धनकुटा/ पटक–पटक क्षति व्यहोर्नु भन्दा भवन बनाउँदा भूकम्प प्रतिरोधी भवन बनाउनु पर्नेमा बुधबार यहाँ आयोजित एक अभिमुखीकरण गोष्ठीमा बोल्ने वक्ताले जोड दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई धनकुटाको स्थानीय संयोजनमा सम्पन्न गाउँ तथा नगरपालिकास्तरीय पुनःनिर्माण सम्बन्धी अभिमुखीकरण तथा योजना निर्माण कार्यशाला गोष्ठीमा सहभागी सरोकारवाला निकायका वक्ताले यस्तो जोड दिएका हुन् ।
योजना निर्माण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्कबहादुर चौहानले निजी घर भत्केर मान्छे अलपत्र अवस्थामा बस्नु परेको तीन वर्ष बित्न लाग्दा पनि पुनर्निर्माण नसकिनु ठीक नभएको बताए । उनले भूकम्प प्राधिकरणलाई राजनीति गर्ने थलोको रूपमा हेरिएको भन्दै प्राधिकरणको काम कारबाहीलाई आलोचना गरेका थिए । उनले प्रविधिको सही प्रयोग गर्न नसक्दा आफैँले बनाएको संरचनाले सिध्याएको बताए । उनले पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता डेढ लाख आएको अब तेस्रो किस्ता कहिले आउने ? भन्दै प्राधिकरणलाई प्रश्न गरेका थिए । अझै थुप्रै घर निर्माण हुन बाँकी रहेको पनि उनले स्पष्ट पारे । आयोजित कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले भूकम्पबाट भएको क्षतिको भावी सन्ततिलाई शिक्षा दिन सक्नु पर्नेमा जोड दिए । उनले पटक–पटक घर बनाउनुभन्दा भूकम्प प्रतिरोधी भवन मापदण्डअनुसार बनाउन पर्नेमा जोड दिए । आगामी दिनमा भवन बनाउदा क्षति न्यूनीकरण हुने खाल्को भवन बनाउनु पर्नेमा जोड दिँदै कार्कीले भने ‘मापदण्ड पूरा गरेरमात्र भवन बनाउनु पर्छ ।’ सो अवसरमा सहभागी जिल्लाका सातै तहका प्रतिनिधित्व गर्दैै पाख्रीवास नगरपालिकाका प्रमुख वृषबहादुर राईले स्थानीय तहलाई पूर्ण रुपमा जवाफदेही बनाउनु पर्नेमा जोड दिए । उनले आफ्नो नगरपालिकामा ३ सय ३३ घर भत्किएकामा २ सय ४० घर प्रभावितले पुनःनिर्माण आयोजनासँग सम्झौता गरेको बताए । जस मध्ये १ सय ८ घरपरिवारले पहिलो र दोस्रो किस्ता रकम पाएको र हालसम्म तेस्रो किस्ता रकम कोही कसैले नपाएको बताए । उनले भूकम्प प्राधिकरणले स्थानीय तहलाई पूर्ण अधिकार दिनु पर्नेमा जोड दिँदै राईले भने, ‘पुनर्निर्माणको रकम पाउनेले पाएकोपाएकै छन्, नपाउनेले पाएका छैनन् ।’
जिल्लाका सातै तहका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख एवम् उप–प्रमुख, जिल्ला समन्वय अधिकारी, सातै तहका प्रमुख प्रशासकीय अधिकृतहरू, योजना शाखाका प्राविधिक र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको कार्यशाला गोष्ठीमा सहजीकरण एचआरआरपीका राष्ट्रिय कार्यक्रम संयोजक रूपलाल ऐडी, सिन्धुली जिल्ला प्राविधिक संयोजक लेखनाथ पौडेल, भूकम्प प्राधिकरणका केन्द्रीय सूचना व्यवस्थापन अधिकृत जावेथ महोमदले गरेका थिए । सो अवसरमा एचआरआरपीका राष्ट्रिय कार्यक्रम संयोजक रुपलाल ऐडीले स्थानीय तहका जनप्रतिनिधिसँग पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया गरेका थिए । उनले सो अवसरमा भूकम्प पुनर्निर्माणको मार्गदर्शक सिद्धान्त, क्षतिको अवस्था र लगानीको अवस्था, पुनःनिर्माणको अवधारणा, प्राधिकरणको मुख्य काम, पुनःनिर्माणको संस्थागत कार्यान्वयन ढाँचा, आवास पुनःनिर्माण अनुदानको अवधारणा, पुनःनिर्माणका लागि गाउँ तथा नगरपालिकास्तरीय घुम्ती कोष सञ्चालन आदिका बारेमा सहजीकरण गरेका थिए । ऐडीले ०७२ सालको भूकम्पमा ८ हजार, ७ सय ९० को मृत्यु र २२ हजार ३ सय घाइते भएको तथ्याङ्क सार्वजनिक गरेका थिए ।
सो अवसरमा कार्यक्रमको सञ्चालन प्राविधिक संयोजक लेखनाथ पौडेलले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला आयोजना कार्यालय धनकुटाका प्रमुख दीपनारायण झाले गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहानको अध्यक्षतमा सम्पन्न भएको थियो ।