भद्रपुर/ सुपाडी तस्करीको ट्राञ्जिट काकडभिट्टा यतिबेला नक्कली सुन र नोटको आयत ट्राञ्जिट बनेको छ ।  तर, पछिल्लो समय सुपाडी कारोबारमा गिरावट आएपछि नक्कली नोट र सुनको कारोबार फस्टाउन थालेको हो ।

काँकडभिट्टासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल सीमावर्ती बजार क्षेत्रमा नक्कली नोट र सुनको कारोबार फष्टाएको पछिल्लो घटनाले पुष्टी गरेको छ । काँकडभिट्टा नाकादेखि ७ किलोमिटर उत्तरमा रहेको भारत नक्सलबाडी बजार क्षेत्रबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ४१ बटालियनले बिस्कुट आकारको १ सय २५ पिस नक्कली सुनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । प्रहरीले दार्जिलिङ्गका दिलिप गुरुङ्ग र सेरिङ्ग भुटियालाई सुनसहित पक्राउ गरेको नक्सलबाडी प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामले जनाएको छ ।

उनीहरूलाई विशेष सूचनाको आधारमा नक्सलबाडी रथखोला क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ । सुन नेपालबाट भित्राएको प्रहरीले आशङ्का गरेको छ । केही दिनअघि नेपाली एक हजार दरका आठ सय थान अर्थात् आठ लाख नेपाली नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

एसएसबीले नक्सलबाडीका मनोज आचार्यलाई आठलाख नक्कली नोटसहित पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानको क्रममा आचार्यले उक्त परिणामका नेपाली नक्कली नोट काकँडभिट्टाबाट नेपाल भित्राउने योजनामा रहेको खुलेको थियो ।

चालु आर्थिक वर्षको साउन २९ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार नक्कली नेपाली नोटसहित दुई कारोबारीलाई समात्यो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भारत पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढीका ४० वर्षीय शतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई ५० हजार नेपाली नक्कली नोटसहित पक्राउ गरेको थियो ।

उनीहरूले धुलाबारी बजारबाट नेपाली नोट बोकेर भारतीय सटहीका लागि काँकडभिट्टामा घुमिरहेका थिए । प्रहरीले सतिसको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रूपैयाँ नक्कली नोट फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । यस्ता घटनाले पछिल्लो समय दुवै देशका सुरक्षाकर्मीलाई चुनौती थपेको छ ।

कारोबारीले आफ्ना धन्दा परिवर्तन गरेपछि प्रहरीको लागि टाउँको दुखाइको विषय बनेको छ । नजिकिदै गरेको चाडपर्वलाई समेत ध्यानमा राखेर सुरक्षा व्यवस्था मजबुत पारिएको झापा प्रहरी एसपी भिमप्रसाद ढकालले बताए । सीमा क्षेत्रको १ सय १८ किलोमिटर क्षेत्रपूर्ण सुरक्षाको निगरानीमा राखिएको एसपी ढकाल बताउँछन् ।

सुरक्षाको लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको उनले जनाए । नक्कली नोटको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए तर, नक्कली सुनको विषयमा कुनै जानकारीमा नआएको उनको भनाइ छ । नेपाल प्रहरीलाई भारतीय प्रहरीले सोधपुछ नगरेका कारण यो विषयमा केही भन्न नमिल्ने उनले जनाए ।

केही महिनाअघि भारतबाट नै नेपाल ल्याउदै गरेको दुइकिलो सुन चाहिँ बरामद गरेर मुद्दा चेलेको हो तर, पछिल्लो घटनामा भारत प्रहरीले भारतीयलाई नै पक्राउ गरेकाले उसका गतिविधि थाहा नभएको उनले बताए ।

‘तर पनि सीमा क्षेत्रमा यस्ता प्रकारका नक्कली सामानको कारोबार हुने रहेछ भन्ने प्रहरीलाई जानकारी भयो, अब प्रहरी शसक्त ढङ्गले लाग्छ ।’ उनले भने ।