उदयपुर/ उदयपुरको पहाडी भेग पीपल भञ्ज्याङका एक सुन्तला व्यवसायीले राम्रो आम्दानी गर्दै आएका छन् ।  ताप्ली गाउँपालिका–१ पीपल भञ्ज्याङका टोपबहादुर ठकुरीले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएका हुन् । ठकुरीले २०६२ सालदेखि सुन्तला खेतीको व्यवसायिक रूपमा काम थाले र हाल वार्षिक १० लाखसम्म आम्दनी गर्दै आएको बताए ।  धनकुटाको पाख्रीबासको सुन्तला खेती देखेर प्रेरित भएका ठकुरीले सुरुवातमा तीन सय र २०६६ सालमा एक सय ३० बोट सुन्तलाको विरुवा लगाई ४ सय ३० बोटको सुन्तला बगान बनाएको व्यवसायी ठकुरी बताउँछन् । विरुवा लगाएको ५ वर्षदेखि फल दिन थाल्ने भएकाले सुरुमा २५–३० हजार आम्दानी भएको थियो । वर्षेनी सुन्तलाको फल वृद्धि हुँदै गएपछि हाल १० लाखसम्म आम्दानी हुने उनी बताउँछन् । बाह्रै महिना सुन्तलाको स्याहार–सुसार र मलजल गर्नु पर्छ भने कुनै बेला मौसमको प्रभावका कारणले उत्पादनमा केही कमी आए पनि आम्दानी राम्रै हुने ठकुरीले बताए ।

चैत–बैशाखमा फूल फुली मंसिर–पुसमा फल पाक्ने गर्दछ । मलजल पुसदेखि माघसम्म गर्नु पर्दछ  । ठकुरीले गोठे मलको प्रयोगद्वारा सुन्तला उत्पादन गर्दै आएका छन् । सुन्तला खेतीमा मिहिनेतअनुसारको आम्दानी पनि राम्रो हुने ठकुरी बताउँछन् । अरु बालीभन्दा १०–१२ गुणा बढी फाइदा हुने गरेको ठकुरीले बताए । सुन्तला पाकेपछि खरिद गर्न जनकपुर, लहान, राजविराज, विराटनगर लगायतको व्यापारीहरू बारीमै आइपुग्ने ठकुरीले बताए । युवाहरू विदेशिने क्रम बढ्दो अवस्थामा उनले भने गाउँघरमै नमुना सुन्तला व्यवसाय गरेर राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला विज्ञहरूले बोट ३० वर्षसम्म बाँच्ने बताए पनि उनले ६० वर्षसम्म सुन्तलाबाट आम्दानी लिन सक्ने दाबी गर्छन् ।

सुन्तला व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि परिवार खुसी र सुखी भएको ठकुरी बताउँछन् ।