विराटनगर/नेपाल खानेपानी संस्थान विराटनगरले करोडौं रूपैयाँ खानेपानीको बक्यौता उठाउन बाँकी रहेको छ । आर्थिक वर्ष २०७४/०७५ सम्म २ करोड ५० लाख रूपैयाँ खानेपानीको बक्यौता उठ्न बाँकी रहेको संस्थानले जनाएको छ । संस्थानले महसुल बुझाउन समयमै ताकेता गर्दा समेत ग्राहकहरूले महसुल तिर्ने बानी नभएका कारण वर्षेनी करोडौं रूपैयाँ बक्यौता हुने गरेको संस्थानले जनाएको छ । संस्थानको पानी उपभोग गरे पनि सरकारी कार्यालयहरूको नै एकदशकदेखि बक्यौता बाँकी रहेको देखिन्छ । विराटनगरको कोशी प्रोजेक्टमा रहेको सुनसरी–मोरङ सिंचाइ योजनाले विगत आठ वर्षदेखि पानी उपभोग गरेबापतको बक्यौता संस्थानलाई बुझाएको छैन । सिंचाइले ३२ लाख रूपैयाँ खानेपानीको बक्यौता बाँकी रहेको छ । कार्यालयपरिसर र क्वार्टरमा समेत गरी ११ वटा धारा जडान गरी सिंचाइले संस्थानको पानी उपभोग गर्दै आएको छ । संस्थानले खानेपानीको बक्यौता बुझाउन पत्रचार गर्दासमेत सिंचाइले टेरपुच्छर लगाएको छैन ।

त्यस्तै जिल्ला शिक्षा कार्यालय मोरङको ३७ लाख ६१ हजार ५ सय ४४ रूपैयाँ बक्यौता रहेको खानेपानी संस्थानको तथ्याङ्कमा देखिन्छ । त्यस्तै विराटनगर महानगरपालिकाको नाममा रहेको त्रिवेणी वाचनालयले २२ हजार ३ सय ८३ रुपैयाँ बक्यौता बुझाउनुपर्ने देखिन्छ । संस्थानका अुनसार निजी क्षेत्रको समेत ठूलो रकम बक्यौता उठ्न बाँकी रहेको जनाएको छ । एक जना उपभोक्ताको १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म बक्यौता बाँकी रहेको कार्यालयको भनाइ छ । ‘पानीको बक्यौता बाँकी रहेको सरकारी कार्यालयलाई पटक–पटक भुक्तानी गर्न पत्रचार ग¥यौं’ खानेपानी संस्थान विराटनगरका कार्यालय प्रमुख शैलेन्द्र साहले भने, ‘अहिलेसम्म बक्यौता बुझाउन आएका छैनन् ।’ पहिलो चरणमा बक्यौता तिर्न पत्राचार गर्ने र पुनः बुझाउन नआए कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

लामो समयदेखि बक्यौता बुझाउन बाँकी रहेको कार्यालय र उपभोक्तालाई जानकारी गराउन लेखा अधिकृत दिनेश चिमरीयाको नेतृत्वमा ‘बक्यौता टोली’ बनेको साहले जानकारी दिए । ‘लेखा अधिकृतको नेतृत्वमा बनेको टोलीले बक्यौता उठाउन ताकेता गर्नेछ’ –उनले भने । संस्थानले आर्थिक वर्ष २०७४÷०७५ सम्ममा ११ हजार ५ सय ४५ धारा जडान गरिसकेको कार्यालय प्रमुख साहले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष विराटनगर महानगरपालिकाभित्र २ सयको संख्यामा नयाँ धारा जडानको माग आउने गरेको छ । आर्थिक वर्षमा ५ करोड ६ लाख ८१ हजार ५ सय २१ रूपैयाँ बक्यौता उठेको कार्यालयले जनाएको छ । संस्थानको केन्द्रीय कार्यालयले दिएको लक्ष्यभन्दा बढी बक्यौता उठान विराटनगर कार्यालय सफल भएको उनले बताए । केन्द्रीय कार्यालयले आर्थिक वर्षमा ४ करोड २५ लाख ८४ हजार रुपैयाँ खानेपानीको बक्यौता उठाउन लक्ष्य दिएको साहले बताए ।

प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका रहेको विराटनगर क्षेत्रमा चार वटा ट्याङ्कीबाट पानी वितरण हुने गरेको छ । यहाँ तीनपैनी, मुनालपथ, देवकोटाचौक र रानीमा रहेको खानेपानी ट्याङ्कीबाट पानी वितरण हुने गरेको छ । प्रत्येक ट्याङ्की साढे ४ लाख लिटर क्षमताको छ ।