वराहक्षेत्र/वराहक्षेत्रको चतरास्थित दाह संकारस्थल चतरा दुर्वासाघाटलाई सुविधा सम्पन्न तथा व्यवस्थित बनाउन स्थानीयले माग गरेका छन् । आर्यघाटमा थुप्रिएको पानीको बोतल, फ्रुटीका प्याकेट, प्लास्टिकजन्य पदार्थ तथा जथाभावी भएको फोहोरमैलाले गर्दा अन्त्येष्ठीस्थल, दुर्गन्धित र अस्त–व्यत भएपछि व्यवस्थित गर्न उनीहरूले वराहक्षेत्र नगरपालिकासँग माग गरेका हुन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ मा रहेको आर्यघाटमा दाहसंस्कार गर्दा ल्याइएका सयौं मिनरल वाटरका बोतलहरू र फ्रुटीको खोल थुप्रिएको स्थानीय चतराका व्यापारी बृजनन्दन साहले बताए । दाताले निर्माण गरेको आश्रयस्थल वरिपरि र कोठामा गाईवस्तुको गोबरले भरिएको उनले बताए ।
आर्यघाटमा दिन–रात दुवै समयमा अन्त्येष्ठी गर्न स्थानीय तथा धरान, इटहरी र विराटनगर जस्ता शहरबाट मानिसहरू जाने गर्दछन् । तर त्यहाँ ओत लाग्नेबाहेक विद्युत्, खानेपानीको सामान्य सुविधासमेत नभएको मलामी आएका धरान–१६ का सुनिल साहले बताए । बाहिरबाट दाहसंस्कार गर्न राति आएकाहरूले दुःख पाउने गरेको उनले बताए । आर्यघाटमा आफू बस्ने कुटीमा व्यक्तिगत प्रयोगका लागि ल्याइएको पानी र विजुलीले मलामीलाई सहयोग गर्ने गरेको घाटसेवक बैदाङ्गे झाँक्री अलक ढिस विरुबाबाले बताए ।
वराहक्षेत्रको चतराबाहेक वडानम्बर २ को तेह्र आरडी जब्दीमा रहेको अन्त्येष्ठीस्थलको अवस्था पनि उस्तै रहेको स्थानीयले बताए । यस बारेमा बुझ्दा चतरास्थित श्मसानघाटलाई सुविधा सम्पन्न बनाउने हालसम्म नगरपालिकासँग कुनै योजना नभएको भन्दै वडाबाट योजनाको माग गरिए नपाले घाट व्यवस्थित गर्न सकिने वराहक्षेत्र नगरपालिकाका प्रशासकीय अधिकृत अच्यूतप्रसाद दाहालले बताए । यसअघि २०५१÷५२ सालमा जगद्गुरु बालसन्तले राधाकृष्णभक्ति साधना अध्यात्मिक प्रतिष्ठान निर्माण गरेपछि प्राचीन दुर्वासाघाट झण्डै ३ सय मिटर दक्षिण सारिएको थियो ।