भदौ ५, ०७५ सोमबार बिहान ७ बजे, मिनी उपत्यकाको झझल्को दिने फिदिम बजारलाई छोडेर अगाडि बढ्यौं हामी, मे. १ ज २४३९ नम्बरको जीपमा चढेर । हामी (पत्रकार गणेश साम्पाङ, नारायण तुम्बापो, मित्र शङ्कर आत्मा, भाइ मनोज गुरुङ र म) हाम्रो यात्राको गन्तव्य– पाँचथर, ताप्लेजुङ र भारतको सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थलमा अवस्थित तिम्बुङ पोखरी । पूर्वको प्रशिद्ध तीर्थस्थल तिम्बुङ पोखरीक्षेत्रको भ्रमण गर्ने रहर पुरानै हो । तर व्यस्तता र अनेक व्यवधानले गर्दा त्यो रहरलाई पूरा गर्न सकिएको थिएन । पूरा हुन नसकेको त्यो इच्छाले सार्थकता पाउँदै थियो । मन त्यसै–त्यसै रमाइरह्यो यात्राभरि ।
ऐतिहासिक हिलिहाङ दरबारको छेउमा बसेको सानो बजार गोपेटार पुगेर खाना खायौं । याङ्वरक गाउँपालिकाको गणेश चोक बजारबाट झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने मेची राजमार्गलाई छोडेर मध्यपहाडी लोकमार्गलाई पछ्याउन थाल्यो जीपले । दिउँसो दुई बजे च्याङ्थापु बजार पुगियो । नास्ता खाइयो । केही तस्बिरहरू खिचियो । वर्षा ऋतुको मध्य बेला घाम तापिरहेको थियो च्याङ्थापु बजार । मध्यपहाडी लोकमार्ग शुरु हुने चिवाभञ्ज्याङदेखि अगाडि बढ्दा भेटिने पहिलो बजार हो– च्याङ्थापु ।
यातायातको पहुँचमा जोडिएकाले च्याङ्थापु मात्र होइन, पारिका नाम्रेक, पेरेङ्गेसँगै माथिका तिम्तिम्बु, मुक्लाबु र सौरेनी गाउँ पनि हँसिला देखिन्छन् । पहिले जस्तो एकदिन पैदल हिँडेर थर्पु बजार (हाल याङ्वरक गाउँपालिकाको सेवा केन्द्र) बाट रासनपानी खेप्नुपर्ने बाध्यता छैन । त्यतिबेला दुई दिन लाएर पुग्नुपर्ने सदरमुकाम फिदिम अहिले एकैदिनमा पुगेर फर्किन्छन् त्यहाँका मानिस । सबैथोक गाडीले ल्याउँछ ।
त्यहाँका कृषिउपज बजारसम्म पु¥याउन पनि सहज भएको छ । सडकले समृद्धिसँग जोड्दैछ उत्तरपूर्वी पाँचथरका गाउँघरलाई । अब हामीलाई एक घन्टामाथिको बेतेनी गाउँसम्म जीपले पु¥याउँथ्यो । त्यहाँबाट पैदल यात्रा गर्नु थियो । नास्ता खाइसकेपछि जीप अघि बढ्यो । तिम्तिम्बुमा हाम्रो पथप्रदर्शक समीर बेघाले पर्खिराखेका रहेछन् । साविक फलैंचा गाविसको सबैभन्दा ठूलो गाउँ हो तिम्तिम्बु । फलैंचा गाविस अहिले याङ्वरक गाउँपालिका–२ नम्बर भएको छ । यहीँका रैथाने हुन् समीर । गणेश दाइको पब्लिक टाइम्स साप्ताहिकका स्थानीय प्रतिनिधि समीर साहित्यको पनि पारखी हुन् । हामीले उनको पछि लागेर तिम्बुङ पोखरी पुग्नु थियो ।
जीपले बेतेनी ओराल्दा अपरान्हको तीन बजायो घडीले । हामीले आ–आफ्ना झोला सम्हाल्यौं । यात्रामा आवश्यक पर्ने न्यानो लुगा, सुत्नलाई स्लिपिङ ब्याग, ओढ्नलाई प्लाष्टिक, लेक लाग्नबाट बच्नलाई खाने सातु, भुटेको मकै, अकबरे खुर्सानी, केही एन्टिबायोटिक औषधिहरू, बाटोमा लाग्ने जुका मार्न नुन र सुर्ती, भोक मेटाउन खाने बिस्कुट, चाउचाउ लगायतका सामग्रीहरू बोकेका थियौं । समीरजीको सल्लाहअनुसार हामीले ती सामग्री जोहो गरेका थियौं । समीर हामीसँग सातौंपल्ट तिम्बुङ पुग्दै थिए । यात्राको क्रममा अनुभूत हुने कठिनाइ र आनन्दका विषयमा हामीलाई बताइरहेका थिए उनी ।
त्यहाँबाट दुईटा बाटो भएर तिम्बुङ पुगिँदो रहेछ । एउटा पाँचथरतिरको बाटो हुँदै र अर्को ताप्लेजुङतिरको बाटो हुँदै । हामी भने ताप्लेजुङतिरको बाटो हुँदै जाने भयौं । त्यो बाटो निकै सजिलो र अलि छोटो पनि छ भन्दै थिए समीर । कालीखोलाको तिरैतिर ठाडो पहाडी भेग बीचको अप्ठ्यारो गोरेटो बाटो पछ्याउँदै अँध्यारो खस्दै गर्दा बास बस्न निर्धारित गरेको आकाशे गाउँ पुग्यौं हामी । ताप्लेजुङको साबिक कालीखोला गाविसमा पर्ने यो गाउँ अहिले सिदिङ्वा गाउँपालिकाको एक नम्बर वडा पर्दो रहेछ ।
जम्मा दश घर भएको आकाशे गाउँको कमला भण्डारीको घरमा बास माग्न पुग्यौं हामी । आमा–छोरा मात्र रहेछन् घरमा । उनका श्रीमान् भीम इवानागीमै गोठ हेर्दै बस्दा रहेछन् र पनि निशङ्कोच बास दिइन् । प्रशस्तै जुका लाग्ने लेक । सिमान्त बस्ती । कमलाले भनिन्, ‘कोही बिरामी भए औषधि लिन एक दिनै हिँड्नुपर्छ, कालीखोला पारिको हरिसे गाउँमा रहेको स्कुल पुग्न नानीहरूलाई दुई घण्टा लाग्छ, अहिले खानेपानी भए पनि हिउँदमा मूल सुक्छ, आदि ... ।’ आलुको तिहुनसँग भात खाएर सुत्यौं हामी ।
बिहानै उठेर नृत्यकर्म ग¥यौं । ६ जनाले दुई हजार रुपैयाँ कमलाको हातमा थमाएर उकालो लाग्यौं फेरि । समीर भन्दै थिए– ‘अब हिमालको यात्रा शुरु भो है सरहरु, योभन्दा माथि कुनै गाउँ छैन, नुनथले भन्ने ठाउँमा पहिलो गोठ भेटिन्छ, त्यहीँ भात खान पुग्नुपर्छ ।’ हामी समीरजीलाई पछ्याउँदै उकालो लाग्यौं । जुका त कति हो कति ! खुट्टा, हात र जीउमै पनि आउने । समीरजीले बनाएको नुन र सुर्तीको स–सानो पोको हामी सबैसँग थियो । जुन बहुतै काम लाग्यो त्यहाँ ।
बिस्तारै लेक लाग्न शुरु हुँदै थियो । खुट्टा स्वभाविकभन्दा मन्द गतिमा मात्र चल्न थाल्दै थियो । बाटोमै भेटिए फौदबहादुर भण्डारी । चिनजानपछि उनी पनि हाम्रो सहयात्री बने । उनी तावानागीतिर हिँड्दै गरेका रहेछन् । पाङ्दुवा मास्तिरसम्म बाटो मिल्ने रहेछ । त्यहाँबाट भने तिम्बुङ पोखरी रहेको इवानागी क्षेत्र र तावानागी छुट्टिँदो रहेछ । त्यहाँसम्म सँगै जाने भयौं हामी । साविक कालीखोला गाविसका पूर्वउपाध्यक्ष उनी त्यस क्षेत्रका जानकार रहेछन् । पहिले गोठ पनि बसेका । उनले हामीलाई त्यस क्षेत्रको विशेषता र महत्वबारे धेरै कुरा सुनाए ।
नुनथलेमा पहिलो गोठ भेटियो । थकाइ र भोकले निकै च्यापेको थियो । तर दुई समूह तीर्थयात्री भात पकाउने तयारी गर्दै रहेछन् । पर्खिनुभन्दा माथिल्लो गोठ पुग्नु नै जाती हुने फौदबहादुरले बताए । निन्याउरो अनुहार बनाउँदै अघि बढ्यौं हामी । एक घण्टा हिँडेपछि पोखरीचौर भन्ने ठाउँमा अर्को गोठ भेटियो । तर मान्छे नै भेटिएनन् । हामी झन् निराश भयौं । तर फौदले ‘म ढोका खोलिदिन्छु, चिनेकै गोठ हो, खाना पकाएर खानू, केही हुँदैन’ भनेपछि सबैको अनुहार उज्यालियो पूर्णेको आकाश जस्तै ।
फौदले नै चामल झिकिदिए । हामीले पकायौं । चाउचाउमा झोल हालेर भात खायौं । चामल र दाउराको पैसा पाँचसय गोठवालालाई दिने गरी फौदलाई नै बुझायौं । फेरि उकालो लाग्यौं । मास्तिर भेटिए गोठवाला भीम इम्बुङ, ताप्लेजुङ सुरुङखिमका रहेछन् उनी । फौदले सबैकुरा बुझाएर पैसा पनि थमाइदिए । पानी पर्न थाल्यो । प्लाष्टिक ओढेर अघि बढ्यौं । पाङ्दुवाको एक गोठमा फौदले नै चिया खाने व्यवस्था मिलाए । थकाइले होला हामी त बस्दाबस्दै निदाएछौं । उनैले उठाएर सम्झाए– ‘सरहरू ! यसरी त तिम्बुङ पुगिँदैन !!’ भएभरको हिम्मत जुटाएर हामी पुनः अघि बढ्यौं ।
इवानागी र तावानागी छुट्टिने दोबाटोमा पुग्दा हामी थकाइले हायलकायल बनिसकेका थियौं । छुट्टिने बेलामा फौदले सम्झाए– ‘यो हिमाल हो, विस्तारै एकनासले हिँड्नू नत्र समस्या आउला, चिसो पानी बन्दै नखानू, हिँड्दा गर्मी भए पनि टोपी लाउनू, भुटेको मकै र सातु प्रशस्तै खानू, आज ठूलो भञ्ज्याङ पुगेर बास बस्नुभो भने भोलि बिहान दर्शन गर्न सजिलो हुन्छ, नमरी बाँचे भेट्दै गरौंला !’ फौदको कुरा सुनेर म निकै भावुक भएँ । साँच्चै सफा मन भएका मान्छे रै’छन् उनी । मानवता र संवेदना हराउँदै गएको शहरमा जीवन खोज्ने हामीलाई उनी देवताजस्तो लाग्यो । मोबाइल नम्बर साटासाट गरेर हामी छुट्टियौं ।
अब भने हामीलाई वास्तवमै लेक पुगेको महसुस हुँदै थियो । बोटबिरुवा, बुट्यान र पोथ्रापोथ्री देखिन छाड्यो, खाली नागी चउर अनि अक्करे पहरा र लङ्गुर मात्र भेटिन थाले । पाइलाको गति यति सुस्त बन्न थाल्यो कि वल्लो थुम्कादेखि पल्लो थुम्का पुग्न पनि घण्टा लाग्ने । श्वास बढेर हिँड्नै नसकिने । ‘यहाँको यात्रा नै यस्तै हो’ भन्दै समीर हामीलाई ढाडस दिन्थे । ठूलो भञ्ज्याङ पुग्ने भनेर हिँडेका हामी बलैले थाङ्मा खोला पुग्यौं दर्के पानीमा रुझ्दै । सिदिङ्वा–६ मेहेलेका मोहन गौतमको गोठ रहेछ त्यहाँ । मेहेलेकै अर्को टोली पनि बास बस्न पुगेको रहेछ अघि नै । तर थाकेर हैरान भएको हाम्रो अनुहारको रङ पढेर होला उनले हामीलाई ‘अँटेर बसुँ न त’ भने । हामीलाई भने प्रत्येक गोठका मान्छे देवता जस्तै लाग्दै थियो ।
बिहान नजिकै बगिरहेको थाङ्मा खोलाको सुसाइले ब्युँझायो । सकेसम्म चाँडै तिम्बुङ पोखरीको दर्शन गर्ने हुटहुटी थियो मनमा । स्लिपिङ ब्यागलगायत आवश्यक नपर्ने सामग्री मोहनकै गोठमा छोडेर अर्को टोलीभन्दा छिटो बाटो लाग्यौं हामी । ‘राम्ररी हिँडियो भने दुई घण्टामा पुगिन्छ’ भन्दै थिए समीर । तर बाटोमा भेटिएका चौंरी गोठ र भेडी गोठ अवलोकन गर्दै जाँदा झण्डै चार घण्टा लाग्यो पोखरी पुग्न । चट्टाने पहाडबीचमा रहेको स्वच्छ र निर्मल जलले भरिएको अनौठो लाग्ने पोखरीको किनारामा पुगेर लामो श्वास फे¥यौं हामीले । खुसीले चिच्याउँदै उफ्रियौं सबैजना ।
करिब ४५ सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी वास्तवमै प्राकृतिक सुन्दरताको अनुपम नमुना रहेछ । सबैले पोखरीको दर्शन ग¥यौं । दुर्भाग्य ! एकैछिनमा बाक्लो बादलको घुम्टोभित्र लुक्न पो पुग्यो तिम्बुङ पोखरी त । निकैबेर पख्र्यौं तर बादल हटेन । अन्य दर्शनार्थी फर्किन थाले । हामी पनि ठूलो भञ्ज्याङको गोठमा फर्केर खाना खाने निष्कर्षमा पुग्यौं । त्यहाँ रहेको सिदिङ्मा–१ का पुष्प बानियाँको गोठमा खाना खायौं । पुष्पले भने– ‘आज त यस्तै होला, बिहानै प्रायः मौसम खुल्छ ।’ हामी आज पुष्पकै गोठमा बसेर बिहानै धित मरुञ्जेल तिम्बुङलाई नियाल्दै केही तस्बिरहरू कैद गरेर मात्र फर्किने भयौं ।
गोठको न्यानोमा निदाइरहेको थिएँ, अचानक नारायण दाइ कराए– ‘लु उठौं साथीहरू, बादल क्या मज्जाले हट्यो, अब खिचिन्छ फोटो ... !’ सबैजान ज¥याकजुरुक उठेर हानियौं पोखरीतिर । पोखरीसँगै आसपासका अन्य स–साना पोखरीहरूको पनि अवलोकन ग¥यौं । सुनपाती, पदमचाल (केन्जो), पाखनवेद, माइकोपिला, खोकिम जस्ता जडीबुटीहरूसँग साक्षात्कार ग¥यौं । चउरभरि चरिरहेका उराङहरूसँग जिस्कियौं, रमायौं । त्यहाँको सुन्दर प्राकृतिक छटासँग खेल्यौं । तिम्बुङको निकासबाट बग्ने इङ्वा खोलाबाट बिस्तारै बादल उठेर आयो र फेरि छोपिदियो त्यो अनुपम प्रकृतिको टुक्रालाई । हामी भने फर्कियौं पुष्पको गोठतिर ।
तर यति हुँदा–हुँदै पनि तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा राज्यको आँखा भने नपरेको पाइयो । पोखरी क्षेत्रलाई पर्यटनमैत्री बनाउने कुनै पनि संरचनाहरू देखिएन । पोखरी दर्शन गर्न आउने तीर्थयात्रीका लागि शौचालय, पानी पर्दा ओत लाग्ने कुनै पूर्वाधार भेटिएन । तिम्बुङसम्म पुग्ने पदमार्ग निर्माणमा स्थानीय तहले चासो नदेखाएको प्रष्ट देखिन्थ्यो । तीर्थयात्री र पर्यटकलाई खान र बस्नको राम्रो प्रबन्ध मिलाउन त्यहाँका गोठहरूलाई गोठस्टेको रूपमा विकास गर्न सकिने भए पनि राज्य पक्षबाट कुनै सहयोग नपाएको गोठ व्यवसायीले गुनासो गरे । राज्यले थोरै मात्र सहयोग गरे गोठलाई सुधार गर्न तत्पर रहेको उनीहरूको भनाइ थियो ।
विभिन्न बहुमूल्य जडीबुटी र जैविक विविधताको दृष्टिले तिम्बुङ पोखरी क्षेत्र मात्र होइन सिङ्गो इवानागी, तावानागी क्षेत्र नै महत्वपूर्ण हो । तर त्यसबाट फाइदा लिने कुरामा पनि राज्य र स्थानीय तह चुकेको पाइयो । पोखरी नजिकै त्यस क्षेत्रमा पाइने हिमचितुवाको संरक्षण गरौं भन्ने एउटा होर्डिङ बोर्ड बाहेक त्यहाँ राज्यको उपस्थिति खासै देखिएन । भलै तिम्बुङ पोखरी महोत्सवको भने तयारी हुँदै थियो । महोत्सव गर्नु पर्यटन प्रवद्र्धनका लागि राम्रो हो । तर त्योभन्दा पनि पहिले पूर्वाधार विकास महत्वपूर्ण हो । यसतर्फ आधारभूत कुराहरु पनि नभएको पाइयो । तर जे होस् महोत्सवले गोठवाला भने थोरै भए पनि उत्साहित नै देखिन्थे । २२ भदौदेखि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको आयोजनामा त्यहाँ महोत्सव हुँदै रहेछ ।
यस्तै अनुभूतिहरु सङ्गाल्दै हामी पुष्पको गोठमा पुग्यौं । ढिलै भए पनि मौसमले साथ दिएकाले अब हामीले पुष्पको गोठमा रात बिताउनु नपर्ने भयो । रातसाँझ थाङ्माखोला मोहन गौतमको गोठमा बास बस्ने गरी हामी बिदा मागेर पुष्पको गोठबाट निस्कियौं ।