आत्महत्या विश्वभर एउटा जटिल समस्याको रूपमा रहेको छ । यसका कारणले हरेक चालीस सेकेण्डमा एकजना, प्रतिदिन तीन हजार र हरेक वर्ष आठ लाखको मृत्यु हुने गरेको छ । २००४ को तथ्याङ्कअनुसार २०२० सम्म अपेक्षित आत्महत्या दर पन्ध्र लाख प्रतिवर्ष पुग्नेछ । यो १५ देखि २९ वर्ष समूहको मृत्युको दोस्रो ठूलो कारण हो । वार्षिक विश्वव्यापी उमेर–मानकीकृत आत्महत्या दर १० दशमलव ५ प्रतिलाख छ । ७८ प्रतिशत अत्महत्या निम्न र मध्यम् आय भएका देशहरूमा हुने गरेको छ । यसको प्रमुख माध्यम विषादि सेवन रहेको छ, जुन ३०५ ले प्रयोग गर्छन्, अरु माध्यमहरूमा घाँटीमा पासो लगाई झुण्डिएर र हतियारको प्रयोगबाट हुन्छ । आत्महत्या प्रयास गर्नेमा महिला २ देखि ३ गुणा बढी हुन्छन् तर मृत्यु हुनेमा पुरूष ३ गुणा बढी हुन्छन् ।

आत्महत्याको कारणहरूमा धेरै जटिल सामाजिक–साँस्कृतिक कारकहरू हुन्छन् । यो घट्ने बढी सम्भावना सामाजिक, आर्थिक, पारिवारिक र व्यक्तिगत सङ्कटको अवधिमा हुन्छ । जस्तैः नजिकको प्रियजनको मृत्यु, बेरोजगारी, जीवनमा दोहोरो विफलता, सम्मानबाट विच्छेद आदि । मानसिक रोगहरू जस्तैः डिप्रेसन, रक्सी र लागूऔषधमा निर्भरता, व्यक्तित्व विकार, साइकोसिस आदि पनि यसको कारण हुनसक्छ । २००३ देखि आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्गठनले विश्व स्वास्थ्य सङ्गठन र मानसिक स्वास्थ्यको विश्वसङ्घसँग समन्वय गरेर मनाउँदै आएको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष आत्महत्या रोक्न विश्वव्यापी प्रतिबद्धता र कार्ययोजना उपलब्ध गराउन सेप्टेम्बर १० मा मनाइन्छ । २०१४ सम्ममा कम आय भएका शून्य, दश प्रतिशत मध्यम् आय भएका र एक तिहाई उच्च आय भएका देशहरूले मात्र राष्ट्रिय आत्महत्या रोकथाम रणनीति अपनाएको पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई सार्वजनिक स्वास्थ्य प्राथमिकताको रूपमा राखेको छ, त्यसैले सन् २००८ को मानसिक स्वास्थ्य अन्तर्गत ग्याप ९mजनबउ० कार्यक्रममा (कम र मध्य आय भएका देशहरू लक्षित) प्राथमिकतामा राखेको छ । मानसिक स्वास्थ्य कार्ययोजना २०१३–२० मा सदस्य राष्ट्रहरूले आत्महत्या दर १०५ ले घटाउने लक्षतिर काम गर्न प्रतिबद्धता जनाएका छन् । यो वर्षको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने छ । सबै कुराको समाधानहरू र स्रोतहरू उपलब्ध हुन्छन् र साथसाथै सहानुभूति र दयालु भावना आत्महत्या विचारहरूबाट मुक्त गर्नको लागि आवश्यक हुन्छ ।

एक मिनेट लिनुहोस् तपाईंले कसैलाई एक मिनेट दिनाले परिवारको कोही सदस्य, मित्र, सहकर्मी जीवनको मार्ग परिवर्तन हुन सक्छ । के छ भनेर सोध्न एक मिनेट लिनुहोस् यदि तपाईलाई केही कुरा फरक छ भन्ने लाग्छ भने एक मिनेट लिएर कुराकानी शुरू गर्नुहोस् के सहयोग छ ? भनेर पत्ता लगाउन लिनुहोस् । जसले आत्महत्या प्रयास गरिसकेका छन्, आत्महत्या रोकथाम प्रयासको लागि उनीहरूको शब्दहरू र कार्यहरू महत्वपूर्ण हुन सक्छ । प्रायः मान्छे सहयोगका लागि अगाडि आउन अनिच्छुक हुन्छन्, धेरै कारणहरूमध्ये एउटा ‘के भन्ने’ भनेर डर हो । जबकी कुरा कसरी राख्ने भन्ने कुनै विशिष्ट सूत्र छैन, आफूलाई जसरी सहज हुन्छ, त्यसरी गर्दा हुन्छ । अर्काे चाहिँ स्थिति झन् बिग्रिन्छ कि भन्ने चिन्ता हो । किनकि यो एउटा मुस्किल र भ्रमले भरिएको विषय हो ।

भ्रम र तथ्य –एकपटक आत्महत्या प्रयास गर्ने मानिस सधैँ प्रयासरत रहन्छ, –प्रायः छोटो अवधिको र स्थिति विशेष हुन्छ, –आत्महत्या गर्ने विचारहरू स्थायी हुँदैनन्, –आत्महत्याको बारेमा कुरा गर्दा प्रोत्साहन गर्छ, –रोगी कुरा व्यक्त गर्न इच्छुक हुन्छ तर थाहा हुँदैन, कोसँग कसरी कुरा गर्ने ? –कुरा गर्नुले अर्को विकल्प वा फेरि सोच्ने समय दिन्छ, –मानसिक बिरामीले मात्र आत्महत्याको सोच राख्छन्, –आत्महत्याको व्यवहारले गहिरो दुःखलाई सङ्केत गर्दछ, न त मानसिक रोगलाई, –धेरै मानसिक रोगीहरू आत्महत्यातर्फ तत्पर हुँदैनन्, –अधिकांश आत्महत्या चेतावनी बिना हुन्छ, –प्रायः घटनाअघि चेतावनीका सङ्केतहरू हुन्छन्, मौखिक वा व्यवहारिक, –चिन्हहरू बुझ्न र तिनीहरूको खोजी गर्न आवश्यक छ, –आशाहीनता, क्रोध, बदला लिन खोज्ने, बेजोड वा खतरनाक क्रियाकलापहरू गर्ने, अरूबाट एक्लिने, फन्दामा परेजस्तो लाग्ने, निन्द्रामा विचलित हुने, नाटकीय मुड परिवर्तनहरू आदि । –कोही आत्महत्या गर्ने सोचाइ राख्छ भने त्यसकै कारणले मर्ने निश्चित हुन्छ, –प्रायः मानिस जीवित रहने वा मर्ने बारेमा अस्पष्ट हुन्छन्, –कसैले उत्तेजनामा त्यस्तो प्रयास गर्छन् र अनिच्छाले मृत्यु हुन्छ, –जसले आत्महत्याको कुरा गर्छ त्यसले गर्र्दैन, –सायद मद्दत र समर्थनको लागि प्रयास गरेको हुनसक्छ, –सायद डर, निराशा र आशाहीनताको सामना गर्र्दै गरेको हुन सक्छ । जीवन बचाउन ५ कुरा अपनाउनुहोस्

यो अभियानले सबैलाई उनीहरूको समयबाट ५ मिनेट लिन र पाँच कार्यवस्तुहरू पूरा गर्न प्रोत्साहन दिन्छ । १. चेतावनी चिन्ह चिन्नुहोस्, आफुलाई चोट पुर्याउने वा मर्ने धम्की दिने, मर्न चाहने कुरा गर्ने, मर्नको लागि तरिका खोज्ने, मृत्युको बारेमा कुरा गरे वा लेखेमा  । २. आफ्नो प्रयास गर्नुहोस् । यसमा सबैले योगदान गर्न सक्छन् । जस्तैः परिवारको सदस्य, साथी, शिक्षक, छिमेकी आदि । कसैले नबोल्दा पनि उसको भावना बुझ्ने कोशिस गर्नुस्, मानसिक स्वास्थ्यबारेमा कुरा गर्नुस् र समस्या भए कुरा गर्न प्रेरित गर्नुस् र आफु सदैव सुन्न तयार रहनुहोस् । ३. आफ्नो हेरचाह गर्न अभ्यास गर्नुहोस् । आफु र परिवारको लागि समय दिनुहोस्, राम्रो खाना, पर्याप्त निन्द्रा, व्यायाम, अरूलाई मद्दत गर्नुहोस्, तनाव व्यवस्थापन गर्नुहोस्, मेडिकल समस्या व्यवस्थापन गर्नुहोस्, मद्दत माग्नुहोस् । ४. आवश्यकतामा पुग्नुहोस् । थाहा पाउनुहोस् कहाँ मद्दतको लागि कुरा गर्ने, भरोसा भएकोसँग कुरा राख्नुहोस्, हटलाइनमा कल गर्नुहोस्, मनो– चिकित्सकसँग भेट्नुहोस्, अरूको आशा र रिकभरीको कथाहरू पढ्नुहोस् । ५. जानकारी फैलाउनुहोस्ः अरू ५ जनासँग यसबारेमा कुरा गर्नुहोस् र जागरूकता बढाउनुहोस् । यी सबै कुराहरूमा ध्यान दिएर एक–दुई जनाको प्रयास मात्र नभई सबै क्षेत्रबाट हरेक व्यक्तिले आफ्नो तर्फबाट योगदान दिन सक्यौं भने हामीले अवश्य पनि आत्महत्या रोकथाममा सफलता पाउनेछौं । (लेखकः बी एण्ड सी अस्पताल, झापाका एम. डी. साइक्याट्रिक, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल न्युरोसाइक्याट्री हुन् ।)