोग भएका औषधिहरूको कुप्रभाव प्रमुख कारण देखिएका छन् । धेरैजसो मानिसका शरीरमा क्यान्सर जन्य कोषहरूको केही अंश रहने पछिल्लो अध्ययनले देखाएको छ । तर यी कोषहरू त्यतिबेलासम्म निष्क्रिय रहन्छन् जतिबेलासम्म हाम्रो शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ या शरीर हरेक कुरामा स्वस्थ हुन्छ । समय र उमेर सँगै हाम्रो जीवनशैली र कामको प्रकृतिले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई प्रभाव पारिरहेको हुन्छ । र, यसमा अझ साथ दिन्छ वंशाणुगत रोगहरूले त्यसमा पनि क्यान्सर भएको पारीवारिक इतिहास छ भने आउँदा पिँढीलाई यो रोग हुनसक्ने सम्भावना बढी हुन्छ ।

यसरी नै अर्को महत्वपूर्ण कारण भनेको चुरोट, खैनी या अत्यधिक जाँडरक्सीको सेवन । यसरी नै महिलाहरूमा हुने पाठेघर या स्तनको क्यान्सरमा सानै उमेरमा विवाह धेरै सन्तान जन्माउनु, सुत्केरीमा राम्रो स्याहार र पोषणको कमी, जथाभावी गर्भपतन या असुरक्षित यौनसम्पर्क या यौनरोगजस्ता अनेकन कारण पनि क्यान्सर जन्माउने कारण हुनसक्छन् । यसरी नै हामीले दैनिक सेवन गर्ने खानेकुरा अर्को कारण हो । आगोमा पोलेको या तेलमा तारेको मासुको लगातार सेवन पनि पेटको या अन्य भागको क्यान्सर हुनेसक्ने एउटा प्रमुख कारण हो । यसरी नै लगातार कुर्सीमा बसेर काम गर्ने, शारीरिक व्यायम नगर्ने तनाव धेरै लिने, राति राम्रोसँग ननिदाउने जङ्कफुड या बाहिरको खाना धेरै खाने या डाक्टरको सल्लहबिना नै धेरै प्रकारको औषधिको सेवन गर्ने गर्दा पनि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । जसका कारण क्यान्सरजन्य कोषहरूको वृद्धि तीव्र रूपमा हुँदा यस्तो भयानक रोगले सताउन सक्छ ।

अन्त्यमा, क्यान्सरबाट बच्न के गर्ने के नगर्ने अनि उपचार के ? यसबारे चर्चा गरौँ । रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो । क्यान्सरमात्र नभएर अरु रोग लाग्न नदिन हामीले हाम्रो जीवनशैलीलाई सही तरिकाले हिँडाउनु पर्छ । जसरी एउटा बच्चालाई हामीजस्तो संस्कार दिन्छाँै त्यस्तै बन्छ । त्यसरीनै हामीले पनि हाम्रा नराम्रा बानी या आदतलई विस्तारै सुधार्दै लैजानुपर्छ । चुरोट खैनी या मादक पदार्थ खाने बानी भए कम गर्दै लगेर छाड्नु पर्छ । सम्झिनु पर्छ कि यसले मलाई विस्तारै कालको मुखमा लैजाँदै छ । हरेक मानिसलाई मर्नदेखि डर लाग्छ । हरेक दिन कम्तीमा २ लिटर सफा र शुद्ध पानी पिउने बानी बसाउनु पर्छ । कोल्डड्रिङ्स लगायतका पेयपदार्थ लगातार या दैनिकजसो पिउनु हुँदैन । रातमा कम्तीमा आठ घण्टा सुत्ने आदत बसाउनु पर्छ । सके शाकाहारी हुनसक्नु या मांसहारी नै भए पनि मासुजन्य खानेकुरा कम र स्वस्थकर मात्र खानु पर्छ । अनावश्यक मसलाजन्य खानेकुरा कम सेवन गर्नुपर्छ । हरेक दिन व्यायाम गर्नुपर्छ । तनाव कम गर्न जीवन र जगत्लाई बुझ्ने प्रयास गर्नुपर्छ । जन्म र मृत्यु चक्र हो खाली हात आउने र खाली हात जाने कुरा बुझ्न सके तनाव कम हुन्छ । हरेक दिन फलफूल, शाकाहारी भोजन, दूध, कोदो फापर, सिस्नोको सेवन गर्नसके हामी धेरै प्रकारका रोगबाट बच्न सक्छौँ ।

यदि यति गर्दा गर्दै पनि रोगले सताउँछ भने आप्mनो पारिवारिक चिकित्सकको सल्लाहमा सम्बन्धित अस्पतालमा गएर उपचार गराउनु पर्छ । र, बाँकी जीवनलाई तनावमुक्त र सेवा भावले बिताउनु पर्छ । क्यान्सरका उपचारका अवस्थाहरू रोगीको अवस्था र क्यान्सरको स्टेजका (रोग कहासम्म फैलिएको छ) आधारमा अप्रेशन, किमोथेरापी या सेकाई विधिबाट गरिन्छ । यसरी नै रक्त क्यान्सरमा भने बोनम्यारो (मासी) प्रत्यारोपण गर्न सकिन्छ । क्यान्सर रोगका कारणलाई कम गर्न र रोगीलाई रोग प्रतिरोधात्मक क्षमता बढाएर जीवन लम्ब्याउन होमियोप्याथिक, आयुर्वेदिक या अन्य प्राकृतिक चिकित्सा पनि पछिल्लो समयमा सहयोगी देखिएका छन् ।

(न्यौपाने होमियोप्याथिक चिकित्सक हुन्)