इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिकाको कृषिको बजेटमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । नगरपालिकाको कृषितर्फको बजेटमा आर्थिक वर्ष ०७४/७५ मा आर्थिक अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाअन्तर्गत किसानलाई माछाका भुरा उपलब्ध गराउन वराहक्षेत्र–९ को ‘अभियान बहुउद्देश्य कृषि फर्म’सँग सम्झौता गरिएको थियो । तर, त्यस क्षेत्रका कृषकलाई अनुदानमा माछाको भुरा र दाना उपलब्ध गराउने नाममा फर्मका सञ्चालकले आर्थिक अनियमितता गरेको भन्दै नगरपालिकालाई छानबिन गर्नका लागि स्थानीय कृषकले माग गरेका छन् ।

नगरपालिकाको कृषि शाखाबाट सम्झौता गरी कार्यक्रम सञ्चालन गर्नका लागि अनुमति दिएको तर फर्मले उल्टै किसानलाई ठगी गर्ने र मनमौजी गर्नेे गरेका कारण छानबिन गर्नका लागि माग गरेको स्थानीय कृषक नरबहादुर थापाले बताए । कृषकले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको कृषि शाखाले गरेको अनियमितताको विषयमा छानबिन गर्नका लागि नगर प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, जिल्ला प्रशासन कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडा कार्यालयसँग माग गरेका छन् ।

कृषकले अभियान बहुउद्देश्य कृषि सहकारी सस्ंथाले माछा ब्लक कार्यक्रमका लागि एउटा पिकअप भ्यान र जेसिबी खरिद गरेर ल्याएको तर कुनै पनि किसानलाई जानकारी नदिई एकलौटी प्रयोग गरिरहेको किसानको आरोप छ । माछा किसानलाई अनुदानमा दिनुपर्ने माछाका भुरासमेत सस्तो दर रेटमा भारतबाट आयात गरी महँगो दर रेटमा वितरण गरेको, अनुदानमा आएको माछाको दाना भारतबाट प्रतिकिलो ३७ रुपैयाँमा आयात गरी ५६ रुपैयाँ प्रति किलोमा बिक्री वितरण गरेर कृषकलाई ठग्ने काम गरेकाले छानबिन गर्नुपर्ने वराहक्षेत्र नगरपालिका–११ का कृषक थापाले माग गरेका छन् ।

त्यसैगरी २०७४ साउन २७ गते देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीमा आफूहरूको माछा बगेको र त्यसबापत् जिल्ला कृषि विकास कार्यालय सुनसरीले दिएको क्षतिपूर्ति रकम समेत भीष्मनारायण अधिकारीले हिनामिना गरेको, अनुदानको रकम वास्तविक कृषकलाई नदिएको समेत कृषकले आरोप लगाएका छन् ।

त्यसैगरी अधिकारीले अनुदान अन्तर्गत ४ हजारप्रति घण्टाका दरमा पोखरी खनाइदिने भनिएता पनि किसानसँग प्रति घण्टा ४ हजार ७ सय रुपैयाँ लिएकाले आवश्यक छानबिन गरिदिनका लागि सम्बन्धित निकायलाई आग्रह गरेको वराहक्षेत्र नगरपालिका–११ का कृषक सञ्जयकुमार मेहताले बताए । सरकारले कृषि आधुनिकीकरणका लागि गरेको लगानीको चरम दुरुपयोग र लापरबाही भएको, सेवा सुविधा पाउनुपर्ने कृषकले नपाएकाले कृषकहरू पीडामा परेको वराहक्षेत्र–११ का कृषक भुवन घिमिरेले बताए ।

यता माछाको दाना सप्लाई गर्ने फटकुन मुखियाले वराहक्षेत्रभित्र आफूले ३८ रुपैयाँमा माछाको दाना घरसम्म पु¥याउने गरेको र अधिकारीलाई पनि सोही दरमा दाना दिएको बताए  । फर्मका सञ्चालक तथा अरोपित भीष्मनारायण अधिकारीले आफूले वराहक्षेत्र नगरपालिकाबाट ५६ रुपैयाँकै दरले टेण्डर लिएकाले नगरपालिकालाई सोहीअनुसार दाना उपलब्ध गराएको बताए । उनले जिल्ला कृषि विकास कार्यालय सुनसरीले बाढी पीडित माछा कृषकलाई दिएको राहत रकममा आफ्नो कुनै संलग्नता नरहेको प्रतिकृया दिए ।

कृषि कार्यालयले बाढीबाट पीडित भएका माछा कृषकका लागि आएको अनुदानको रकम सम्बन्धित व्यक्तिकै खातामा पठाएका कारणले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको अधिकारीले बताए ।