विराटनगर/नेपाल खानेपानी संस्थान विराटनगरबाट प्रदेश १ को अस्थायी राजधानी विराटनगर क्षेत्रमा वितरण हुने पानी दैनिक ३० लाख लिटर चुहावट हुने गरेको पाइएको छ ।

यसलाई युनिटमा लाँदा ३ हजार हुन आउँछ । संस्थानले उपभोक्तालाई लिने एक युनिटको २५ रुपैयाँको दरले हिसाब गर्ने हो भने दैनिक ७५ हजार मूल्य बराबरको पानी चुहावट हुने गरेको पाइएको हो ।

विराटनगर महानगरपालिका क्षेत्रमा भएको विकास निर्माण र संस्थानले विस्तार गरेको खानेपानी पाइप जीर्ण हुँदा खानेपानी संस्थानले वितरण गरेको पानी चुहावट हुने गरेको नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले जानकारी दिए । महानगरपालिका क्षेत्रमा वितरण गर्न दैनिक १ करोड २० लाख लिटर पानी उत्पादन हुने गरेको उनले बताए ।

त्यसमा दैनिक ३० लाख लिटर चुहावट हुने गरेको उनले स्वीकारे । विराटनगरमा चारवटा ट्याङ्कीबाट वितरण हुने पानी सबैभन्दा बढी रानी–धरान सडक–खण्ड अन्तर्गत निर्माण भइरहेको क्षेत्रमा चुहावट हुने गरेको खानेपानी संस्थानको कार्यालयले जानकारी दिएको छ ।

‘दरबन्दी अनुसारको कर्मचरी छैनन्’ कार्यालय प्रमुख साहले भने, ‘लिकेज भएको ठाउँमा तत्काल कर्मचारी पठाउन नसक्दा अलिक बढी चुहावट देखियो, अलिक बढी चुहावट महानगर क्षेत्रमा भइरहेको विकास निर्माणले गर्दा नै हो । केही ठाउँमा वितरण भएको मूल पाइप नै टुटेर धेरै पानी लिकेज हुन्छ ।’

पानी चुहावट भएको स्थानमा खानेपानीको कर्मचारीहरूलाई खबर गर्दा समेत समयमै आइनपुग्दा पछिल्लो समयमा बढी नै चुहावट हुने गरेको स्थानीयले बताए ।

छिमेकी जिल्लाहरूमा पानीको हाहाकार भइरहेको अवस्थामा महानगर क्षेत्रमा भने यति ठूलो परिमाणमा चुहावट हुँदासमेत खानेपानी संस्थान चुहावट नियन्त्रण गर्न प्रभावकारी भूमिका नदेखाउनु लज्जास्पद भएको स्थानीय बताउँछन् ।

प्रदेशको १ मात्र महानगरपालिका रहेको विराटनगर क्षेत्रमा तीनपैनी, मुनालपथ, देवकोटाचौक र रानीमा रहेको खानेपानी ट्याङ्कीबाट पानी वितरण हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ सम्ममा ११ हजार ५ सय ४५ धारा जडान भएको कार्यालय प्रमुख साहले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष विराटनगर क्षेत्रमा २ सयको संख्यामा नयाँ धारा जडानको माग आउने गरेको छ । आर्थिक वर्षमा ५ करोड ६ लाख ८१ हजार ५ सय २१ रुपैयाँ महसुल नउठेको खानेपानी संस्थान विराटनगरले जनाएको छ ।