इलाम/किवी फलको अन्तर्राष्ट्रिय बजारीकरणमा जोड दिनका लागि गुणस्तरीय किवीको जात हेवाट उत्पादन गरिएको छ । इलाम जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिकाल वडानम्बर ३ माईपातलस्थित करिब दुई हजार दुई सय ५० मिटर उचाइमा दुई सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उचाइमा समेत फस्टाउने हेवाट किवी उत्पादनमा जोड दिएको माईपोखरी हर्बल अर्गाानिक एग्रिकल्चर फार्मका सञ्चालक देउकुमार राईले बताए । फलहरूकै राजा फलको रूपमा चिनिएको किवी फललाई गुणस्तरीय उतपादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यले २०६८ सालमा फार्म खोली २०७० सालमा व्यवसायिक दर्ता गरेर किवी फललगायत विभिन्न जडीबुटीको उत्पादन गर्दै आएका छन् । अन्य जातको किवी फल चिसो ठाउँमा नफस्टाउने र लामो समयसम्म नरहने भएकाले अन्य जातको किवी मासेर हेवाट जातको किवी फल खेती गर्न थालेको उनको भनाइ छ । हेवाट किवीको बिरुवा ग्राफ्टिङ गरी बिरुवा उत्पादनमा समेत जोड दिएको राईले बताए । बजारीकरण राम्रो भएको र मूल्य समेत वृद्धि हुने यस जातको किवीको अन्तर्राष्ट्रिय माग बढ्न थालेको छ । नेपालकै पहिलो हेवाट किवी फार्म भएकाले समय बढी लागे तापनि यसबाट नाफा हुने उनको भनाइ छ । खेर गएको जमिनमा समेत किवी फस्टाउने हुनाले यसबाट राम्रो आम्दानी हुने उनी बताउँछन्  । हेवाट जातको किवीसँगै सतुवा, लौठसल्ला जस्ता जडीबुटीसमेत उत्पादन गर्दै आएका राईको फार्ममा ४० हजार बढी सतुवाको बिरुवा रहेको र एक लाख बढी लौठसल्ला रहेको छ । ग्यास्ट्रिक र शक्तिबद्र्धक औषधिको रूपमा प्रयोग गरिने सतुवा र क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अल्सर जस्ता रोगहरूको निदान हुने लौठसल्लाको उत्पादन र बिरुवा बेचविखन गर्दै आएको बताएका छन् ।

जडीबुटी र किवी फलको उत्पादन मात्र नभई फार्ममा कृषि बालीविज्ञान अध्ययनरत विद्यार्थीहरूसमेत फार्ममा आउने गर्दछन् । जडीबुटी उत्पादन, ग्राफ्टिङ गर्ने जस्ता कार्यमा दक्ष भई फर्किने गरेका छन् । फार्ममा रहेको होमस्टेमा बस्दै तीन महिना, छ महिना बस्ने गरेको र यस समयमा तालिम, फिल्ड वर्कले उनीहरूले गरेको कार्यमा दक्ष भएर फर्किने गरेका छन् । नेपालका झापा, मोरङ, इलाम लगायतका जिल्लाहरूबाट विद्यार्थीहरू आउने गरेको माईपोखरी हर्बल एग्रिकल्चर फार्म कृषि अध्ययनरत विद्यार्थीहरूका लागि समेत सीप सिक्ने माध्यम बनेको छ । स्थानीय उत्पादन चिया फ्याक्ट्री, चिज फ्याक्ट्रीको समेत अध्ययन अनुसन्धान गर्ने र बिदाको समयमा पर्यटकीय स्थलको अवलोकन गर्ने हुनाले स्थानीय स्तरमा उत्पादन सामग्रीको समेत प्रयोगमा वृद्धि हुनेछ । वन तथा वनस्पति कार्यालयको कार्यक्रमबाट सतुवा, लौठसल्लाका बिरुवा लगाउन सहयोग र आफ्नै तीन करोडभन्दा बढी लगानी भइसकेको यस फार्मबाट अबको केही वर्षमा लगानी उठ्ने माईपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्मका सञ्चालक देउकुमार राईले बताए । यति मात्र नभई यहाँ युरोप, एसिया, अमेरिकालगायतका देशहरूबाट पर्यटकहरू आएर अनुभव साटासाट गर्ने थलो बनेकाले यसबाट समेत अन्तर्राष्ट्रिय बजारीकरणमा समेत टेवा पु¥याउनेछ । एसिया युरोपलगायतका देशबाट समेत जडीबुटीको अध्ययनले फार्मको मात्र नभई समग्र गाउँपालिकाकै विकास हुने उनको भनाइ छ । सन्दकपुर गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थलहरू माईपोखरी, टोड्के झरना, सन्दकपुर, छिन्टापू समेत यस क्षेत्रबाट नजिक पर्ने हुनाले पर्यटकीय सम्भावना अझ मजबुत हुनेछ ।

भर्खरै यस क्षेत्रमा पाइने सिल्टिम्बुरसमेत तेस्रो मुलुक निकासी हुन थालेको छ । यसबाट समेत स्थानीयबासीलाई राम्रो आयआर्जन हुने र समग्र क्षेत्रकै विकास हुने देखिन्छ ।