देउराली । आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख १२ हजार ६ सय ८५ नेपाली बैदेशिक रोजगरकालागि नेपालबाट बिभिन्न देश गएका छन् । जसमध्य ३ लाख ५४ हजार ८२ छुट्टीमा आइ पुन: श्रम दर्ता गराउने बाहेकका रहेको श्रम तथा रोजगार मन्त्रालय, बैदेशिक रोजगार विभागको तथ्याङ्कमा रहेको छ ।

प्रत्येक वर्ष करिव ५ लाख युवाको नेपाली श्रमबजारमा श्रम गर्न याेग्य हुन्छन् तर देशभित्र रोजगारीका अवसर ज्यादै न्यून भएका कारण विकल्पका रुपमा वैदेशिक रोजगारीमा नै पुग्नुपर्ने बाध्यता छ ।

४३ लाख युवा विदेशी भुमिमा पसिना बगाइरहेका छन् जस मध्ये करिव ३ चैथाइ युवा अदक्ष रहेको मानिन्छ ।

अदक्ष, भनेको जस्ताे काम नपाउनु, तलब र सुविधा नपाउनु मानसिक तथा शारीरिक शोषण हुनु, बिदेशिएका नेपपालीको मुख्य समस्या हो । त्यो भन्दा पनि मुख्य समस्या नेपालमै मेनपावरहरुबाट हुने ठगि हो । एकातिर बैदेशिक रोजगारमा विभिन्न पीडा भाेग्नु परेकाे यथार्थ बाहिर अाइरहेकाे छ । अर्काे तिर स्वदेशमा काम गर्ने र राम्राे तलब सुविधा नपाउने हुँदा बाध्य भएर युवा देश छाेडिरहेका छन् । वैदेशिक राेजगारमा हुँदा विदेशमा हुने विभिन्न समस्या, पीडा त छदैछ वैदेशिक राेजगारकै कारण अहिले कयाै नेपालीकाे घर उजाडीएकाे पनि छ । विदेशमा रगत र पसिनामा साटेकाे पैसा घरमा हुनेले गलत ठाउँमा लगानी गर्ने र एेस अाराममा खर्च गर्ने प्रवृत्ती उत्तिकै व्याप्त छ ।

यी सबै कुरा बुझेका युवामा भने स्वरोजगार बन्ने लहर नै लागेको छ । आजकाल केहि वर्ष अगाडी बैदेशिक रोजगारमा गएका धेरैलाई हामी कुनै न कुनै पेसा तथा व्यावसाय अंगालेर स्वरोजगार भएको पाउन सक्छाै ।

धरान–५ तल्लो देउरालीका कृष्ण कार्की यतिबेला भाडामा टेम्पू चलाइरहेका छन् । लगभग ७/८ वर्ष साउदी र मलेसीया बसेका कृष्णको अब पुन: बिदेश जाने सोच छैन । “ दिनमा १२/१५ सयसम्म कमाइ हुन्छ ।” उनि भन्छन् “ अझै केही समय भाडाकै टेम्पू चलाउछु अनि पछि किन्नु पर्ला ” बैदेशिक रोजगारका लागि जादा लग्ने खर्च त्यहाँबाट ३०/३५ हजारकै सरदारमा हुने कमाई र याहाँ हुने कमाई लगभग उस्तै भएको उनले अनुभव संगालेका छन् ।

धरानमा यतिबेला नगर यातायतको रुपमा टेम्पूको बिकल्प छैन, कुनैएक परिवारको कम्तीमा एक सदस्य दिनको एक पटक टेम्पूमा चढ्ने गर्दछन् जसलेगर्दा यतिबेला धरानका सडकहरुमा जताततै टेम्पू र सिटि सफारीकाे भिड देख्न सकिन्छ । जसमा अत्याधिकरुपमा बिदेशबाट फर्कोकाहरु रहेका छन् ।

आफ्नै देशमा आफ्नै व्यावसाय गरे मेहनेत अनुसारको फल पाइनेमा विस्बस्त छन् । धरान ५ देउरालीमै फर्निचर खोलेर बसेका व्यावसायी मनिकुमार राई । “त्यहा साहुको काम गर्नु पर्छ, साहुलाई ईच्छालागे तलब बढाउछ नलागे बढाउदैन अर्काको देशमा जति मेहनेत गरेपनि बढ्दैन ।” मनिकुमार भन्छन् “ हामी श्रीमान श्रीमती नै मिस्त्री हाै । फर्निचरमा उनीसँगै श्रीमती मिलेर काम गर्छन् ।

मनिकुमारकी श्रीमती अनिता राई भन्छीन् “ राम्रै खाएका छाै राम्रै लगाएका छाै छोरा छोरीलार्इ पनि राम्ररीनै पढाउन सकेका छाै किन जानुपर्याे विदेश ?”

उनीहरूले दराज, टेबल, कुर्सि, पलङ बनाएर बेच्ने गरेका छन् भने कहिलेकाहीँ घर-घरमा पुगेर समेत अर्डर अनुसारकाे काम गरिदिने गरेका छन् । यतिबेला धरानमा यस्ता धेरै स्वरोजगार युवाहरू देख्न पाइन्छ । कतै स्ट्रिट फुडको रुपमा ठेलामा मःम चाउमिन, समोसा छोयला बेचिरहेको देखिन्छ त कतै फलफुल तथा तरकारी बेचिरहेका भेटिन्छन् । धरान-१५ बरगाछीमा अनुसा बिष्टको तीन जनाको परिवार लामो सडकमा नै फलफुल बेचर राम्रै जीवनयापन गरिररहेका छन् । श्रीमान् श्रीमती करिब २ वर्षदेखी बरगाछी चोकमा ठेलामा फलफुल राखेर बेच्दै आएका छन् । उनको ठेलामा मैसम अनुसारका फलफुल पाइन्छन् । “ठेला किन्न एकचोटि अलि बढि लगानी भएपनि पसलकाे कोठा भाडा तिर्नु पर्दैन, नगरपालिकाले दैनिक २५ रुपैयाँ उठाउछ ।” अनुस्का भन्छिन् “ दैनिक १२ सय देखी १५ सयसम्म कमाइ हुन्छ सन्तुष्ट छौं ।”

करिब २२ बर्षदेखी बरगाछी चौकमै ठेलामा चटपटे बेचेर गुजारा गर्दै आएका भन्टाबारीका ४९ बर्षीय नरेन्द्र सिंह ३० वर्षीय श्रीमती २ छोरी र १ छोरा सहितको परिवारको राम्रौसंग पालन पोषण गर्दै आएको बताउछन् ।

केहिसमय अगाडि दुबइ गएर छुट्टीमा फर्केका धरान-५ कै अर्का यूवा महेस लिम्बू अब फेरी दुबइ नफर्कीने सोच बनाएका छन् । आफु जस्तै आर्थिक हैसियत भएकासंगैका सहपाठीहरुले नेपालमै बसेर कसैले टिपर, टेक्टर, घर, जग्गा जोडेका छन् , कसैले बङ्गुर तथा कुखुरा पालन गरेर राम्रो आम्दानि लिइरहेका छन् , त कोही किराना तथा इलेक्टोनीक सामानको पसल खोलेरै बिदेशको भन्दापनि राम्रो कमाइ गरिरहेका छन् । यो देखेर महेस पनि अब पुनः खाडी फर्कीने सोच हराएको छ । महेसले यतिबेला आफुले जोहो गरेको अलिकती पैसा अनि बैकबाट निकालेकाे किस्ता र साहुबाट जरजाम गरि एउटा पुरानाे ट्याकटर खरिद गरेका छन् । उनि भन्छन् “ लामो समय विदेश बसेर परिवार पालोे फर्किदा केहि गर्ने साथमा न पैसा न सिप हुन्छ । समाज पनि परिर्वतन भैसकेको हुन्छ, अलमल्ल परिन्छ । ”

यतिबेला उनको टेक्टरमा ढुङगा गिट्टि बालुवा जस्ता निर्माणका सामाग्रीको ओसार पोसार गरिरहेको छ । १ चालक र २ मजदुर गरि ३ जनालाई पनि उनले रोजगार प्रदान गरेका छन् ।

कुनदेशको कुन कम्पनी कस्तो, कुन मेनपावर कस्तो, कुन मेनपावरले छिटो उडाउछ कुन देशको रेट कती छ । भनेर चर्चा हुने स्थानिय स्थानहरु त्यहि भएपनि चर्चा भने बदलिएको छ, आजकाल कुन व्यावसाय मा कति मुनाफ हुन्छ, त्यसका सवल र दुर्वल पक्षहरु केके हुन भन्ने बिषयमा चर्चा हुनेगरेको पाइन्छ । कसले कुन व्यावसाय गरेको छ, कति लगानिमा कस्तो व्यावसाय सुरु गर्न सकिन्छ भन्ने बिषयमा चर्चा हुनेगरेको धरान-५ देउरालीका साना होटल व्यावसायीहरु बताउँछन् ।