इटहरी/  इटहरी –५ मा रहेको पर्यटकीय गन्तव्य काव्यवाटिका अहिले अलपत्र हुन पुगेको छ । फितलो व्यवस्थापन र उपमहानगरको हेलचेक्राइको कारण इटहरीको मुटु काव्यवाटिका अहिले अलपत्र हुन पुगेको हो ।

भाषण तथा चियापसलमा पर्यटकीय क्षेत्रको खरो कुरा गर्ने आफूलाई पर्यटनकर्मी भन्न रुचाउनेहरु पनि बहुसांस्कृतिक पर्यटकीय क्षेत्रको कल्पनाका साथ सुरु भएको पर्यटकीय क्षेत्रबारे अनविज्ञ छन । केही वर्ष अगाडिसम्म पर्यटकहरुको भिडभाड देखिने काव्यवाटिकामा लामो समयदेखि भोटेताल्चा लगाएर राखिएको छ ।

काव्यवाटिका समितिको हेलचेक्राइका कारण इटहरीको मुख्य क्षेत्रमा रहेको पर्यटककीय क्षेत्र ओझेलमा पर्दै आएको छ । उपमहानगर र समितिको लापरबाहीले काव्यवाटिका युवाहरूकाे लागूऔषध सेवन गर्ने ठाउँ बन्दै अाएकाे छ । तत्काल संरक्षणमा लाग्नु पर्ने स्थानीय अगुवा लाग्नु पर्ने स्थानीय मनबहादुर रेग्मीले बताए ।

उनले भने ‘काव्यवाटिकालार्इ व्यवस्थापन गर्न सरकारले दशकदेखि  प्रयास गरेकै छैन ।’ उनी मात्र हैन यस आसपासका सर्वसाधरणहरुले पनि स्थानीय सरकार प्रति रुष्ट बन्दै आएका छन् ।

इटहरी–५ मा रहेको २ विगाह १९ कठ्ठा जमिनमा बहुसांस्कृतिक पर्यटकीय क्षेत्रको कल्पनाका साथ सुरु भएको काव्यवाटिकाकाे  अहिले नामै मात्रको हुन पुगेको भन्दै इटहरीका सामाजिक अगुवाहरुले आपत्ति जनाउन थालेका छन् ।

होटल व्यवसायी सङ्घ  इटहरीका पूर्व अध्यक्ष तथा सामाजिक अगुवा अनुरोध थापाले इटहरीको गौरव  काव्यवाटिकालाई उचित व्यवस्थापन गर्न माग गरे । सरकारले काव्यवाटिकालार्इ पर्यटकीय क्षेत्र बनाए उपमहानगरको आयस्रोत पनि बढ्ने बताउँछन् ।

चर्चित कलाकार विक्रम श्रिको परिकल्पनामा बनाइएको  काव्यवाटिकालार्इ इटहरीका सरोकारवाला व्यक्तिले बुझ्न नसकेकाे साहित्यकार तथा पत्रकार सन्तोष यादवले बताउँछन् ।

उनी भन्छन् ‘इटहरी तीव्र रुपमा विकास भइरहे पनि त्यो सँगै साहित्य, कला र पर्यटन बुझ्ने  व्यक्तिकाे कमिका कारण काव्यवाटिकाले यो नियति भोग्नु परेको छ ।’

काव्यवाटिकालार्इ व्यवस्थापन गर्ने हो भने साहित्य र कलाको मात्र नभई इटहरीवासीका लागि मनोरम स्थलको रुपमा विकास हुने यादवकाे तर्क छ ।

‘काव्यवाटिकालार्इ पर्यटकीय क्षेत्र नै बनाउनु पर्छ । इटहरीको गौरवको विषय रहेको  काव्यवाटिका पहिलाकै स्वरुपमा राख्नु पर्छ  ।’ विराटक्षेत्र पर्यटन प्रवर्द्धन  विकास समितिका सदस्य तथा इटहरीका स्थायीवासिन्दा रविन गौतमले भने ।

‘उपमहानगरले यसलाई व्यवस्थापन गर्नुको विकल्प नभएको गौतम बताउँछन् । राज्यले लगानी गरेर त्यसलाई पार्क बनाउनु पर्छ अलपत्र अवस्थामा छोड्नु गैरजिम्मेवारी हो ।’ गाैतम भन्छन् ।

काव्यवाटिका समितिका तत्कालीन अध्यक्ष ठमनाथ लम्सालले भने, ‘उपमहानगरपालिकाले अफ्ठ्याराे पर्दा मलाई देखाउँछ सहज हुँदा समिति भनेर वास्ता गर्दैन म समितिमा छु कि छैन थाहा भएन, समितिविहीनजस्तै छ ।’

‘खै के भइरहेको छ मलाई थाहा छैन‘ लम्सालले भने, ‘समितिको अधिकार कार्यान्वयन नभएपछि मैले त्यतिबेला देखि नै वास्ता गरिरहेकाे छैन जनप्रतिनिधिहरुले पनि काव्यवाटिकालार्इ वेवास्ता गर्दै आएक छन् ।’

इटहरीका मेयर द्वारिकलाल चौधरीले काव्यवाटिकाकाे बेहाल भएको स्वीकार गरे । ‘ताल्चा लगाएर  राखिएको छ अपराध हुने सम्भावना समेत बढ्दै गएको छ ।’ मेयर चौधरी भन्छन् ।

चाैधरीले काव्यवाटिका अव्यवस्थित हुँदा समस्या भइरहेको बताए । काव्यवाटिकालार्इ बहुजातीय सङ्ग्रहालय बनाउने विषयमा अनौपचारिक छलफल समेत सुरु भएको उनी बताउँछन् । ‘हामी काव्यवाटिकालार्इ व्यवस्थित बनाउन लागिपरेका छाैँ, यस विषयमा हामी गम्भिर छाैँ ।’ मेयर चाैधरीले भने ।

क्यान्सर अस्पताल आउने हल्ला मात्र नेपाल क्यान्सर फाउन्डेसनले इटहरीमा ४ अर्बको लगानीमा अत्याधुनिक सुविधा सम्पन अस्पताल निर्माण गर्ने भने पनि जग्गा अपुग देखाउँदै फाउण्डेसनले काव्यवाटिकाको जग्गामा अस्पताल नबनाउने भएको छ ।

विभिन्न सङ्घसंस्थाहरूबाट बजेट जुटाई ४ सय करोड लगानीमा निर्माण गर्ने भने पनि जग्गा विवाद तथा स्थानीयको सहयोग नपाएपछि लगानीकर्ताहरुले उक्त जग्गामा अस्पताल नबनाउने भएका हुन् ।

एक सय शैया क्षमताको अस्पताल निर्माण गर्ने काव्यवाटिकाकाे २ विगाह जग्गा दिने उपमहानगरपालिकाले निर्णय समेत गरेको छ । क्यान्सरसम्बन्धी सबै उपचारसहितको सेवा दिने उद्देश्यले निर्माण हुन लागेको अस्पतालको जग्गा उपलब्ध गराउने निर्णय भएपनि अस्पताल नबन्ने पक्का भएको हो ।