नेपाली महिलाको महान् चाड तीजको रमझम एक महिना अगाडिदेखि नै शुरु भएको छ  । यो देखावटी दुनियाँ हो, एउटाले गरेपछि अर्कोले गर्नैपर्ने, यही देखावटीका कारण अहिले शहरमा तीज आतङ्क छ । मरी लानु के छ रमाइलो गरौँ भन्दै तीज मनाउने महिलाहरूको समूह वर्षेनी बढ्दो छ । संस्कृतिलाई निरन्तरता दिन या यसको जगेर्नाभन्दा पनि रमाइलोका लागी तीज कार्यक्रम अहिले शहरीक्षेत्रमा व्यापक छ । विगतमा एक दिन खाइने दर एक महिना अघिदेखि खान थालिएपछि र तीजको ब्रतको दिन एक दिन नाचिने नाच धेरै अगाडिदेखि नाच्न थालेपछि तीज भड्किलो हुँदै गएको हो । समय सँगसँगै महिलाको हैसियत र उनीहरूलाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन आउनुलाई स्वभाविक मान्नु पर्छ । तर समय बदलिएको छ भन्दैमा तीज आउन एक महिना बाँकी छँदै तीजको तडकभडक देखाउनु राम्रो हो त ? बजारमा तीजको नाममा समेत चन्दा उठ्न थालेको छ ।

चिनेजानेकालाई पैसा मागेर तीज मनाउने कस्तो परम्परा भित्र्याउँदैछन् हाम्रा आमा, दिदीबहिनीहरूले ? यसरी तीज पर्वसम्म चन्दा उठाएर गरिनु राम्रो हो र ? तीजलाई तडकभडक नगरी मनाउन सकिन्न र ? खानपिन र नाचगानका कार्यक्रमहरूमा मात्रै सीमित नभएर सामाजिक रूपान्तरणका कार्यमा पनि त्यत्तिकै सक्रिय हुनु आवश्यक छ । अहिले पार्टीपिच्छेका महिला सङ्गठनहरूले छुट्टै, टोलमा भएका संस्थाहरूले आफ्नै, व्यावसायिक संस्थाहरूले आ–आफ्नै आयोजनामा छुट्टाछुट्टै कार्यक्रम गरेर तीज मनाउने गरेका कारण यो असाध्यै लामो पर्व झैं पनि भएको छ । दशैं, तिहारजस्ता चाडहरूको निश्चित समय भए पनि तीज चाहिँ जहिलेदेखि मनाए पनि हुन्छ भने झैं गरेर मनाइन थालिएकोले पनि यसको तडकभडक बढेको हो ।

सुनका गहनाले झराझुट्ट हुनैपर्नेजस्ता विकृतिहरूबाट भने यो चाडले अब मुक्ति पाउनै पर्छ । पोसाक र गहना प्रदर्शन होइन दुःख भुल्ने, मनोरञ्जन लिने र परिवर्तनका लागि दबाव दिने पर्वका रूपमा तीज अघि बढ्नुपर्छ । एक्काइसौं शताब्दीको मानव सभ्यता भए पनि अहिले विभिन्न चाडबाड, रीतिरिवाज संस्कृतिको नाममा हुने गरेका क्रियाकलापहरू हाम्रो समाजको लागि अपाच्य छन्, यो यथार्थ हो । समय र ठाउँअनुसार केही परिवर्तन हुनु स्वभाविक हो तर परिवर्तन पनि चाहिनेभन्दा बढी भइरहेको छ हाम्रो समाजमा अहिले ।

हरितालिका तीज दिदीबहिनीहरू माइतीमा जम्मा भई तीजको अघिल्लो दिन दर खाई दिनभरि ब्रत बस्ने दुःख–सुखको गीत गाउँदै सुख–दुःख साटासाट गर्दै रमाइलो गर्ने चाडपर्व भए पनि अहिले पछिल्लो समय झड्किलो बन्दै गएको छ । पाँच–सात वर्षयता तीज अत्यधिक भड्किलो बन्दै गएको सबैलाई थाहा नै छ । शहरमा तीज आउन एक महिना बाँकी हुँदैदेखि दरखाने प्रचलन बढ्न थालेको छ । दिदीबहिनीहरूबीच एक–आपसमा सुख–दुःख साटासाट गर्नेभन्दा पनि नयाँ, महँगा गहना र साडी प्रदर्शन गर्ने चाडको रूपमा समेत विकास हुँदै गएको छ । महँगा र धेरै गहना लगाएर हिँड्दा छिमेकी एवम् गरिब विपन्न महिलाहरुलाई देखासिकी गर्दा चाडपर्व महँगो बन्दै गएको पक्का छ ।

यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथाव्यथाहरूलाई गीतको माध्यमद्वारा पस्केर भव्यताका साथ तीज मनाउनु पर्ने हो । महिलाहरूले दीर्घायुको कामना गर्न लगाउने तिलहरी हात्ती बाँध्ने साङ्लो जसरी लगाउन थालेका छन् । घाँटीको सिक्रीले भैंसीकै दाम्लो पुग्ला झैं लाग्छ । हातमा साङ्लो जसरी सुनकै बाला प्रदर्शनी गर्छन् । कमाइ हुने, पैसा हुने र को कति सम्पन्न छ ? कसले कति गहना जोड्यो भनेर थरी–थरीका गहना जोड्ने र तिजका दिनमा त्यो प्रदर्शनी जस्तै गर्न थालिएको छ यो तीजको विकृति हो ।

पक्कै पनि समय परिवर्तनशील छ । समाजले परिवर्तन चाहन्छ र समयसापेक्ष परिवर्तन हुनु पनि पर्छ । तर, परिवर्तनका नाममा भित्रिने विसङ्गति, विकृति र आर्थिक दम्भले भने हामी चेतनशील प्राणीलाई नराम्ररी गाँजेको तीतो यथार्थ भने समाजमा यत्रतत्र छर्लङ्ग छ । तीज कतै धनी र हुनेखाने परिवारको मात्रै त होइन ? भन्ने भान जनमानसमा पर्न थालेको देखिन्छ । तीज धेरै महँगो बनेको छ । आर्थिक रकमसमेत उठाउँदै दर खाने कार्यक्रम राख्नेहरुलाई के भन्नु र खै । नारी एकता जिन्दावाद ! र नारी एक हौँ भनी नारा लगाउने र भाषण ठोक्ने नारी अधिकारवादी सचेत नारीले यस्ता विकृति र विसङ्गतिप्रति किन आवाज नउठाएका होलान् ? यस विषयमा महिला अगुवाहरुले सोच्ने बेला आएको छ ।

अहिले बजारमा महिलाहरु पनि विभाजित भएका छन् । पार्टी पार्टीबीचको तीज कार्यक्रम होडबाजी चलिरहेको छ । महिलाको तीज पार्टीमा जमात देखाउन प्रदर्शन गरिनु कतिको जायज होला ? पोइल जान पाम, डिस्कोमा तीज, तीजमा दरको साटो रक्सी खाइन्छ, देखियो जामा फाटेर लगायतका दोहोरो अर्थ लाग्ने गीत बज्दा अहिले पनि गाउँमा कान थुन्नुको विकल्प छैन । यस्ता उच्छृङ्खल र छाडा गीत, सङ्गीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो संस्कार, संस्कृति एवम् परम्परालाई पटक्कै फाइदा पुग्ने छैन । तीज गीतको नाममा छाडा, उच्छृङ्खल शब्द र खासगरी महिलाकै प्रतिष्ठा एवम् चरित्रमा आघात पुर्याउने शब्दावलीको प्रयोग गरिने प्रचलन बढेको छ । सामाजिक मान्यता विपरीत मर्यादा र अनुशासनका सीमा नाघेर रचिने गीतहरूले समाजमा विकृति भिœयाउन नै मद्दत गर्छन् । त्यसकारण त्यस्ता गीतलाई प्रश्रय दिने सञ्चारमाध्यमले पनि सोचुन् । त्यस्ता गीत बज्दा अहिले पनि हाम्रा गाउँमा ती सञ्चार माध्यम बन्द हुन्छन् ।

तीजको महत्व परापूर्व कालमा सानै उमेरदेखि महादेव स्वामी पाऊँ भनी आराधना गरिरहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो चाहना अनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरू डाकी आफूलाई लुकाएर राखिदिन अनुरोध गरिन् र उनको अनुरोधअनुसार साथीहरूले पार्वतीलाई एउटा जङ्गलमा लगी लुकाएर आए ।