विराटनगर/सुनसरी घर भएकी इन्दिरा कार्की १९ वर्षकी भइन् । उनको विवाह करिब २ वर्षअगाडि सोही ठाउँका दीपकसँग भयो । विवाह भएको एक वर्षपछि इन्दिरा गर्भवती भइन् । उनले केही दिनअगाडि मात्र १ किलो ६ सय ग्रामको छोरा जन्माइन् । उनकोे गर्भको अवधि ३३ हप्ता नपुग्दै अर्थात् ७ महिना १८ दिनमा नै व्यथा लागेर विराटनगरस्थित मोरङ सहकारी अस्पताल आइन् । उनको पाठेघरको मुख खुलिसकेका कारण व्यथा रोक्न सकिएन र कम तौल तथा अवधि नपुगेको (प्रिटर्म) बच्चा जन्मियो । किशोरी अवस्थामा गर्भवती हुने र गर्भको जटिलता तथा स्वास्थ्यमा आउने समस्या भोग्ने इन्दिरा पहिलो किशोरी भने होइनन् ।

पछिल्लो समय कम उमेरमा विवाह गरी किशोरी अवस्थामा गर्भवती हुने संख्या बढ्दै गएको छ । कम उमेरमा विवाह गरी किशोरी अवस्थामै गर्भवती हुँदा स्वास्थ्य जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । जनचेतनाको कमीका कारण युवतीहरू २० वर्ष नपुग्दै विवाह गर्छन् । उमेर नपुग्दै विवाह गर्ने युवतीमा गर्भवतीको बेला जोखिम बढ्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्याङ्क अनुसार २० वर्ष नपुग्दै धेरै युवतीहरू गर्भवती हुने गरेको तथ्याङ्कले देखिएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७२७३ मा २४ दशमलव ५९ प्रतिशत गर्भवती महिला २० वर्षमुनिका थिए । यो तथ्याङ्कमा केही कमी आउँदा आर्थिक वर्ष ०७३/७४ मा पनि २० वर्षमुनिका गर्भवती महिलाको संख्या २१.३३ प्रतिशत रहेको थियो । कम उमेरमा गर्भवती हुनेहरूको दर बढेर आर्थिक वर्ष ०७४/७५ मा गर्भवती महिलाको संख्या पुनः २७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७२/७३ मा २९ हजार ८६ जना गर्भवती महिलामध्ये २० वर्षमुनिकाको संख्या ७ हजार १ सय ५४ थियो । गत आर्थिक वर्षमा भने २८ हजार ८ सय ४९ जना गर्भवती महिलामध्ये ६ हजार १ सय ६५ जना महिला २० वर्षमुनिका थिए । आर्थिक वर्षमा २९ हजार ५१ जना गर्भवती महिलामध्ये ८ हजार १ सय जना महिला २० वर्षमुनिका रहेको जनस्वास्थ्यको तथ्याङ्क शाखा प्रमुख उमेश लुइटेलले जानकारी दिए । स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको तथ्याङ्क भने यसमा छैन । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको दबाव, सानै उमेरमा प्रेम गरेर भागीविवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको जानकार बताउँछन् ।

सरकारले छोराको उमेर २२ र छोरीको उमेर २० वर्ष कटेपछि गरेको विवाहलाई परिपक्व विवाह मान्दै आएको छ । यद्यपि विगत ३ वर्षको तथ्याङ्क हेर्दा यो अवस्था घटेको देखिएको छैन । कम्तीमा २० वर्ष उमेर पूरा नभई गर्भवती भए उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखापर्ने गरेको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण साहको भनाइ छ । चिकित्सकको रूपमा काम गर्दा २० वर्ष नभई गर्भवती हुँदा आइपरेका जटिल समस्या देखेको बताउँदै डा.साहले उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर, आङ खस्ने समस्या, कम तौलका बच्चाको जन्म हुने र आमालाई उच्च रक्तचापको समस्या हुने गरेको बताए । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ताभन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धी जटिलताहरू थपिने सम्भावना बढी हुने गरेको उनले बताए । ‘गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन, गर्भको बच्चामा पनि प्रतिकूल असर पर्दछ’ –डा. साहले भने ।

‘डेमोग्राफी एण्ड हेल्थ सर्भे–२०११’ ले प्रकाशन गरेको तथ्याङ्कअनुसार विश्वभर औषत महिलाको विवाह १७ दशमलव ५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ । सन् २०१६ को तथ्याङ्कअनुसार औषत महिलाको विवाह गर्ने उमेर १७ दशमलव ९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ ।