इटहरी/ चुलाचौका र मेलापातमा अघिल्लो पुस्ताका महिलाले जीवन गुजारे पनि हालका छोरीबुहारी भने गाउँ घरमै स्वरोजगार हुनका लागि व्यवसायिक सीप रोज्ने गरेका छन् । चुलाचौका र मेलापातमा अघिल्लो पुस्ताका महिलाहरूले जीवन गुजारे पनि हालका छोरीबुहारी भने गाउँ घरमै स्वरोजगार हुनका लागि व्यवसायिक सीप रोज्न तम्सिने गरेका छन । गाउँघरकै विद्यालयमा उच्च शिक्षासम्म अध्ययन गरेका तर रोजगारीका लागि लोकसेवालगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा प्रतिस्पर्धा गर्न नसक्ने छोरीबुहारीको आत्मनिर्भरताका लागि पहिलो रोजाइ व्यवसायिक सीप बन्ने गरेको छ । गाउँघरमा सरकारी तथा गैरसरकारी निकायले दिने विभिन्न आय–आर्जन र व्यवसायिक सीप विकासका तालिममा पुरुषभन्दा महिलाको सहभागिता बढ्दै गएको छ । ग्रामिण क्षेत्रका महिलाहरू घर गृहस्थीमै व्यस्त हुुन्छन् । तर हातमा सीप प्रदान गर्ने हो भने आत्मनिर्भर बन्न सक्ने महिलाहरूको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाले ग्रामिण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउन सञ्चालन गरेको ३ महिने सीप सिकेपछि केही गर्ने आँट पलाएको बताएका छन् । इटहरी–३ की यसोदा पाठक चोलो, कुर्था सुरुवाल, सर्ट–पेन्ट सिलाउन सिकेपछि खुसी छिन् । ‘व्यवसायिक बन्न सीपको आवश्यकता पर्दोरहेछ ।’ उनले उत्साहित हुँदै भनिन् । ‘थोरै लगानीमा आफ्नै गाउँघरमा पसल सञ्चालन गर्ने सोच आयो ।’ उनले थपिन । बजारमा सिलाइ कटाइका सम्भावना पनि उत्तिकै छन् । दिन प्रतिदिन महिलाहरूको यसतर्फको आकर्षण बढ्दै गएको छ । थोरै लगानीमा बजारमा धेरै माग भएका सामानहरू तयार गरी बिक्रीबाट राम्रो आयआर्जन गर्न सकिने तालिमकी प्रशिक्षक भावना बजगाईं बताउँछिन् । उनले भनिन्, ‘मिहिनेत गर्ने हो भने महिलाहरूले घरमै बसेर राम्रो पैसा कमाउन सक्छन् ।’ महिलाहरूमा कुनै सीप, दक्षता नभएकाले पुरुषहरूले हेला गर्ने र परम्परागत गुजरामुखी खेतीपातीले जीवनभरि काम गर्नुपर्ने तर खान लगाउन नपुग्ने भएपछि अहिलेका महिलाहरू व्यवसायिक र सीप मुलक तालिम लिएर स्वरोजगार हुन उत्साहित हुने गरेको बताउँछिन् इटहरी चोकमा सिलाइकटाइ गर्दै आएकी रुविना विष्ट । उनी भन्छिन्, ‘महिलाहरू पनि रोजगारी बन्ने माध्यम सिलाइकटाइसँगै ब्युटीपार्लर पनि बनेको छ ।’
गाउँमा अहिले पुरुषभन्दा महिलाहरूमा निकै उर्जा र उत्साह देखिन्छ । तालिमप्रति महिलाको आकर्षण र उनीहरूको सीप वृद्धि देखेर वडा कार्यालयले अझ थप दोस्रो चरणको तालिम पनि दिने योजना बनाएको वडा नं. ३ का वडाध्यक्ष बालकृष्ण विष्टले जनाए । उपमहानगरले अहिले पहिलो पटक उपमेयर आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि पहिलो पटक परीक्षण कार्यक्रमका रूपमा यो कार्यक्रमलाई सञ्चालनमा ल्याइएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले भनिन्, ‘नगरका महिलाहरूलाई दक्ष बनाउन अहिले सबै वडा कार्यालयमा कार्यक्रम सञ्चालन हुँदैछ ।’