बिर्तामोड/नदीजन्य सामग्रीको उत्खनन्का कारण झापाका खोलाकिनारका हजारौ हेक्टर जमिन बाँझो हुन थालेको छ । मापदण्ड विपरीत गहिर्याएर नदीजन्य सामग्री सङ्कलन हुने कारण जमिन बाँझो हुन थालेको हो । ‘खोला गहिर्याएर पानी नउठ्ने भएपछि बाली लगाउन छोडेको छु ।’ बुद्धशान्ति–२ का धनबहादुर खातीले दुखेसो पोखे, ‘अहिले खोलामा गिट्टी छानेर ५ जनाको जिविका चलाइरहेको छु ।’ खेतमा पानी गए खोलामा गएर काम गर्नु नपर्ने उनी बताउँछन् । खाती मात्र होइन बिरिङ खोला गहिरो बनाएका कारण सयौंको दैनिकी अहिले खोलामा श्रम गर्दै बित्ने गरेको छ । उनीहरूले आफ्नो जमिन बाँझो भएपछि खोलाको सहारामा जीवनयापन गरिरहेका छन् । नदीजन्य सामग्रीको अत्यधिक उत्खनन्का कारण पहिलेको सिमखेत समेत सुख्खा लाग्न थालेको छ । अर्जुनधारा–७ रमाइलोबस्तीका ‘चौरासी विघे जल उपभोक्ता समूह’ मा आवद्ध कृषकहरू समेत पीडित छन् । त्यहाँको जमिनमा १० वर्षअघि किसानलाई पानी कटाउने चटारो हुने गरेको थियो । तर, अहिले पानी अभावका कारण रोपेको धान पनि पाक्न नसक्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् ।
सिंचाइ सुविधा पुर्याई कृषि उत्पादन बढाउने उद्देश्यले २०६४ सालमा सिंचाइ विकास डिभिजन कार्यालय झापामा दर्ता भएको उक्त समूहमा आवद्ध उनीहरु पीडित छन् । मापदण्ड मिचेर नदी किनारमा सञ्चालनरत क्रसरहरूले जथाभावी प्रयोग गर्ने मेसिन र स्थानीय मजदुरहरूले मनोमानी ढङ्गले नदी दोहान गर्दा समस्या भएको समूहका अध्यक्ष तारानिधि भट्टराई बताउँछन् । ‘सम्बन्धित निकायले तत्काल उत्खनन् कार्यलाई मात्र नियन्त्रण गर्ने हो भने पनि हामी कृषकहरुलाई धेरै राहत पुग्नेछ ।’ उनी भन्छन् । नदी दोहन नियन्त्रण र मुहान क्षेत्रमा स्थायी बाँध निर्माणको लागि सम्बन्धित निकायमा पटक–पटक पहल गरे पनि केवल आश्वासन मात्र पाएको समूहका सदस्य कमलप्रसाद निरौला बताउँछन् । चालु आर्थिक वर्षमा योजना तर्जुमाका लागि सङ्घीय सांसद् पवित्रा निरौला खरेलमार्फत् सङ्घीय संसद र प्रदेश नम्बर १ का सांसद् वृख प्रधानमार्फत् प्रदेश संसदमा पत्र पठाएको सदस्य निरौलाले बताए ।
२०२२ सालदेखि सिंचाइको मुहानको रूपमा रहेको उक्त पैनीमा पानी नउठ्दा त्यस क्षेत्रका एक सय ५१ घरधुरीका दुई सय विगाहा खेती प्रभावित भएको समूहका सल्लाहकार सदस्य एवम् उपभोक्ता कमल भट्टराईले जानकारी दिए । पैनीमा पानी नआउँदा आकाशे पानीमा निर्भर हुनुपरेको उनले बताए । मुहान क्षेत्रको दिगो रूपमा व्यवस्थापन गर्न सकेमात्र उक्त पैनीको पानीले वर्षा र हिँउदको समयमा खेतीमा पर्याप्त सिंचाइ गर्न सकिने स्थानीय उपभोक्ता श्रीप्रसाद कटुवालले बताए । हाल डेढ किलोमिटर पैनी खनिए पनि त्यस पैनीको पानीले तीन किलोमिटर क्षेत्रको खेती सिंचाइ हुने गरेको उनले बताए । पटक–पटक गरी मुहानको बाँध निर्माणमा यसअघि लगानी गरिएको सरकारी अनुदान एक लाख १६ हजार रुपैयाँ सबै बालुवामा पानी खन्याएझैं भएको उनीहरू बताउँछन् । पैसा भन्दा बढी श्रम खेर गएको उनीहरू भनाइ छ । त्यस्तै गत आर्थिक वर्षमा वडामार्फत् विनियोजित ८० हजार भने मुहानमा नभई पैनी भत्किएको समस्या समाधान गर्न पोलम निर्माण गरेको बताइएको छ । अर्जुनधारा–७ का वडाध्यक्ष नवराम ढुङ्गानाका अनुसार त्यस क्षेत्रमा स्थायी बाँध निर्माणको लागि जनताको तटबन्ध कार्यक्रममार्फत् मुहानको अनुगमन तथा निरीक्षण भइसकेको बताइएको छ ।
छिटोमा भदौदेखि र ढिलोमा दशैंपछि काम शुरू हुने जानकारी गराएका उनले जथाभावी गरिएको नदीजन्य सामग्रीहरू उत्खनन् गर्ने कार्यलाई नियन्त्रण गर्न पहल गर्ने वडाध्यक्ष ढुङ्गानाले जानकारी दिए । चालु आर्थिक वर्षमा वडामार्फत् समूहलाई ८० हजार रूपैयाँ विनियोजिन भएको बताइएको छ । यता स्थानीय सरकार प्रमुखको सचिवालयका जानकारीअनुसार उक्त स्थानको गैंडेस्थित जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट निरीक्षण भएको र नगरपालिकाकोतर्फबाट तारजालीको माग गरिएको बताइएको छ । चौरासी बिघेमात्र होइन, बिरिङ खोलाको धारमा खेती गर्दै आएका हजारौ किसान अहिले उत्खनन्को चपेटामा परेका छन् । उनीहरूले अव्यवस्थित तरिकाले उत्खनन् गर्नु नहुने धारणा राखेका छन् । जमिनको सतहभन्दा गहिरो स्थानमा उत्खनन् गर्न थालिए प्रतिवाद गर्ने स्थानीयले चेतावनी दिएका छन् ।