घण्टाघर/धरानका छात्रा फुटबलको सपना साकार पार्न लागिपरेका छन् । धरान महिला फुटबल क्लबमा आवद्ध बन्दै छात्राहरू आफ्नाे भविष्य साकार बनाउन लागिपरेका छन् । घर सतीसाले मोरङ (हाल केराबारी–६) की सीमा आले मगर क्लबकी टिम क्याप्टेन हुन् । उनको एउटै सपना छ–भविष्यमा नेपाली राष्ट्रिय महिला टिममा आवद्ध बन्ने । अहिले उनी त्यही सपना साकार बनाउन कडा मेहनत गरिरहेकी छिन् । हरेक दिन बिहान सबेरै उठ्नु अनि साथीभाइसँगको जमघट अनि पढाइलाई निरन्तरता दिँदै खेल मैदानमा पुगेकै हुन्छिन् । त्यहाँ अधिकांश किशोरी नै उपस्थित हुन्छन्, प्रशिक्षकसँगको प्रत्यक्ष निगरानीमा प्रशिक्षणमा लिन्छिन् । ‘मेरो ‘एम’ नै राम्रो र सफल खेलाडी बन्ने हो ।’ उनले भनिन् । क्याप्टेनको भूमिका निभाउँदै गरेकी उनले अहिलेसम्म आधा दर्जन जति प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । सतीसालेकै सार्वजनिक स्कुलमा हाल १२ कक्षामा पढ्ने उनी क्लबकी अध्यक्ष भगवती राना मगरको ‘च्वाइस’मा परेकी खेलाडी हुन् । ‘४–५ वर्षअघि सतीसालेमा खेल्दा उनको खेल उत्कष्ट लाग्यो, त्यहीबाटै मैले छानेर यहाँसम्म डोहो¥याएकी हुँ ।’ उनले भनिन् ।

सीमाजस्तै क्लबमै आवद्ध अन्य छात्राहरूको पनि चाहना र सपना छ, राष्ट्रिय टोलीबाट फुटबल खेल्ने । उनीहरु झैं महिला फुटबलको राष्ट्रिय टोलीबाट खेल्ने धोको बोकेका करिब २० जना छात्राहरू बिहान–बेलुकी कडा प्रशिक्षणमै रहने गरेका छन् । पुरूषहरूको मात्रै दबदबा रहेको नेपाली फुटबलमा यो प्रशिक्षणले छात्राहरूमा आकर्षण बढाइदिएको क्लबकी महासचिव रञ्जिता राई बताउँछिन् ।  क्लबका आवद्ध छात्राहरूले प्रशिक्षणसँगै खेलकुद प्रतियोगितामा पनि भाग लिएकै हुन्छन् । क्लबकी अध्यक्ष भगवतीका अनुसार प्रायःजसो प्रशिक्षण चलिरहन्छ । छात्राहरूमध्येबाट क्षमतावानलाई टिममा तयार गरिनेछ । त्यो टिमले क्षेत्रीय, राष्ट्रियस्तरको समेत प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । ‘प्रशिक्षणमा ७ देखि १० कक्षासम्मका छात्राहरु सहभागी छन, राम्रो टिम बन्छ भन्ने लागेको छ’, प्रशिक्षक राना मगरले भनिन् । क्लबकी कोषाध्यक्ष प्रेमिषा तामाङ धरान उच्चमा बायोलोजी विषय लिएर पढ्छिन् तर पनि उनमा पनि फुटबल मोह जाग्दो छ । उनी महिलाका लागि फुटबलमा ‘स्कोप’ रहेको देख्छिन् । ‘फुटबलमा इच्छासँगै क्षमता भएपनि छात्रा खेलाडीहरूले अवसर पाइरहेका छैनन्, त्यो कुरा सम्बन्धित निकायले बुभ्mनु जरुरी छ ।’ उने भनिन् ।

प्रशिक्षक एवं क्लबकी अध्यक्ष राना मगरका अनुसार हालसम्म महिला खेलाडीले राष्ट्रियस्तरसम्म प्रतिनिधित्व गरिसकेका छन् ‘प्रशिक्षणमा सहभागिता जनाएका अधिकाङ्श खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।’ उनले थपिन् । महिलालाई फुटबलमा क्रेज बढाउन, खेलको माध्यमबाट आत्मविश्वास बढाउन, सचेतना, सशक्तिकरणका लागि आफू लागिपरेको उनको भनाइ छ । ‘महिलाहरुलाई फुटबल खेलमा प्रोत्साहन गर्नका लागि खेललाई माध्यम बनाइएको हो’, उनको कथन छ, ‘यसका लागि सम्बन्धित निकायको ध्यान पुगे हुन्थ्यो ।’ उनले फुटबलसँगै महिला उत्प्रेरणा, सशक्तिकरण, स्वास्थ्य, अधिकारका कुरा साथै फुटबल आदिका बारेमा प्रशिक्षण दिइएको बताइन् । ‘महिला फुटबलले उभो पनि लगाएको छ’, उनले गर्वका साथ भनिन्, ‘महिला फुटबल प्रशिक्षकको संख्यामा कमी भइरहेको बेलामा यस्ता कार्यक्रमले थप हौसला मिल्छ ।’  धरान फुटबलको मिनी ब्राजिलको रूपमा चिनिन्छ । विशेषतः पुरुष खेलाडीको दबदबा रहेको धरानमा महिला फुटबलका लागि पनि केही सोच्नुपर्ने उनको तर्क छ ।

धरान फुटबल क्लबका अध्यक्ष एवम् एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईका अनुसार यसपटकदेखि दन्तकाली महिला फुटबल आयोजना गर्ने तयारी भइरहेको छ । ‘महिलाहरूको क्षमता विकास, सशक्तिकरणका लागि यस्तो कार्यक्रमको तयारी थालिएको हो ।’ उनले भने ।