इटहरी/इटहरीको मुख्य सडक आसपास बढेको अतिक्रमण नियन्त्रण गर्न इटहरी उपमहानगर सक्रिय बनेको छ । व्यवसायीले सडक अतिक्रमण गरेर इटहरी कुरुप बनाएपछि स्थानीय सरकार त्यसले नियन्त्रण गर्न थालेको हो । सडकमा अतिक्रमण अति भएपछि इटहरी उपमहानगरपालिकाले बुधबार स्काभेटर र डोजर लगाएर त्यस्ता क्षेत्र खाली गराएको छ । हाललाई मापदण्डमा परेको घरहरू नभत्काउने तर पेटी तीन फिट बाँकी राखी अन्य संरचना हटाएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । सडक स्वच्छ र खुल्ला राखेपछि आवत–जावत गर्न सजिलो हुने अवस्थालाई ध्यानमा नराखी आफूखुसी सडकमा सामग्री थुपारेर व्यापार–व्यवसाय सञ्चालन गरेको भन्दै उपमहानगर डोजरसहित अतिक्रमण हटाउन आएको हो ।  पछिल्लो समय हाईवे अतिक्रमण बढ्दै जान थालेपछि सडकको दायाँ–बायाँ गरी साढे ८२ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाउन डोजर चलाउन बाध्य भएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बताउँछन् । उनी भन्छन्, ‘बारम्बार सूचना दिए पनि व्यापारीहरूले सडक अतिक्रमण नहटाएपछि डोजर चलाउन शुरु गरेका हौं । सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउन सडक दायाँ–बायाँका क्षेत्र खाली गरेको हो ।’

सरसफाइ र सडक अतिक्रमणका कुरामा नगरपालिका जिम्मेवार बन्नुपर्छ भने यातायातका साधन व्यवस्थित गर्न ट्राफिकको भूमिका हुनुपर्छ । उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले अव्यवस्थित पार्किङले पनि इटहरी कुरुप बन्दै गएको जनाए । उनले भने, ‘छिमेकी शहरहरूले पनि साढे ८२ मिटर सडक क्लियर गरिसकेकोले इटहरीले पनि गर्नु आवश्यक छ ।’ सडक अतिक्रमणका कारण पैदलयात्री हिँड्नसमेत समस्या हुँदै आएको उनको भनाइ थियो ।  व्यवसाय गर्न घरभाडामा लिएपछि सामान राख्ने स्थानका बारेमा पनि सोच्नु पर्छ । तर इटहरीमा भने फलफूल पसलदेखि हार्डवेयर पसललेसमेत सडक आफ्नै जस्तो गरी कब्जा गरिरहेका छन् । इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प चौधरीले इटहरी कुरुप बन्दै गएपछि हाईवेमा अतिक्रमित सडकमा डोजर चलाएको बताए । ‘बढ्दो सडक दुर्घटना रोक्नसमेत सडक अतिक्रमण रोक्नु आवश्यक थियो’ –उनले भने । ठूला व्यापारीदेखि ठेलावालासम्मले सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन गरेका कारण पैदलयात्री सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी रवि पौडेलले व्यापारीहरूले मनपरी तरिकाले सडक अतिक्रमण गरी राखेको सामग्री हटाउन थालेको जनाए । इटहरीको मुख्य चौक अस्तव्यस्त हुँदै गएपछि व्यवस्थित बनाउन आफूहरू पनि लागेको उनको भनाइ थियो । ‘पहाडी जिल्लामा समेत सडक अतिक्रमण भइरहेको भन्दै त्यसलाई रोक्न ट्राफिक प्रहरीले स्थानीयसँग सहकार्य गरेर हटाउन शुरु गरेका छौं’ –एसपी पौडेलले भने, ‘सडकमा इँटा, रड तथा बिक्रीका लागी राखिएका सामग्रीहरू सडकमै राख्ने गरेको पाइयो ।’

के छ नियम ? नेपालमा २०३१ मा लागू भएको सार्वजनिक सडक ऐनले भन्छ– सडक अतिक्रमण गर्न पाइँदैन । यसबारे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ मा प्रष्ट व्यवस्था गरिएको छ । सडक ऐन २०३१ को दफा नम्बर १९ मा भनिएको छ– घरटहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी यस्तै अन्य कुनै कार्य गर्न हुँदैन । सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने माल वा वस्तु हटाउने अधिकार शीर्षक दफाले यो कुरा विस्तृत रूपमा लेखेको छ । त्यस क्रममा लागेको खर्च पनि सम्बन्धित सरोकारवालाबाटै भराउने व्यवस्था पनि सार्वजनिक सडक ऐन २०३१ को दफा २१ मा प्रष्ट भनिएको छ ।