भद्रपुर/तीनवर्षको अवधिमा झापामा २ सय ३५ ओटा यौनजन्य हिंसाका घटना भएका छन् । झापामा रहेका ८ नगरपालिका र ७ गाउँपालिका गरी पन्ध्रवटा स्थानीय तहमा यस्ता घटना भएका हुन् । जसमध्ये सबैभन्दा बढी बिर्तामोडमा ४४ वटा भएका छन् । ग्रामीण क्षेत्रका स्थानीय तहमा न्यून छ । यो तथ्याङ्क आर्थिक वर्ष ०७२/०७३ देखि आर्थिक वर्ष ०७४/०७५ सम्मको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा सडक सुरक्षाका लागि युवाको सहकार्यमा बुधबार बिर्तामोडमा भएको यौनजन्य हिंसा न्यूनीकरण र सडक सुरक्षामा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । तथ्याङ्कलाई प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले प्रस्तुत गरे । एसपी ढकालले सार्वजनिक गरेअनुसार नगरपालिकाहरूमा विर्तामोड ४४, दमक ३९, अर्जुनधारा ३२, मेचीनगर २४, भद्रपुर १४, शिवशताक्षी १२, कन्काई ९ र गौरादहमा ५ वटा छन् । त्यसैगरी गाउँपालिकाहरूमा कमलमा १२, बुद्धशान्ति ११, बाह्रदशी १०, गौरीगञ्ज ९, हल्दीबारी ६, कचनकवलमा ४ र झापामा ४ वटा छन् । तथ्याङ्कलाई तुलना गरेर अनुसन्धान गर्दा शहरीकरणमा बढी घटना हुने एसपी ढकाल बताउँछन् । बेलुका ६ देखि मध्यरातसम्म बढी घटना हुने साथै १६ देखि २५ वर्ष उमेर समूहका पुरुष संलग्न देखिने गरेको ढकालले कार्यपत्र पेश गरे । हालसम्म भएका घटनामा डरत्रास, धाकधम्की, ललाइफकाइ, आर्थिक प्रलोभन, शरीरबन्धक, जनचेतनाको अभाव, मादक पदार्थ, प्रेमविवाह, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणबाट हुँदै आएको उनले जनाए । पछिल्लो समय यौनजन्य घटना अत्यधिक बढेकाले न्यूनीकरण गर्ने प्रयासले भदौ ३ गतेबाट घटना हुन नदिन २ सय ३५ जना टोल–टोलमा प्रहरी खटाइएको उनको भनाइ छ । घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइसकिएको उनले जनाए ।
झापामा ११ सय ६२ जना कार्यरत प्रहरी र ८ लाख ८ हजार ३ सय २४ जनसङ्ख्या रहेको हुँदा ६ सय ५२ जना बराबर एक प्रहरी हुने भएकोले सुरक्षा चुनौती देखिएको उनले जनाए । साधन स्रोत, कम प्राविधिक लगायतको समस्या देखिएको उनले बताए । प्रहरी एक्लैले केही गर्न नसक्ने भएकाले स्थानीय तहको कानून निर्माणमा यसलाई अनिवार्य गराई खुला दिसामुक्त भने झैं मदिरा निषेधित, यौनजन्य क्रियाकलाप निषेधित जस्ता कुरालाई छलफलको विषय बनाइनु पर्ने उनको माग थियो । त्यसैगरी सडक सुरक्षाको विषयमा जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर राजेश राईले प्रष्ट पारेका थिए । सडकको अवस्था नाजुक, बढ्दो सवारी चाप, साँघुरो सडक, छाडा चौपाया लगायत समस्या रहेको औंल्याएका थिए । हालसम्म मेची यातायात कार्यालयमा मात्र १ लाख ५६ हजारको हाराहारीमा सवारी दर्ता भएको जानकारी गराए । इन्स्पेक्टर राईले ०७२/७३ देखि ०७४/७५ सम्ममा ५ सय ६८ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएको बताए । उनले सार्वजनिक गरेअनुसार ०७२/७३ मा १ सय ९८, ०७३/७४ मा १ सय ९१ र ०७४/७५ मा १ सय ७९ जनाले ज्यान गुमाएको जनाए । सङ्ख्या घटे पनि मृत्युदर नघटेको उनको भनाइ छ ।
प्रहरी प्रशासनको नभई १५ स्थानीय तहका ७ सय ५० जना जनप्रतिनिधि नलागेसम्म घटना न्यूनीकरण नहुने विर्तामोड नगरका मेयर धु्रवकुमार सिवाकोटीले बताए । आरोपितलाई थुनेर राज्यको भात खुवाएर यौनजन्य हिंसा न्यूनीकरण नहुने उनको धारणा थियो । नातावाद र कृपावाद लिएर प्रहरीलाई हस्तछेप गरियो भने कार्यक्रमको कुनै औचित्य नभएको उल्लेख गरेका थिए । हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले सुरक्षाको लागि प्रहरीलाई मोटरसाइकल दिएर तेलसमेत उपलब्ध गराउँदा पनि जनताले सुरक्षा नपाएको गुनासो गरे । सडकभन्दा पनि सवारी पार्किङ महत्वपूर्ण रहेको गिरीले धारणा राखेका थिए । कार्यक्रममा झापा गाउँपालिका, कमल गाउँपालिकालगायतले आ–आफ्नो धारणा सार्वजनिक गर्दै सामूहिक प्रतिबद्धता जनाएका थिए । एसपी ढकालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सडक सुरक्षाका लागि युवाका कोषाध्यक्ष उमेश रेग्मीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष राजिना पाण्डेले सडक दुर्घटनाका कारण तथा न्यूनीकरण र यातायात व्यवस्थापनसम्बन्धी कार्यपत्र पेश गरेकी थिइन् । सचिव नरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रहरी प्रशासन, पत्रकारलगायतको सहभागिता रहेको थियो ।