ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार, झापाको विर्तामोडका साथै अन्य स्थानबाट पुगेका सवारी साधनको अन्तिमविन्दु । साथै पुर्वकै प्रसिद्ध तिर्थ स्थल पाथिभरा भएको जिल्ला । यहाँ वार्षिक करिब ३ लाख धार्मिक पर्यटक पाथिभरा र १ हजार बढी पर्यटक कञ्चनजंघा आधार शिविर पुग्नको लागि आउने गर्छन् । यो संगै मानिसहरुको भिडले स्वत् रुपमा फोहोर त बनाउने नै भयो । बजारमा चिटिक्क परेका घर त छन् तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित बन्नथालेका छन् ।
स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराउँदै गएको छ । सोहि शोभा हराउन थालेका सहरको फोहोरमा भने युवाहरुको नजर पर्न थालेको छ । बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् । व्यस्तताले पिरोल्दा पिरोल्दै पनि खालीसमयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजार क्षेत्र सुन्दर बनाउन लागेका हुन् । स्थानिय युवाहरुको ‘सोसियल युथ गाइज’ नामक समूहले संस्थागत रूपमै युवाहरूले नगर सरसफाइ अभियानको सुरुवात गरेका हुन् । ‘सुन्दर फुङलिङ नगर’ नारा दिएर प्रत्येक महिनाको १ दिन नगर सरसफाइ अभियानको थालनी गरिएको गाइजका सचिव लीलाराज पौडेलले बताए । ‘कति सधैं अरूले गरेनन् मात्र भनेर अर्काकै मुखमात्र ताकेर बस्ने ? ’, पौडेलले भने, ‘आफू बसेको ठाउँ सफा सुन्दर बनाउने दायित्व हाम्रै हो भनेर सुरु गरेका हौं ।’रोजगार पाइएन्, काम गर्ने वातावरण भएन, भनेर दिनहुँ ठूलो संख्यामा युवाहरू कामको खोजीमा बिदेशी रहेका छन् ।कोही स्वदेशमै बसेर पनि यस्तो भएन उस्तो भएन भनेर सरकारलाई गालीमात्र गर्छन् । तर यी युवा आफ्नै ठाउँमा केही गरौं भनेर लागिपरेका छन् । युवाको यो अभियान असार मसान्तदेखि सुरु भएको हो । जिल्ला भित्रिने प्रवेशद्वार सदरमुकाम फुङलिङ बजार नै हो ।
फुङलिङकै बाटो भएर वर्षमा ३ लाख धार्मिक पर्यटक पाथिभरा र १ हजार बढी पर्यटक कञ्चनजंघा आधारशिविर पुग्छन् । प्रवेशद्वार नै फोहोर र कुरूप भयो भनेर धेरै आगन्तुकको गुनासो गर्न थालेपछि अभियान सुरु गरिएको गाइजका अध्यक्ष केशव आचार्यले बताए ।
‘पहिलो पटक ताप्लेजुङ आउनेले गाडीबाट ओर्लनासाथ फोहोर र धुलोका कारण रुमालले मुख छोपेको पहिल्यैदेखि देखिरहेका थियौं’, आचार्य भन्छन्, ‘त्यसैले कर्यक्रम सुरु गर्ने सोच जन्मायौं ।’ समूहमा अहिले २३ जना सहभागी छन् । सबै केही न केही व्यवसायमा आबद्ध छन् । ‘व्यापारी, कर्मचारी, उद्यमी, सञ्चारकर्मी विभिन्न क्षेत्रका युवा मिलेर टिम बनाएका छौं’, सहसचिव गंगा लिङ्खिमले भनिन्, ‘कामको व्यस्तताबीच समाजकालागि थोरै समय छुट्याएका छौं ।’
युवाहरूले बजारका विभिन्न ठाउँमा ३० वटा फोहोर हाल्ने ड्रम राखेका छन् । ‘मसान्तको दिन बिहान सबै जना बजारको एउटा ठाउँमा गाइजको टिसर्ट लगाएर भेला हुन्छौं र झाडु लगाउन थाल्छौं’, कोषाध्यक्ष तारानाथ सिग्देलले भने, ‘मन हुने बजारका अन्य व्यवसायी लगायत विभिन्न संघसंस्थाका महानुभावले पनि सघाउनुहुन्छ ।’मसान्तको दुई दिन अघि नगरपालिका, नेपाली सेना, नेपाल र सशस्त्रप्रहरी, उद्योग वाणिज्य संघ, रेडक्रस लगायत विभिन्न कार्यालयमा पत्र पठाएर सरसफाइ कार्यक्रममा उपस्थितिकालागि अनुरोध गर्ने गरिएको उपाध्यक्ष संगीता कार्कीले बताइन् ।
सेना र दुवै प्रहरीले हालसम्मको कार्यक्रममा उल्लेखनीय सहयोग गरेको उनको भनाइ छ । कार्यक्रममा जिसस प्रमुख धनेन्द्र मादेन, फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेल समेत सहभागी भए । उनीहरूले युवाहरूको काम अत्यन्तै प्रशंसनीय भएको भन्दै आफूहरूले पूर्ण सहयोग गर्ने बताएका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे र रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले पनि सोसियल युथ गाइजलाई सहयोग गर्ने बताए ।
बिचमा रोकिएपनि केहि महिनायता बजारको फोहोरलाई नगरपालिकाले नियमित रुपमा उठाएर नजिकैको डम्पिङ साइडमा फालिरहेको छ । युवाहरूले उठाएको फोहोरपनि नगरले नै व्यवस्थापन गर्छ । तर, बजारको मुख्यलाइनमा र भित्री साइडमा फोहोरका थुप्रा उत्तिकै देखिन्छ । ‘स्थानीयले घरायसी फोहोर जथाभावी सडक तथा नालीमा फालिदिन्छन् । घरको ढलसमेत नदीमा मिसाएका छन् ।
बजारका मानिसलाई अब यस सम्बन्धि सचेतना पनि फैलाउनुपर्ने भयो ।’ गाइजका सदस्य निमा शेर्पाले भने, ‘उनीहरूको यो बानी सधैंकालागि हटाउन जुटेर सफाइ अभियान थालेकाहौं ।’ फोहोरले भरिएका बजार नजिकैका भित्रि खोल्सा र गल्लीमापनि सरसफाइ गर्ने योजना रहेको उनले सुनाए ।