धनकुटा/नगरपालिका बनेको चार दशकपछि धनकुटा–८ याक्ते र तित्रिदाङ्ग गाउँमा सडक सञ्जाल जोडिएको छ । २०३५ सालमा धनकुटा नगरपालिका बनेको हो । तर, धनकुटादेखि चार किलोमिटर दुरीको याक्ते र तित्रिदाङ्गमा भने बल्ल सडक पुगेको छ । सडक बनेसँगै स्थानीयहरू मोटर गाडीको पहुँच भएको छ । धनकुटा बसपार्कदेखि घुमाउने चौतारा, टेकुनाला, पेलेक्पाङ्ग, तित्रिदाङ्ग डाँडा, याक्ते हुँदै सान्ताङ्गको पहिरे आहाल डाँडालगायतको स्थानमा चक्रपथ निर्माण गरेपछि याक्ते गाउँमा पहिलो पटक मोटर पुगेको हो । धनकुटा–८ ले आर्थिक वर्ष २०७४/०७५ मा करिव ३ किलोमिटर मोटरबाटो निर्माणका लागि १५ लाख रूपैयाँ लगानी गरेको वडाध्यक्ष सुमन आठपहरियाले बताए । वडा कार्यालयले विनियोजन गरेको १५ लाख रूपैयाँ लागनीले याक्तेको तित्रिदाङ्ग डाँडादेखि साङ्गताङ्गको पहिरे  आहाल डाँडासम्मको ३ किलो मिटरबाटो खन्न सफल भएको आठपहरियाले बताए ।

मोटरबाटो ६ मिटर चौडाको रहेको छ । पहिलो पटक नगर क्षेत्रकै दुर्गम गाउँको रूपमा परिचित याक्ते, तित्रिदाङ्ग, पेलेक्पाङ्ग, टेकुनालालगायतका स्थानमा नगरको चक्रपथले जोडे पनि पिग्मेरी गाउँ अझै मोटरबाटोको पहुँचभन्दा बाहिर छ । पेलेक्पाङ्गदेखि पिग्मेरी हुँदै साङ्गताङ्गको पहिरे आहालडाँडासम्म पुग्न करिव ३ किलोमिटर दूरी रहेकाले कम्तीमा १५ लाखको हाराहारीमा बजेट विनियोजन हुँदा मात्र पुग्ने भएकाले आव ०७६/०७७ मा काम गर्ने गरी कार्यक्रम रहेको वडाध्यक्ष सुमनले बताए । योवर्ष पनि पिग्मेरी गाउँमा मोटरबाटो खन्नको लागि बजेट विनियोजन नगरिएको वडाध्यक्ष आठपहरियाले बताए । पिग्मेरी गाउँमा ७ घरधुरी मात्रै छ । उनले यो वर्षमा टेकुनालाको रमिते चौतारादेखि धनकुटे खोलाको दोभानसम्मको ३ किलोमिटर बाटो खन्ने गरी वडाको मुख्य योजनाको रूपमा १५ लाख रूपैयाँ विनियोजन गरिएको बताए ।

धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने अल्पसंख्यक आठपहरिया जातिको मुख्य बसोबास गर्ने याक्ते तथा तित्रिदाङ्ग गाउँमा मोटरगाडी पुगेपछि स्थानीय उत्पादित वस्तु बजार पुर्याउन सहज भएको स्थानीय गोर्खा आठपहरियाले बताए । गाडी पुगेसँगै गाउँमा उत्पादित कृषि उपजका सबैखाले बस्तु धनकुटा बजारसम्म ल्याउन सहज भएको उनको भनाइ छ । ‘गाडी नचल्दा ३ घण्टासम्म हिँड्नु पर्दथ्यो, अहिले गाडी चलेपछि आधा घण्टामा धनकुटा बजार पुगिन्छ ।’ स्थानीय पूर्णश्वरी आठपहरियाले भनिन् ।  बसपार्कदेखि घुमाउने चौतारा, टेकुनाला, याक्ते, सान्ताङ्ग, तित्रिदाङ्ग डाँडा लगायतका स्थानमा चक्रपथ निर्माणको योजना अनुसार नगरको विकासमा टेवा पुर्याउने उद्देश्यले सडक सञ्जालले जोडेको नगर प्रमुख चिन्तन तामाङले बताएका छन् । खासगरी कृषि उपजका गाउँका उत्पादन बजारसम्म उपभोक्ता माझ पुर्याउन र स्थानीयबासीलाई सहज यातायातको लागि नगरपालिकाले सडक निर्माण गरेको तामाङले बताए । याक्तेमा २० र तित्रिदाङ्गमा १८ घरधुरी छन् ।