याक्ते(धनकुटा)/ धनकुटा– ८ तित्रिदाङ्गका आठपहरिया किसानहरू भुइँकटहरको व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । वर्षमा दुई सिजन फल्ने भुइँकटहरको व्यवसायिक खेतीमा लागेका आठपहरिया समुदायका किसानको जीविकोपार्जनमा टेवा पुगेको धनपा–८ तित्रिदाङ्गका ६३ वर्षिय वीरते आठपहरियाले बताए । भुइँकटहरलाई स्थानीय आठपहरिया भाषामा खम्फेनाभो भन्ने गरिन्छ । वीरते आठपहरियाले आजभन्दा २०–२५ वर्ष पहिलेदेखि नै भुइँकटहरको १५ सय विरुवा आफ्नो २ रोपनी बारीमा लगाएर खेती थालेको बताए । आफ्ना बाउबाजेको पाला देखि नै भुइँकटहरको खेती थोरैथोरै परिवारले गर्दै आएका उनी बताउँछन् ।

हिजोआज भने आफ्नो नामको १५ रोपनी क्षेत्रफल बारीमा १० हजारभन्दा बढी भुइँकटहरका विरुवा लगाएर व्यवसायिक खेती गर्दै आएको वीरतेले बताए । ‘शुरुशुरुमा भुइँकटहरको मूल्य थिएन, खान पनि मानिसहरूले जानेका थिएन्न, सस्तो पनि थियो, तर अहिले एक दाना भुइँकटहरलाई १ सय रुपैयाँ पर्छ ।’ वीरतेले भने । भुइँकटहरको मूल्य केजीभन्दा पनि प्रतिगोटा आकार हेरेर ८० देखि १ सय रुपैयाँसम्ममा बिक्ने गरेको वीरते बताउँछन् । हरेक वर्षको जेठ–असारमा र मङ्सिर–पुषमा भुइँकटहर पाक्छ । हरेक सिजनमा ५० हजार देखि ६० हजारसम्म खर्च कटाएर नाफा हुने गरेको वीरते सुनाउँछन् ।  पहिले पहिले डोकोमा बोकेर धनकुटा बजारसम्म लानु पथ्र्यो, २ वर्ष अघि देखि पेलेकपाङ हुँदै गाउँमै गाडी आउन थालेपछि गाउँघरमा उत्पादन हुने भुइँकटहर र अन्य उत्पादन बजारसम्म लान सजिलो भएको उनले बताए । ‘अहिले घरमै गाडी आउँछ, मालमात्र हुनुप¥यो घरैमा बिक्ने गरेको छ ।’ वीरते आठपहरियाले भने । भुइँकटहरबाट वीरतेले वार्षिक १ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । घरव्यवहार चलाउन सजिलो भएको विरतेको अनुभव छ ।

‘शुरुशुरुमा भुइँकटहर निस्कँदा जति पनि मूल्य पाइन्छ, पछि–पछि तराईबाट आउने भुइँकटहरले गर्दा मूल्य पाउन सकिँदैन ।’ विरतेले भने  । भुइँकटहरलाई मलपानी पनि धेरै नचाहिने, जग्गा पनि राम्रो नचाहिने पाखाबारी, ढाँडढुँडमा पनि हुने भएकाले खेती गर्न सजिलो भएकाले किसान यो खेतीप्रति आर्षित हुँदै गएका छन् ।  वीरतेजस्तै तित्रिदाङ्ग गाउँका अर्का कृषक मातृका आठपहरियाले पनि ४ रोपनी क्षेत्रफलमा भुइँकटहरको खेती गर्दै आएका छन् । ‘१० वर्ष अघिदेखि भुइँकटहरको खेती गर्ने किसान १२–१५ जना जति छन् ।’ मातृकाले भने । त्यसैगरी वडा नं. ८ कै जीतबहादुर आठपहरियाले पनि आफ्नो साढे ३ रोपनी बारीमा भुइँकटहरको खेती गर्दै आएका छन् । धनकुटा–८ साङताङका सूर्य आठपहरियाले पनि ४ रोपनी बारीमा भुइँकटहरको खेती गर्दै आएका छन् । उनीहरूले भुइँकटहरको भनेजस्तो बजार नहुँदा किसानले उत्पादन गरेको भुइँकटहरको मूल्य पाउन नसकेको सूर्य आठपहरियाको अनुभव छ । उनले अहिलेसम्म सरकारी तवरबाट भुइँकटहरको खेती विकासका लागि कुनै पहल नहुँदा किसानले वैज्ञानिक ढङ्गले खेती गर्न नसकेको बताए ।

भनेजस्तो बजार पाउन र उत्पादन गरेको भुइँकटहरको मूल्य आउने हो भने, यो क्षेत्रमा जति पनि भुइँकटहर फल्ने उनको अनुभव छ । अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिचौलियाले नै धेरै मूल्य खाइदिने भएकाले किसानले भनेजस्तो मूल्य नपाएको उनको भनाइ छ । स्थानीय सरकार नगरपालिकाले किसानबाट सोझै उपभोक्तामा पुग्ने गरी बजारको प्रवद्र्धन गरिदिए यस भेगका भुइँकटहर खेती गर्ने किसानको आर्थिक स्थिति निक्कै माथि उठ्न सक्ने आठपहरियाको दाबी छ । गाउँले किसानको भुइँकटहरको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले छुट्टै कार्यक्रम ल्याइदिए राम्रो हुने उनीहरूको भनाइ छ । धनकुटा नगरपालिकाको मेयर कृषि पर्यटन कार्यक्रमले भुइँकटहर खेतीलाई नसमेटेको कृषक सूर्य आठपहरियाले गुनासो गरे ।

धनकुटा–८ का वडाध्यक्ष सुमन राईले मेयर कृषि पर्यटन कार्यक्रमले समेट्ने गरी सरिफा फलको लागि नगरस्तरीय कार्यक्रम रहेको तर भुइँकटहरका लागि कार्यक्रम नभएको जानकारी दिए । उनले नगदे बालीको रुपमा रहेको सरिफा, भुइँकटहर खेतीको प्रवद्र्धनका लागि आगामी वर्षदेखि वडाको तर्फबाट कार्यक्रमै बनाएर जाने बताए । धनकुटा–८ को तित्रिदाङ्ग, पोखरी, मित्रटोल, खाम्बेला, सम्झना टोल, डाँडाटोललगायतका स्थानमा सयौं रोपनी क्षेत्रफलमा स्थानीय आठपहरिया समुदायले भुइँकटहरको खेती गर्दै आएका छन् । भुइँकटहर खेतीबाट स्थानीय किसानको जीविकोपार्जनमा निक्कै टेवा पुग्दै आएको वडाध्यक्ष सुमन राईको भनाइ छ । रिया किसान भुइ“कटहर खेतीतर्फ